+
+
पुरानो घाउ, ताजा पीडा :

न्याय महसुस नहुन्जेल हामी बोलिरहनुपर्छ

गीता पोखरेल गीता पोखरेल
२०७९ जेठ ९ गते १३:०२

मैले केही अगाडि यही अनलाइनखबरमार्फत पहिलो लेखमा आफ्ना भोगाइ खुलस्त पारें । अदालत पुगेको, न्याय मागेको कुराहरू पोखें तर आज म न्यायालय पुगेर पनि न्याय नपाएको, अधकल्चो न्याय मिलेको वा भनौं मुद्दाको प्रकृति नै बदलिएको आधा, अपुरो न्याय र मैले बच्चा नजन्माएको भए जान नमिल्ने न्यायालयको बारेमा लेख्न जाँदैछु ।

बलात्कार र यौनजन्य हिंसा विरुद्ध कलम चलाउँदिन भन्छु छाती पिल्सिएर, शब्द हुँडल्लिएर र मन बयलिएर आउँछ । सोच्दासोच्दै कलम चलाउँछु । म बोल्ने ठाउँ अब अन्तिम यति मात्र देख्छु-मिडिया ।

आत्माभित्रबाट झिनो आशले बोल्न लगाउँछ । म ती बोली नभएका, स्वर गुमेका, होश हराएका, सन्तुलन गुमाएका, हिम्मत हारेका, हदम्यादको कानुनले मुद्दा दर्ता गर्न नमिलेका पीडितहरूको प्रतिनिधि भएर बोल्नुपर्छ । म नबोले को बोल्छ ? अनि आफ्ना विगत केलाउन, नियाल्न थाल्छु ।

मेरै विगत मलाई नै कठै भन्दै गिज्याउँदैछ । भन्दैछ खुब गरें भनिस् होला केही गरेकी छैनस् । केही बदलिएको छैन । मात्र तेरो मस्तिष्कमा छारो हालिएको हो, नेपाली कानुनको छारो । साँचो न्याय तैंले पाएकै छैनस् ।

मलाई जसरी, बलात्कार भयो वा यौनजन्य अपराध भयो भनेर आवाज उठाउनेलाई कानुनको छारो नहालियोस्, हदम्याद नगनियोस् । कति हिम्मत चाहिन्छ यही समाजमा बसेर म बलात्कृत भएँ भन्न अनि ममाथि यौनजन्य हिंसा भयो भन्न ! त्यसमाथि कानुनको हदम्यादको काउन्ट–डाउनले झन् कमजोर बनाउँछ ।

केही वर्ष अगाडि एक जना वकिल तथा महिलाको उजुरी हेर्ने महिला इन्स्पेक्टरसँग भेट भएको थियो । उहाँ भन्नुहुन्थ्यो– मलाई यौन हिंसाको बारेमा तालिम दिने सरले भन्नुभएको समयमै उजुरी गरेन भने त्यो बार्गेनिङ हो ।

समय पर्खेर माग्ने न्याय अवसरवाद हो । साँच्चै हिंसामा परेकी महिला झ्यालढोका फोडेर उजुरी गर्न आउनुपर्छ । उहाँले यति भनिराख्दा मलाई कता–कता भित्र यो कुरा ठिक होइन जस्तो लाग्यो तर मैले कुनै प्रतिकार गरिनँ ।

म घर आएर सोच्न बाध्य भएँ । पुरुषले पढाउने कानुन यस्तै हो । के म बार्गेनिङ गर्न चुप लागेकी थिए त ? के म अवसरवादी थिएँ त ? म पनि त ९ वर्षपछि मुद्दा हाल्ने महिला हुँ । अनि मेरो अन्तरमन बोल्छ; होइन म बोल्न नसक्नुको कारण मेरा अनेकौं समस्या थिए । आर्थिक, सामाजिक, पारिवारिक स्थिति र अन्य धेरै कुरा थिए । कुनै अवस्थामा उचित व्याख्या नभएको कानुन पनि बोल्न नसक्नुको कारण हुन सक्छ ।

तुरुन्त प्रतिकार गर्नु राम्रो होला तर ढिलो प्रतिकार गर्नु गलत चाहिं होइन । त्यसैले हामीले न्याय पाउने, उजुरी गर्ने ठाउँमा नै ढिलो उजुरी गर्नु गलत हो भनेर पढाउन बन्द गरियोस् ।

बलात्कारी र अपराधीले त्यति सजिलै उन्मुक्ति पाउनु भनेको पीडितले न्याय नपाउनु त हो नै, भविष्यमा अरूले पनि हाम्रै नियति भोग्नु हो ।

अरूका घटना हेरेर पीडा बुझ्नुपर्छ सबै घटना आफ्नैमा नघटुन्जेल नबुझ्ने मनस्थिति भएकाहरूले अलि फराकिलो मानसिकताले सोच्नुपर्छ । समाजले पनि बलात्कार र यौनजन्य हिंसालाई जे हो त्यही नै बुझ्नुपर्छ, चमत्कार होइन । न्याय मिलेको महसुस नहुन्जेल हिंसाको पीडा ताजै रहन्छ ।

म प्रेमको भ्रममा परेर गर्भवती भएकी थिएँ । मैले प्रेम गरेको व्यक्ति जो काठमाडौंको एउटा नाम चलेको हस्पिटलमा कार्यरत डाक्टर छ, त्यसले खासमा मेरो शरीर मात्र उपभोग गर्न मलाई प्रेमको नाटक मात्र गरेको रहेछ । वास्तवमा झुक्याएर शरीरसँग खेल्नु पनि त बलात्कार हो । मैले असल घरबारको सपना देखेकी थिएँ । मैले प्रेम गरेकी थिएँ तर उसले मेरो भावना र शरीरसँग खेलेको थियो ।

यस्तो घृणित कार्य गर्दा त्यो बलात्कारीलाई कति आनन्द आयो थाहा छैन तर केही समयको लागि मेरो सामाजिक जीवन चाहिं त्यो समाजमा तहसनहस भयो । म बलात्कार भएको प्रमाण हो मेरी छोरी अनि अर्को प्रमाण हो बलात्कारीकै प्रतिउत्तर ।

जहाँ उसले हामीलाई चिन्दैन । अर्को प्रमाण डी.एन.ए रिपोर्ट हो । धेरै छन् म बलात्कार भएका तर राज्यको कानुनले अनदेखा गरेका प्रमाणहरू । न्याय माग्न जानेको हालत त यस्तो छ । अदालत जान नपाउँदा झन् पीडितलाई कति सकस हुन्छ होला !

तर अर्काेतिर मेरो बच्चा नजन्मिएको हुन्थ्यो त मैले उजुरी गर्न नै पाउने थिइनँ किनकि २०५९ सालमा मैले प्रेम गरेको प्रेमीले मेरो शरीर शोषण गरेर छोड्यो भन्दा उजुरी लाग्ने कानुन नै थिएन । कानुनले यसलाई बलात्कार भनेर व्याख्या नै गरेको थिएन । पछि व्याख्या भएर आएको कानुनमा पनि हदम्यादको तगारो छ । अनि यस्तो केसमा म यौन हिंसा पीडित हुँ भन्न नपाउने ?

आखिर बच्चा नजन्मिएको भए पनि त कुरा त त्यही हो । सबै यौन हिंसा पीडितले बच्चा कहाँ पाउँछन् ? पीडामा राजनीति नहोस् । मेरो केसमा पनि राजनीतिक व्यक्तित्व नै बलात्कारीको साक्षी भएर उभिएका थिए । त्यस्ता साक्षी तहलाउने कानुन खै ।

नैतिकता र इमान हराएका त्यस्ताको उपचार समाजले गर्नुपर्छ । बहिष्कार गर्नु नै उत्तम उपचार रहेछ । समय आएको खण्डमा अपराधीको पक्ष लिने एक–एकको नकाब उतार्नुछ त्यही समाजमा ।

बलात्कारी र अपराधीेले त्यति सजिलै उन्मुक्ति पाउनु भनेको पीडितले न्याय नपाउनु त हो नै, भविष्यमा अरूले पनि हाम्रै नियति भोग्नु हो । ती प्रमाण नै हराएका साथीहरूले यही राज्यमा कसरी विद्रोह गर्नुहोला खै ! त्यो कानुन नै नबनेको बेला हिंसा भएर पटक–पटक आवाज उठाउने म्याडमहरूले पनि न्याय पाउनुपर्छ ।

हामी न्याय पाउन चुप बस्नुहुन्न किनकि यौन हिंसाको पीडा पुरानो हुँदैन, यो मेरो भोगाइ हो । हामीलाई नयाँ कानुन थपेर हुन्छ कि के गरेर हुन्छ न्याय दिनुपर्छ नत्र हामी बोलिरहन्छौं, चिच्याइरहन्छौं । म बलात्कारीकी भूतपूर्व श्रीमती भएर बाँच्न चाहन्न किनकि त्यो सत्य होइन ।

जे सत्य हो त्यसमा आधारित भएर न्याय दिने कानुन चाहियो । बिहे नगर्दै म गर्भवती भएर एबोर्सन नगर्नु मेरो प्रेम माथि धोका भएको पहिलो विद्रोह हो । दोस्रो विद्रोह अदालतको ढोका ढक्ढक्याउनु हो भने अहिलेको विद्रोह बलात्कारीकी श्रीमती बनाउने कानुनको खिलाफको विद्रोह हो जसमा मलाई कानुनले अन्याय गरेको छ । त्यसैले म बोलिरहन्छु । हामी बोलिरहन्छौं र न्याय महसुस नहुन्जेल हामी बोलिरहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?