+
+

संगीतकार रञ्जित गजमेरको आत्मसंस्मरण प्रकाशन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:४३

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मसंस्मरण प्रकाशन हुने भएको छ । प्रकाशन संस्था वी रीडले गजमेरको सांगीतिक करिअरका भोगाइ र संस्मरणलाई समेटेर पुस्तक ल्याउन लागेको हो ।

केही दिनदेखि छोरी प्रीतिसँग काठमाडौंमा रहेका गजमेर मंगलबार पुस्तक र जीवनका किस्साबारे सञ्चारकर्मीलाई सुनाउँदै थिए । वी रीडले मिलाएको यो जमघटमा उनले संगीतमा भविष्य बनाउन लागेका तन्नेरीलाई ‘अझै धेरै सिक्न’ र ‘इगो नपाल्न’ सुझाए ।

‘नेपाली संगीतको पछिल्लो पुस्ताले गाएका गीत पनि सुनिरहेको छु । नयाँपुस्ताले अझै धेरै सिक्नुछ । सानो प्रशंसामा रमाउने र इगो पाल्नु उचित होइन,’ उनले सुनाए, ‘नयाँपुस्ताले अझै सिक्न जरुरी देखिरहेको छु ।’

शेखर खरेलले लेखिरहेको गजमेरको बायोग्राफीलाई दुई तीन महिनाभित्र प्रकाशन गर्ने तयारी छ । लेखक खरेलले पुस्तकमा गजमेरको निजत्वलाई समेटिने र दार्जिलिङदेखि सुरु भएको बाल्यकाल हुँदै बलिउड र नेपाली संगीतसम्मको यात्रालाई समेटिने बताए ।

प्रकाशन संस्थाका प्रमुख राजीवधर जोशीले सांगीतिक व्यक्तित्वका कृति नआएको र स्वर्णयुगका पात्रलाई पुस्तकमार्फत लिपिबद्ध गर्ने प्रयास स्वरुप पुस्तक ल्याइने लागिएको बताए । विदेशस्थित नेपालीभाषीलाई पनि पढ्न सजिलो हुने गरी पुस्तक प्रकाशन गरिने उनले जानकारी दिए । विदेशस्थित नेपालीलाई इ–बुक फम्र्याटमार्फत अध्ययनको सुविधा मिलाउने वी रीडको तयारी छ ।

सन् १९६० को दशकमा दार्जिलिङबाट सुरु भएर काठमाडौं हुँदै मुम्बईसम्म पुगेको गजमेरको सांगीतिक यात्रालाई पुस्तकमा उल्लेख गरिनेछ । अम्बर गुरुङ, गोपाल योञ्जन, नारायण गोपाल, शरण प्रधान, जितेन्द्र बर्देवा, तारादेवी, अरुणा लामाको समकालीन कालखण्ड पनि पुस्तकमा उल्लेख हुनेछ ।

प्रकाशोन्मुख पुस्तकका लेखक एवं वृत्तचित्र निर्माता खरेलले लामो समयको अनुसन्धानपछि गजमेरको निजत्वलाई पुस्तकमा उतार्न लागिएको बताए ।

उक्त जमघटमा संगीतकार गजमेरले चर्चित गीतहरु अम्बर गुरुङको ‘नौलाख तारा’, महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको ‘कुन मन्दिरमा जान्छौ यात्री’, आरडी बर्मनद्वारा संगीतबद्ध ‘कान्छी रे कान्छी रे’, नारायण गोपालको ‘अल्झेछ क्यारे पछ्यौरी’ जस्ता गीत निर्माणको अनुभव सुनाए ।

नेपाली मौलिक बाजा मादललाई बलिउडसहित संसारभर चिनाउन गजमेरको योगदान छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?