+
+

काठमाडौं महानगरमा कमजोर बन्यो एमाले

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ १२ गते २१:४६

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मनोनयन दर्ताका लगि १२ वैशाखमा राष्ट्रिय सभागृह पुग्दा एमाले उम्मेदवार केशव स्थापितले सञ्चारकर्मीलाई भनेका थिए, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु लेखेर राख्नुस् ।’ स्थापितको यो भनाइलाई सञ्चार माध्यमहरुले लेखेर राखे पनि ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मत जोड्दा पनि आफूलाई नभेट्ने उनको हिसाब थियो । ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर’ उनले घोषणा गरेका थिए ।

स्थापित ढुक्क हुनुको कारण ०७४ सालमा भएको स्थानीय तह निर्वाचनको तथ्यांक पनि थियो । पाँच वर्षअघिको निर्वाचनमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए ।

त्यसमा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तममान डंगोलले पाएको सात हजार ९०६ र तत्कालीन नयाँ शक्ति (हालको जसपा) ले पाएको ६ हजार ५०, राष्ट्रिय जनमोर्चाले पाएको १३१ र फोरम लोकतान्त्रिकले पाएको ११८ मत जोड्दा पनि एमालेका शाक्यले ल्याएको मत भन्दा कमै हुन्थ्यो ।

स्थापित उम्मेदवार भएसँगै उनीमाथि लागेको यौन हिंसाको आरोप फेरि उठेको थियो । त्यही विषयमा उनीमाथि एक सार्वजनिक कार्यक्रममा प्रश्न गर्दा प्रश्नकर्तामाथि नै अभद्र टिप्पणी गरेका थिए । स्थापितले मेयरका अर्का उम्मेदवार बालेन साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनेका थिए । त्यसपछि कतिपयले स्थापित आफैंले आफ्नो भोट घटाइरहेको टिप्पणी गरेका थिए ।

तर स्थापित आफ्नो कारणले मात्र उनको भोट घटिरहेको थिएन । मतगणना अन्तिम चरणमा पुग्दा तथ्यले भने काठमाडौं महानगरपालिकामा एमालेको मत नै घटिरहेको देखाएको छ ।

काठमाडौं महानगरपालिकाके ३१ वटा वडाको मतगणना सकिँदा एमालेका मेयरका उम्मेदवार स्थापित स्वतन्त्र उम्मेदवार बालेन साह र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहपछि तेस्रो स्थानमा छन् ।

अघिल्लोपटक महानगरपालिकाको ३२ मध्ये १८ वडामा जित निकालेको एमाले यसपटक १२ वडामा खुम्चिएको छ । ०७४ मा एमालेले जितेको वडा नं ७, ९, १२, २४ र २७ यसपटक कांग्रेसले जितेको छ । अघिल्लो पटक एमालेले जितेको वडा नम्बर १५ एकीकृत समाजवादीले जितेको छ ।

अघिल्लो पटक एमालेले जितेको वडा नम्बर १५ र २५ मा यसपटक एमाले उम्मेदवार दोस्रो स्थानमा पनि आएनन् ।

२०७४ को निर्वाचनमा काठमाडौंका ३२ वटै वडामा एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत ७३ हजार ११३ थियो । हाल मतगणना सकिएका ३१ वटा वडामा एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत ६० हजार २३५ छ । जबकी ०७४ मा भन्दा यसपटक करिब २१ हजार मतदाता थपिएका छन् ।

नेकपा एमालेको काठमाडौं महानगरपालिका कमिटीका अध्यक्ष निर्मल देउलाले केही वडामा आन्तरिक कारणले हार भएको बताए । ‘आन्तरिक कारणले पनि केही वडमा हार भयो । उम्मेदवारलाई टिकट दिँदा पनि कमजोरी भएको महसुस भएको छ ।’

उपमेयरमा एमाले उम्मेदवार सुनीता डंगोल अत्यधिक मतले अग्रता लिएका कारण पार्टीको मत घटेको भन्न नमिल्ने उनको भनाइ छ । ‘उपमेयरमा हामीलाई सबैभन्दा बढी मत आएको छ । मेयर र वडाध्यक्षलाई किन मत कम आयो हामी समीक्षा गर्छौं’ उनले भने ।

वडामा कहाँ को विजयी ?

कांग्रेसले वडाध्यक्ष जितेका १९ वडा : वडा नं ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३०

एमालेले वडाध्यक्ष जितेका १२ वडा : वडा नं १, २, ३, ४, ५, १३, १८, २१, २३, २३, ३१, ३२

एकीकृत समाजवादीले वडाध्यक्ष जितेको वडा : वडा नं १५

काठमाडौंमा वडाध्यक्ष को-कोले जिते ?

वडा नं १ मा एमालेका भरतलाल श्रेष्ठले ६२२ मत ल्याई विजयी हुँदा कांग्रेसका किरण श्रेष्ठले ५९८ मत पाए ।

वडा नं २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठले एक हजार ३७७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार सूर्यलाल महर्जन ९६३ मत ल्याएर दोस्रो स्थानमा रहे ।

वडा नं ३ मा एमालेका उम्मेदवार प्रेम थापा दुई हजार १३८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले एक हजार ४९१ मत पाए ।

वडा नं ४ मा एमालेका दिनेश महर्जनले चार हजार ६०४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रामप्रसाद न्यौपानेले दुई हजार २८९ मत ल्याएर दोस्रो स्थानमा रहे ।

वडा नं ५ मा एमालेका वीरेन्द्र प्रजापतिले एक हजार ८१८ मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश डंगोलले एक हजार ५७५ मत पाए । यो वडामा ०७४ सालमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।

वडा नं ६ मा कांग्रेस उम्मेदवार भुवन लामा तीन हजार ८७६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी बसन्त लामाले दुई हजार ७३२ मत ल्याए ।

वडा नं ७ मा कांग्रेसका विमलकुमार होडा दुई हजार ८६७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार कृष्णमणि भट्टराईले दुई हजार ८१६ मत ल्याए ।

वडा नं ८ मा कांग्रेसका आशामान संगत एक हजार ५५७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उमेशकुमार कुइँकेल ७३८ मत ल्याएर पराजित बने ।

वडा नं ९ मा कांग्रेसका रामजी भण्डारी दुई हजार ७९० मत ल्याएर विजयी हुँदा एमालेका रामकृष्ण जयखु श्रेष्ठ दुई हजार २९८ मत ल्याएर पराजित भए ।

वडा नं १० मा रामकुमार केसी तीन हजार ४२८ ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार अशोक कार्कीले एक हजार ९५३ मत पाए ।

वडा नं ११ मा कांग्रेसका हिरालाल तण्डुकार एक हजार ५५५ मत ल्याएर निर्वाचित हुँदा एमालेका योगेन्द्रमान श्रेष्ठ ९५० मत ल्याएर पराजित भए ।

वडा नं १२ मा कांग्रेसका बाबुकृष्ण महर्जन दुई हजार २१७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार विकास डंगोलले एक हजार ४८ मत पाएर पराजित भए ।

वडा नं १३ मा एमालेका ध्रुवनारायण मानन्धर तीन हजार १२४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार सुरेन्द्र मानन्धर दुई हजार ६५४ मत ल्याए ।

वडा नं १४ मा नेपाली कांग्रेसका सुमन श्रेष्ठ तीन हजार ४४२ मतसहित निर्वाचित हुँदा नेकपा एमालेकी रश्मी खड्का तीन हजार ३४६ मतसहित दोस्रो स्थानमा रहिन् ।

वडा नं १५ मा एकीकृत समाजवादीका ईश्वरमान डंगोल तीन हजार ४७६ मत ल्याएर निर्वाचित भ एभने दोस्रो स्थानमा रहेका कांग्रेसका जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेले उम्मेदवार तेस्रो स्थानमा रहे ।

वडा नं १६ मा कांग्रेसका मुकुन्द रिजाल चार हजार १९ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधर तीन हजार ३१० मत पाएर दोस्रो स्थानमा रहे ।

वडा नं १७ मा कांग्रेसका नवीन मानन्धर दुई हजार ७०८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका मचाराजा महर्जन एक हजार ४३१ मत पाए ।

वडा नं १८ मा एमालेका न्हुछेकाजी महर्जन एक हजार २९३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकाराजन महर्जनले ७७१ मत पाए ।

वडा नं १९ मा कांग्रेका राजेशकुमार श्रेष्ठ एक हजार २०० मत ल्याएर निर्वाचित हुँदा पराजित एमालेका उम्मेदवार चन्द्रमान मुनिकरले ७४१ मत पाए ।

वडा नं २० मा कांग्रेसका राजेश मानन्धरले एक हजार ४७५ मत ल्याएर निर्वाचित हुँदा एमालेका हितकर वीर सिंह ताम्राकार ६६५ मत ल्याएर पराजित भए ।

वडा नं २१ मा एमालेका उदय चुणामणि बज्राचार्य दुई हजार १०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मधुसुदन प्रधानले एक हजार ५१३ मत ल्याए ।

वडा नं २२ मा एमालेका चिनीकाजी महर्जन दुई हजार ६० मतसहित निर्वाचित हुँदा कांग्रेसका शालिग्राम तण्डुकार एक हजार ४७८ मत पाएर दोस्रो स्थानमा रहे ।

वडा नं २३ मा एमालेका मचाराजा महर्जन एक हजार १६१ ल्याएर निर्वाचित हुँदा कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत पाए ।

वडा नं २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुजन विलासी बज्राचार्य ९२४ मत सहित पराजित भए ।

वडा नं २५ मा कांग्रेसका राजेश डंगोल ९१३ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका एकीकृत समाजवादीका बाबुराजा महर्जनले ८०१ मत पाए । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार राजेशप्रसाद श्रेष्ठले ६४२ मत पाए ।

वडा नं २६ मा कांग्रेसका ख्यामराज तिवारीले तीन हजार ३१५ मत ल्याएर निर्वाचित हुँदा एमालेका तीर्थकाजी डंगोल दुई हजार ४२९ मत पाएर दोस्रो स्थानमा रहे ।

वडा नं २७ मा पनि कांग्रेसका योगेश कुमार खड्गीले एक हजार ५४१ मत ल्याएर निर्वाचित हुँदा पराजित एमालेका उम्मेदवार चिनियामान बज्राचार्यले एक हजार ३०३ मत पाए ।

वडा नं २८ मा कांग्रेसका भाइराम खड्गी एक हजार २८२ मत पाएर निर्वाचित हुँदा एमालेका विप्रेन्द्र खड्गीले एक हजार ७३ मत ल्याएर पराजय भोगे ।

वडा नं २९ मा कांग्रेसका कुश ढकाल एक हजार ९२१ मत पाएर निर्वाचित हुँदा एमालेका शिवराम राजवंशीले एक हजार ८७१ मत ल्याएर पराजय व्यहोरे ।

वडा नं ३० मा कांग्रेसका दलबहादुर कार्कीले दुई हजार हजार ६१ मत ल्याएर निर्वाचित हुँदा एमालेका कृष्णभक्त खड्गीले ९१६ मत पाए ।

वडा नं ३१ मा एमालेका सरोज ढकाल चार हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रवीन्द्र विक्रम राणा दुई हजार ९९१ मत ल्याएर दोस्रो स्थानमा रहे ।

वडा नं ३२ मा एमालेका नवराज पराजुली पाँच हजार २२५ मत ल्याएर निर्वाचित हुँदा एकीकृत समाजवादीकी सीतादेवी कँडेलले तीन हजार १०८ मत पाएर दोस्रो स्थानमा रहिन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?