+
+

पोखराका मेयर र उपमेयरले फूल रोपेर सम्हाले पदभार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १६:५५
धनराज आचार्य ।

१२ जेठ, पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका छन् ।

पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् ।

पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ लाग्यो । पोखरा वडा नम्बर ७ मा रहेको उक्त पार्कमा नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले माल्यार्पण गरे ।

त्यहाँबाट निस्किएर जनप्रतिनिधिले जिरोदेखि हल्लनचोकसम्मको डिभाइडरमा फूल रोपेका थिए । डिभाइडरमा १ सय ६७ (जनप्रतिनिधि संख्या) वटा फूल रोपिएको छ । ‘पोखरा विश्वकै सुन्दर सहर हो । फूल भनेको सुन्दरताको प्रतीक हो । म पोखरालाई पोखरालाई फुलैफूलको सहर बनाउँछु,’ डिभाइडरमा फूल रोपेपछि मेयर आचार्यले भने, ‘पोखरालाई ग्रिनरी सहर बनाउने हाम्रो लक्ष्य छ ।’

पहिलो दिन ३ निर्णय

मेयर आचार्यले पहिलो दिन ३ निर्णय गर्दै पदभार सम्हालेका छन् । उनले न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यले संघ सरकारलाई प्रस्ताव गर्ने बताएका छन् । सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाउने आचार्यले योजना सुनाएका छन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न यसअघिका मेयर मानबहादुर जिसीले पनि प्रयास गरेका थिए । यस विषयमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गरिसकेको छ । तर, संघ सरकारबाट निर्णय भने हुन सकेको छैन ।

मेयर आचार्यले न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् । न्यून आय भएका व्यक्तिलाई वडाको सिफारिसका आधारमा पोषणभत्ता दिने घोषणा भए पनि अन्य निर्णय भने हुन बाँकी छ । ‘भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटपछि मात्रै निर्णय हुनेछ,’ उनले भने ।

त्यस्तै, मेयर आचार्यले पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’ प्रतियोगितासमेत आह्वान गरेका छन् । आगामी बजेटमा व्यवस्था गर्ने गरी २ लाख रुपैयाँ पुरस्कार राशीसमेत तोकिएको छ । प्रतियोगिताको अवधि २ महिनाको हुनेछ ।

‘अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ । पेरिसको छ । पोखरा चिनाउन यहाँ पनि त्यस्तै बनाउने छौं,’ मेयर आचार्यले भने, ‘त्यसका लागि क्रियटिभ युवालाई आह्वान गरिने छ । यो एक वर्षभित्र बनाउने योजना छ । समय एक महिना तोकिएको छ ।’

मञ्जु गुरुङ ।

नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महानगरका अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका आचार्यले नेकपा एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै पोखराको १६ औं मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा दोहोरिएकी गुरुङ नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?