+
+
पोखराका मेयर धनराज आचार्य :

‘अँध्यारो कोठामा कुनै निर्णय गर्दैनौं, वाह ! पोखरा भन्ने बनाउँछौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १०:३९

११ जेठ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादपछि राजनीतिको मूल बाटोमा फर्किएका पोखराका धनराज आचार्य नेकपा एमाले फर्किएनन् । नेकपा विवादमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि धनराज पनि सक्रिय राजनीतिमा त फर्किए तर विद्रोही भएर ।

एमाले नेतृत्वसँग असन्तुष्ट माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउँदा आचार्य कास्की संयोजक भए । माधव नेपालले एकीकृत समाजवादी बनाउँदा आचार्य पनि कास्की अध्यक्ष बने ।

एमाले निकट अनेरास्ववियुबाट पृथ्वीनारायण क्याम्पसमा २०५१ सालमा स्ववियु सभापति बनेका आचार्यले दोस्रो पटक एमालेबाट विद्रोह गरे । एमालेबाट फुटेको तत्कालीन मालेमा संगठित भएका आचार्यले दोस्रो पटक एमालेलाई छाडेर एकीकृत समाजवादी रोजे ।

त्यही विद्रोहबाट आचार्य यसपालि पोखरा महानगरको मेयरको कुर्सीमा पुगेका छन्। एमालेमा रहँदा जसलाई मेयर र सांसदसमेत बनाउन सहयोग गरेका थिए, उनैलाई हराउँदै आचार्य पोखराको मेयर बनेका हुन् । एमालेका कृष्ण थापालाई २०५४ सालमा पोखराको मेयर र २०७४ सालमा सांसद बनाउन आचार्यले सहयोग गरेका थिए । यसपटक उनै थापालाई हराउँदै आफू मेयर मात्र बनेनन्, २५ वर्षपछि पोखरामा एमालेको विरासत समेत ढलाइदिए ।

एकीकृत समाजवादीको संगठन निर्माणमा जुट्दादेखि नै उनले संकेत पाइसकेका थिए कि स्थानीय तहको चुनावमा गठबन्धन हुन्छ र उनले यो पनि आश्वासन पाइसकेका थिए, महानगरमा गठबन्धन हुँदा समाजवादीले पोखरा नै रोज्छ । नभन्दै स्थानीय चुनावमा सत्तारुढ दलहरुले गठबन्धन मात्र गरेनन्, पोखरा महानगर एकीकृत समाजवादीले नै पायो, धनराज मेयरको उम्मेदवार बने । गठबन्धनमा अवद्ध कांग्रेसभित्र देखिएको विरोधलाई चिर्दै उनले चुनाव समेत जितेर देखाएका छन् ।

गठबन्धनका उम्मेदवार आचार्य ५८ हजार ८९३ मत ल्याएर चुनाव जित्दा एमालेबाट उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत मात्र ल्याए । प्रस्तुत छ, पोखराका नवनिर्वाचित मेयर आचार्यसँग स्थानीय चुनाव, मत परिणाम र पोखरा महानगरको भावी योजनाका विषयमा अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानी :

गठबन्धनको सहारामा एकीकृत समाजवादीबाट चुनाव पनि जित्नुभयो, सुरुमा गरेको हिसाबकिताब र प्राप्त चुनावी परिणाम कति मिल्यो, कति मिलेन ?

मैले सुरुमा गरेको हिसाब किताब र परिणाम धेरै हदसम्म मिल्यो । गठबन्धनबाट अगाडि बढ्दा यति मत आउला भन्ने थियो । नोमिनेसनकै दिनमा १५ देखि १८ हजार समाजवादीको मत आउँछ भनेको थिएँ । मैले प्राप्त गरेको मत, उपमेयर र वडाध्यक्षको मत हिसाब गरेर हेर्दा ठूलो मत बदर भयो । यसमा निर्वाचन आयोगको पनि हामीलाई झुक्याउने काम भयो । सदर र बदर मत दुबै हेर्दा २४/२५ हजार मतान्तरले हामी विजयी भएको देखिन्छ, मेरो हकमा ।

बदर मत पनि मेरै हो भन्ने तपाईंको दाबी हो ?

सदर मत त सबैले देख्नुभएको छ, बदर भएको मत पनि हाम्रै गठबन्धनकै हो । हाम्रो १८/१९ हजार मत बदर भएको छ । नत्र २५ हजारको मत अन्तरले जित्ने रहेछौं ।

त्यसो भए तपाईंले चुनाव जित्दा कांग्रेसबाट उपमेयरको उम्मेदवारले किन हार्नुभयो त ?

हामीले प्रजातन्त्रलाई पार्टी भित्र र बाहिर दुबैतिर उपयोग गर्ने गरेका छौं । कतिपय समुदायको भोट पनि एकै ठाउँमा जाने हुँदो रहेछ । कतिपय भेगीय कुरा पनि रहे । गठबन्धनको उम्मेदवारलाई कुनै समुदाय र भेगबाट भोट नआएको जस्तो देखियो । त्यसैले एकैप्रकारको मत आएन, उपमेयरको उम्मेदवारले जित्न सक्नुभएन, त्यसमा हामी दुःखी छौं ।

सुरुदेखि नै गठबन्धन हुन्छ र मैले नै मेयरको टिकट पाएर जित्छु भन्ने लागेको थियो ?

हामीले पार्टी बनाउँदै गर्दा स्थानीय चुनाव आउँदैछ, गठबन्धन भए पनि नभए पनि चुनावमा त जानैपर्छ भन्ने थियो । गठबन्धन गरेर जाने विषयमा करिब ६ महिना अगाडिदेखि नै शीर्ष नेतृत्वले भनेको थियो । पोखरा समाजवादीलाई नै पर्छ भनेर दशैंताका नै शीर्ष नेतृत्वले भनेको थियो ।

शीर्ष नेतृत्वले तपाईंकै लागि भनेर गठबन्धनमा पनि छलफल गरेको थियो, तपाईंलाई दिनुपर्छ भन्ने कसरी पार्नुभयो ?

मैले समाजवादीलाई पोखरा दिनुपर्छ र त्यो मैले नै पाउनुपर्छ भनेर नेतृत्वलाई भनेको होइन । पार्टी अध्यक्ष माधवकुमार नेपालले अब चुनावको तयारीमा लाग्नुपर्छ र यो सरकार गठबन्धनकै जगमा बनेकाले महानगरमा पनि मिलेरै जान्छौं, तयारी गर्नुस् भन्नुभएको थियो ।

जब पोखरा समाजवादीलाई पर्‍यो, तब विरोधका स्वरहरु सुनिए र धेरैले पोखरा एमालेकै पोल्टामा गयो भनिरहेका थिए, त्यो डर तपाईंमा पनि त थियो होला नि ?

सुरुमा आफ्नो पार्टीले पाए हुन्थ्यो भनेर आवाजहरु सुनिनु स्वभाविक थियो । नेपाली कांग्रेसमा धेरै आकांक्षी पनि हुनुहुन्थ्यो । माओवादी केन्द्रको पनि दाबी थियो । हाम्रो पार्टी नयाँ थियो, तर जति संगठन बनाएका थियौं, चुस्त बनाएका थियौं । हाम्रो संगठनलाई सुरुमा नेकपा एमालेले पनि पत्याएन, अरु पार्टीले पनि पत्याएनन् । ५ हजार ७ सय पार्टी सदस्य छन् भन्दा धेरैले पत्याएनन् ।

अहिले हेर्नुस् त, २२ वटा वडा जितेको नेकपा एमाले कसरी खुम्चियो, कांग्रेसले कति धेरै वडा जित्यो ? के कारणले कांग्रेसले जित्यो भन्दा एमाले विभाजित भएर जित्यो । त्यो विभाजित शक्ति एकीकृत समाजवादी थियो ।

हामीमा शक्ति छ भन्ने एमालेले पनि कम आँक्यो, कांग्रेसले पनि सुरुमा पत्याएन । म चाहिँ प्रस्ट थिएँ । गठबन्धन, मेरा साथीभाइ, व्यावसायिक सम्बन्ध र एमालेसँग पनि ३७ वर्ष लामो समय बिताएकाले त्यहाँ पनि मेरा शुभचिन्तक थिए । एमालेका शुभचिन्तक, जो एकीकृत समाजवादीमा आउन सकेनन्, उनीहरुले पनि तपाईं (मेयरको उम्मेदवार भएर) आउनुभयो भने सहयोग गर्छौं भन्नु भएको थियो । त्यसको हिसाब गरेको थिएँ ।

भनेपछि एमालेबाटै मत तानेर पनि जित्छु भन्नेमा सुरुदेखि नै विश्वस्त हुनुहुन्थ्यो ?

२०४८ सालदेखिका प्रत्येक चुनाव हेरिराखेको थिएँ, चुनावमा केसम्म हुनसक्छ भन्ने जानिराखेको थिएँ । आफैं चुनाव लड्दा कहाँ कमजोरी छ, मसिनो गरी केलाएको थिएँ । एमालेबाट राम्रै मत तान्छु भनेर प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष माधवकुमार नेपाल सबैलाई भनेको थिएँ । यो चुनावमा गठबन्धनमा भएका दलहरुमा सबभन्दा बढी मत ल्याउन सक्ने मै हुँ भनेर विश्वास दिलाएको थिएँ ।

एमालेकै मत तानेर जित्ने तपाईंको रणनीति र एमालेभित्र एउटा समूह तपाईंलाई जिताउन लागि परेको छ भन्ने आरोपबीच पनि त तालमेल होला नि त्यसो भए ?

यो चाहिँ वाहियात कुरा हो । एमालेको कुनै समूह मलाई जिताउन लागेको होइन । यो त परिणाम अन्त जान लाग्यो भनेपछि गरिएको प्रायोजित कुरा हो । सार्वजनिक टेलिफोन वार्ता पनि प्रायोजित नै रहेछ । हिजो एमालेलाई भोट हाल्ने शुभचिन्तकको मत तानेको हुँ । जो भोट आएको छ, त्यो धनराज आचार्यलाई आएको भोट हो । पोखरा बनाउने सन्दर्भमा धनराज प्रतिवद्ध छ, काम गर्न सक्छ भनेर दिएको विश्वासको भोट हो । किनकी आजको चुनाव कुन ढंगले गएको छ, नेपाली मनोवृति के छ भन्ने विभिन्न कोणबाट अध्ययन गरेको थिएँ । त्यसअनुसार एजेण्डा लिएर हामी जनतामाझ गएका थियौं ।

तर, यो चुनाव आफ्नो पक्षमा पार्न तपाईंले बढी आर्थिक चलखेल गर्नुभयो, कांग्रेस, माओवादी र एमालेसमेत मिलाउन ठूलो रकम खर्च गर्नुभयो भन्ने चर्चा छ नि ?

आर्थिक हिसाबमा ठूलो खर्च वा चलखेल केही भएको छैन । मिटिङ वा छलफलमा खर्च चाहिँ भयो होला । बिहान, बेलुका बैठक बस्दा खाना खाइयो होला । सामान्य चिया, खाजा खर्चलाई ठूलो नमानौं । पैसा नै बाँड्ने चाहिँ भएनन् ।

पोखराको मेयरमा निर्वाचित भए पनि गठबन्धन नहेर्ने हो भने दलका हिसाबले तपाईं कार्यपालिकामा एक्लो हो, नगर सभामा गठबन्धनसमेत  अल्पमतमा पर्छ, कसरी काम गर्नुहुन्छ ?

काठमाडौंको मेयर बालेन शाह पनि मजस्तै हुनुहुन्छ कार्यपालिकामा एक्लो । धनगढी, धरानको मेयर पनि मजस्तै हुनुहुन्छ । उहाँ स्वतन्त्र र म दलबाट । गठबन्धन नमान्ने हो भने म पनि एक्लो हो । तर अब हामीले नेपालको राजनीतिलाई फरक ढंगले पनि बुझ्नुपर्छ । हिजोसम्म फरक–फरक पार्टीका थियौं होला अब म पोखराको साझा मान्छे हो ।

मसँग उपमेयर हुनुहुन्छ, हिजोसम्म एमालेको हुनुहुन्थ्यो अब पोखराको उपमेयर हो । ३३ जना वडाध्यक्ष हुनुहुन्छ, केही दिनपछि कार्यपालिकामा मान्छे थप्छौं, सबै पोखरा महानगरको हो । महानगरको बोर्ड र सभामा ल्याउने हरेक विषय पोखराको हो पोखरावासीको पक्षमा हो ।

पहिलो दिनदेखि नै पार्टीभन्दा माथि उठेर पोखरा बनाउन लागौं भनेर म साथीहरुलाई भन्छु । जसले मान्नुहुन्न, पोखराको राम्रो कामका लागि उहाँले असहमति जनाउनु भयो भनेर सार्वजनिक गर्छु ।

तपाईंलाई जिताउने ठूलो पार्टी कांग्रेस हो, कार्यपालिकामा पनि कांग्रेसकै बहुमत हुन्छ, सधैंभरि तपाईंले कांग्रेसकै दबाव खेप्नुपर्ने वा कांग्रेसलाई मनाइराख्नुपर्ने त भयो नि, होइन ?

म कांग्रेसलाई कन्भिन्स गर्छु नि ! विषय र एजेण्डाका हिसाबले सबै पोखरेलीसँग सहकार्य गरेर काम गर्ने हो । अहिलेसम्म काम गर्ने शैलीलाई बदल्छौं । अल्पमत, बहुमत, यो पार्टी, त्यो पार्टी भन्नेबाट माथि उठेर काम गर्दा समस्या हुन्छ जस्तो लाग्दैन ।

६ वटै महानगरपालिकाका मेयरहरुको पहिलो मिटिङ पोखरामा गर्ने मेरो योजना पनि छ । रेनु दाहाल, चिरिबाबु महर्जनजस्ता पुराना अनुभवी मेयर पनि हुनुहुन्छ । हामी छलफल पनि गर्छौं । एकअर्काको अनुभव र योजना साट्छौं, कसरी राम्रो गर्न सकिन्छ भनेर लाग्छौं ।

घोषणापत्रमा त नेपालका तालहरुसम्म एअर कनेक्सन, इलेक्ट्रिक ट्रेन, बाइपास निर्माणदेखि महानगरवासीलाई मासिक ५ हजार लिटर शुद्ध पानी उपलब्ध गराउनेसम्मका रुमानी सपना देखाउनुभएको छ, प्राथमिकताको काम चाहिँ कहाँबाट सुरु गर्नुहुन्छ ?

घोषणापत्रमै कुन समयसम्म कुन काम गर्ने भनेरै उल्लेख गरेका छौं । पदबहाली गरेसँगै जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने विषय छन्, त्यसलाई निःशुल्क बनाउने भनेका छौं । विगतको व्यवस्था पनि हेरेर सीमित समयका लागि यो व्यवस्थापन गर्छौं ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्रीय सरकारलाई सिफारिस गर्ने छौं । यो विषयमा प्रदेश सरकारले पनि निर्णय गरिसकेको छ । बिगतका पर्यटनमन्त्रीहरुले पनि भनिरहेका छन् । तर त्यो लयमा गएन, घोषणा हुन सकेन ।

म दुई दिन अघिमात्र सुटुक्क काठमाडौं गएको थिएँ । म निर्वाचित हुँदैछु भन्ने मेरो हिसाब किताब र परिणामले पनि देखाइसकेको थियो । १५ गते बजेट आउँदैछ । यदि हामीले अहिल्यै कुराकानी र पहल गरेनौं भने त एक वर्षपछि जान्छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ र ल्याण्डफिल्ड साइड नसारी भएको छैन । कम्तिमा ल्याण्डफिल्ड जस्ता विषय बजेटमा परेको छ कि छैन ? पोखराका कुन–कुन योजनालाई बजेटमा पार्ने भनेर अर्थमन्त्री, श्रममन्त्री र सहरी विकास मन्त्रीलाई भेटेर फर्किएको छु । पोखराको ल्याण्डफिल्ड साइडको लागि बजेटको व्यवस्था गर्ने उहाँहरुले आश्वस्त पार्नुभएको छ । नीति तथा कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने छ भन्ने विषयलाई पनि समेट्न आग्रह गरेको छु । यो पनि पहिलो निर्णयमै गर्छौं ।

सुन्दर सहर बनाउने विम्वका हिसाबले पनि पदभार ग्रहण गरेसँगै निर्णय गर्छौं । पोखराको ट्राफिक व्यवस्थापनको काम थालनी गर्ने प्रतिकात्मक हिसाबले पहिलो दिन निर्णय गर्छौं । एक महिनाभित्र महानगरवासीको तत्काल समस्या समाधान गर्न हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने भनेका छौं । कुन मितिमा के गर्ने भनेर सार्वजनिक घोषणापत्र अनुसारै हामीले काम गर्छौं ।

निवर्तमान मेयर मानबहादुर जिसीको सबैभन्दा ठूलो गुनासो थियो, कर्मचारीले काम गर्नै दिएनन् । स्थानीय र निजामती कर्मचारीबीच लडाइँ सबैले देखेकै छन् । त्यहाँ अधिकांश ठूला दल निकटकै कर्मचारी छन् । यसलाई कसरी हेर्नु भएको छ ?

कर्मचारी प्रशासन र पोखराका कर्मचारीका विषयमा मैले पनि धेरै कुरा सुनेको छु, त्यसैले चुनावको क्रममा मैले एक जना पनि कर्मचारीसँग भेटिनँ र भोट वा कुनै पनि सहयोग मागिनँ । उहाँहरु महानगरका काम गर्न आउनुभएको हो, काम गर्नुपर्छ । राम्रोसँग काम गर्नुभएन भने त्यसको महसुस हामी दिलाउँछौं ।

हजारौं मानिसहरु काम गर्ने अर्गनाइजेसन चलाएर आएको मान्छे हुँ । पारदर्शी हिसाबले चलेको छ र कसरी कर्मचारी चलाउने भन्ने पनि बुझेको छु । गुनासो गर्न नपर्ने गरी तहअनुसार कर्मचारीको सम्मान पनि हुने तरिकाले काम गर्छौं । भइरहेकै कर्मचारी व्यवस्थापन गरेर चलाउने हो, त्योभन्दा माथि कोही विज्ञहरु चाहिने रहेछ भने राख्छौं ।

६ वटै महानगरपालिकाका मेयरहरुको पहिलो मिटिङ पोखरामा गर्ने मेरो योजना पनि छ । रेनु दाहाल, चिरिबाबु महर्जनजस्ता पुराना अनुभवी मेयर पनि हुनुहुन्छ । हामी छलफल पनि गर्छौं । एकअर्काको अनुभव र योजना साट्छौं, कसरी राम्रो गर्न सकिन्छ भनेर लाग्छौं । उहाँहरुका पनि कर्मचारी समस्या होलान् नि । एक आपसमा हामी सहकार्य गर्न पनि सक्छौं । जानुस्, त्यहाँ कसरी काम भइरहेको छ हेरेर आउनुस् भनेर कर्मचारी पठाउन पनि सक्छौं । हामी त पोखरा बनाउन आएका हौं, कर्मचारीहरुले बिगार्न खोज्नुहुन्छ भने बिदाई पनि गर्न सक्छौं । राजनीति नै गर्ने हो भने त पार्टीमै गए भइहाल्छ नि !

व्यापारिक समूहलाई प्राकृतिक तथा सांस्कृतिक सम्पदा सुम्पिने, व्यावसायीकै स्वार्थअनुसार नीति बनाउनेजस्ता काम भए भनेर पोखरामा यसअघि निकै विरोध पनि भए, व्यापारिक स्वार्थकै कारण ठूलो राजश्व पनि महानगरबाट गुमिरहेको छ, तपाईं त झन् व्यापारिक पृष्ठभूमिकै मान्छे !

मेयर भएपछि मैले पहिलो पटक यो अन्तर्वार्ता दिएको छु र यसैलाई आधार मानेर भोलिका दिनमा प्रश्न सोध्नुहोला । म विधिभन्दा बाहिर गएर एउटा पनि काम गर्ने छैन । यो मेरो निष्ठाको कुरा पनि हो । लौरो चुनाव चिह्न लिएर मेयरमा उठ्नुभएका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई पनि मैले भनेको थिएँ, त्यो लौरो लिएर महानगरको गेट बाहिर उभिनुस् र त्यो लौरो मिडियालाई पनि दिनुस्, हरेक महिना हामीलाई खबरदारी गर्नुस् ।

गोप्य, अदृश्य खालका कुनै पनि सम्झौता गर्दैनौं । सार्वजनिक सरोकारका विषयलाई अँध्यारो कोठामा बसेर हस्ताक्षर गर्ने छैनौं । यो पाँच वर्ष हामी कसरी जान्छौं भनेर एक महिनाभित्रै उपमेयर, वडाध्यक्षहरुसहित क्लोज क्याम्प पनि गर्छौं । अबको पाँच वर्ष पोखरा महानगर कसरी चल्छ भन्ने स्पष्ट भिजनका साथ अगाडि बढ्छौं ।

हो, म निजी क्षेत्रबाटै काम गरेर आएको हुँ । यहाँ व्यापारी भन्नेबित्तिकै कालाबजारी हुन्, बदमास हुन् भन्नेमात्रै सोंचाइ छ । त्यस्तो होइन । यो समाज बनाउन निजी क्षेत्रको ठूलो योगदान छ । बुद्ध, यती लगायतका एयरलाइन्स नभएको भए नेपाल एयरलाइन्सले मात्र धान्न सक्थ्यो ? यतिका धेरै हस्पिटल र नर्सिङ होम नभएको भए गण्डकी हस्पिटलले मात्र धान्न सक्थ्यो ? यतिका धेरै निजी स्कुल तथा क्याम्पस नभएको भए पोखराका सरकारीले मात्र धान्न सक्थ्यो ? त्यसैले व्यापारी भन्नेबित्तिकै बायस हुन जरुरी छैन । हामी निजी क्षेत्रका समस्या बुझेर पोखरा नबिग्रने गरी काम गर्छौं, निजी क्षेत्रबाट पनि त्यस्तै सहयोगको अपेक्षा राख्छौं ।

फेवाताल लगायतका तालहरुका मापदण्डका विषय पनि छन् नि !

फेवातालका सन्दर्भमा सयौं प्रश्नहरु अनुत्तरित छन् । यी सबै प्रश्नहरुको उत्तर दुई वर्षभित्र दिइसक्छौं । फेरि प्रश्न सोध्न नपर्ने गरी टुंग्याउँछौं ।

अबको पाँच वर्षपछि तपाईंले परिकल्पना गरेको पोखरा कस्तो हो त ?

मानिसको जीवनस्तर उकास्ने र पोखरेलीको भान्छा कसरी सस्तो बनाउने भन्ने हाम्रो पहिलो प्राथमिकता हुन्छ । सहज ढंगले बाँच्नका लागि चाहिने आवश्यकता पूरा गर्नतिर लाग्ने छौं ।

लेखेर राख्नुस्, साँच्चिकै वाह ! पोखरा हुने छ । हिजोको कथा दोहोरिन हामी दिन्नौं ।

पाँच वर्षमा पुग्दा आयातलाई प्रतिस्थापन गर्ने भनेका छौं । अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौं । पाँच वर्षपछि पोखरा सुन्दर भएको देख्छौं, हरियाली देख्छौं । सफा देख्छौं । त्यो सँगसँगै हाम्रा सम्पदाहरु व्यवस्थित भएका हुनेछन् । पोखरा महानगरपालिका सिस्टममा चलेको हुनेछ, कुनै पनि काम गर्न जाँदा रेकर्ड तुरुन्त पाइने हुने छ । बिगतमा भएका कमी कमजोरी हटाउँछौं ।

अहिलेको महानगरको कार्यालयले नधान्ने भएकाले पाँच वर्षभित्रै महानगरको अर्को नयाँ भवन हुने छ । पोखरा महानगरका जुनसुकै ठाउँमा मानिसले महानगरको सुविधाको महसुस गर्ने छन् । संघ, प्रदेश र पोखरा महानगरले सहकार्यमा काम गरिरहेको हुने छ ।

पोखराको बसपार्कलाई सिटी बसपार्क बनाउँछौं । त्यहाँको सुकुम्वासी समस्या समाधान गर्छौं । सबै वडाहरुमा बेलुका ६ बजे पनि गाडी चल्ने बनाउँछौं । तनहुँ, बागलुङ र स्याङ्जातिरबाट प्रवेश गरेदेखि नै वाउ पोखरा ! भन्ने बनाउँछौं । विशेष ढंगले सौन्दर्यीकरण गर्छौं ।

लामे आहालमा मुख्य बसपार्क बनाउने यसअघि नै निर्णय भइसकेको छ । त्यसको नजिकै अटो भिलेज पनि बनाउँछौं । पोखरामा जति पनि वर्कसपहरु छन्, व्यवस्थित रुपमा राख्छौं । रिङरोडको विषय पनि टुंगो लागिसकेको हुन्छ । लेखेर राख्नुस्, साँच्चिकै वाह ! पोखरा हुने छ । हिजोको कथा दोहोरिन हामी दिन्नौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?