+
+

सरकारले मनायो परराष्ट्र सेवा दिवस, अग्रज कर्मचारी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते २१:५४

१० जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले १० जेठलाई परराष्ट्र सेवा दिवसका रूपमा मनाएको छ । नेपाल राजपत्रमा सूचना प्रकाशित भएर तत्कालीन नेपाल वैदेशिक सेवा गठन तथा सञ्चालन नियमावली जारी भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा परराष्ट्र मन्त्रालयले अबदेखि प्रत्येक वर्ष १० जेठमा नेपाल परराष्ट्र सेवा दिवस मनाउने भएको हो ।

परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय भवनमा सम्पन्न कार्यक्रममा २०१८ र सो भन्दा अगाडि परराष्ट्र सेवामा रहेका ११ जना अग्रज कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले विश्व परिवेश जटिल अवस्थामा पुगेको समयमा पहिलो परराष्ट्र सेवा दिवस मनाइरहेको भन्दै अब थप जिम्मेवार हुने संकल्प गर्नुपर्ने बताए ।

‘विश्व परिवेशलाई आत्मसात गरेर राष्ट्रहितलाई ध्यानमा राख्दै हाम्रा संगठन नीति नियमहरू, बलियो र संगठित तवरले राष्ट्रका हितमा हुने गरी भोलिका दिनमा कसरी सशक्त ढ्रगले काम गर्नेछौँ भन्ने एउटा संकल्प गर्ने दिन हो,’ मन्त्री खड्काले भने । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले सशक्त भूमिका खेल्नुपर्ने अवस्था आएको पनि धारणा राखे ।

एसिया महादेश मात्रै नभएर विश्व परिवेश एकदमै द्रुत गतिमा परिवर्तन भइरहेको हुँदा नेपालले त्यस चुनौतीलाई सामना गर्न सक्षम हुने गरी परराष्ट्र नीति बनाएर कार्यन्वयन गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री खड्काले परराष्ट्र सेवा ऐन बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

परराष्ट्र सचिव भरतराज पौड्यालले अग्रजहरूको सम्मान र सेवा गरिरहेका कर्मचारीलाई प्रेरण मिलोस् भन्ने उद्देश्यले परराष्ट्र सेवा दिवस मनाउन सुरु गरिएको बताए ।

परराष्ट्र सेवा दिवसमा मन्त्रालयले २०१८ र त्यसभन्दा अगाडि सेवामा रहेका ११ जना अग्रज कर्मचारीलाई सम्मान गरेको छ । सम्मानितहरुलाई परराष्ट्र मन्त्री खड्काले दोसल्ला ओढाएका थिए ।

यी हुन् सम्मानित अग्रज कर्मचारी

हरिप्रसाद पोखरेल

पोखरेलले २००६ सालबाट मुन्सिखानाबाट सेवामा प्रवेश गरेका थिए । उनी २०१७ सालमा ट्याक्स इन्सपेक्टरको प्रतियोगितात्मक परीक्षामा उतीर्ण भएर लामो समयसम्म परराष्ट्र सेवामा रहेका थिए । सेवाका क्रममा उनी विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी, श्रम विभागको महानिर्देशक समेत भएका थिए ।

गोविन्द ओझा

२०१२ देखि ०१४ सालसम्म परराष्ट्र सेवामा रहेर काम गरेका थिए । त्यसपछि उनी प्रशासन सेवामा प्रवेश गरेर विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, गृह सचिव तथा लोकसेवा आयोगको अध्यक्ष जस्ता पदमा रहेर काम गरेका थिए ।

नारायणप्रसाद राजभण्डारी

२०१३ देखि २०१८ सालसम्म परराष्ट्र मन्त्रालयमा रहेर काम गरेका थिए । प्रमुख जिल्ला अधिकारी, पुनर्बास निर्माणको महानिर्देशक, शिक्षा मन्त्रालयको अतिरिक्त सचिव भएर सेवा गरेका उनी निर्वाचन आयोगको आयुक्त समेत भएका थिए । उनले नेपाली साहित्यमा चित्तरञ्जन नेपालीका नाममा कलम चलाउँथे । साथै २०१३ सालमा उनले पहिलो मदन पुरस्कारसमेत प्राप्त गरेका थिए ।

नरसिंहमान प्रधान

मुन्सि परिवारका सदस्य प्रधानले २०१८ सालभन्दा अगाडि नेपालको परराष्ट्र मन्त्रालयमा रहेर काम गरेका थिए । उनी रुसी भाषाका ज्ञाताका रूपमा समेत परिचित छन् । उनी पनि नेपाल सरकारका विभिन्न उच्च पदहरूमा रहेका व्यक्ति हुन् ।

नारायणप्रसाद अर्याल

अर्याल परराष्ट्र सेवामा रहँदा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग न्युयोर्क, नेपाली राजदूतावास नयाँ दिल्ली र लण्डनमा रहेर काम गरेका थिए । पर्यटन विभागको पहिलो महानिर्देशक, निर्माण तथा यातायात मन्त्रालयका सचिब भएका उनी जापानका लागि नेपाली राजदूतसमेत भएका थिए । उनी परराष्ट्र मन्त्रालयको सेवामा प्रवेश गर्नुअघि प्राध्यापन पेशामा थिए ।

विश्व प्रधान

प्रधान इजिप्ट, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत र परराष्ट्र सचिवसमेत भएका थिए । त्यसअघि उनले नेपाली राजदूतावास नयाँ दिल्ली र वासिङटन डिसिमा बसेर काम गरेका थिए । उनले नेपालको परराष्ट्र सम्बन्धनसँग सम्बन्धित विभिन्न पुस्तक समेत लेखेका छन् ।

यादवकान्त सिलवाल

सिलवाल रुसी महासंघका लागि नेपाली राजदूत तथा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का महासचिव भएका थिए । उनी परराष्ट्र सचिबसमेत भएका व्यक्ति हुन् । उनी लामो समयसम्म लुम्बिनी विकास कोषका सदस्य सचिव समेत भएका थिए ।

बिन्देश्वरी मल्ल शाह

शाह नियोग र राजदूत पदमा आसिन पहिलो नेपाली महिलाका रूपमा परिचित छन् । उनले परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिव भएर काम गरेकी थिइन् । उनी बंगलादेशका लागि कार्यवहाक राजदूत तथा भारतका लागि नेपाली राजदूतसमेत भएकी थिइन् । कार्यकालको सुरुवातमा नै उनी वासिङ्टन डिसीमा नेपालको कार्यवाहक राजदूतका रूपमा रहेकी थिइन् । नेपालमा महिला आयोगको सदस्य सचिवका रूपमा समेत भएर उनले काम गरेकी थिइन् ।

गोवर्द्धन बिक्रम शाह

शाहले परराष्ट्र मन्त्रालयमा रहेर काम गर्नुका साथै नयाँ दिल्ली र मस्कोस्थित नेपाली राजदूतावासमा नेपाली महावाणिज्य दूतावास तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगमा प्रमुखका रूपमा काम गरेका थिए ।

शिवराम शर्मा र गणेशमान श्रेष्ठ

२०१५ सालमा एकै दिन परराष्ट्र मन्त्रालयको सेवामा प्रवेश गरेका थिए । आफ्नो सेवा अवधिमा विभिन्न राजदूतावासमा रहेर काम गरेका उनीहरू २०४९ सालमा एकै दिन सेवा निवृत्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?