+
+

काठमाडौं नगर कार्यपालिकामा कांग्रेसको बहुमत, बालेनलाई कति गाह्रो ?

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ १३ गते ९:५१
जितपछिको र्‍यालीमा बालेन । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१२ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको स्थानीय तह काठमाडौं महानगरपालिका ।

काठमाडौं महानगरपालिकाले निर्वाचन भएको १४ दिनपछि मतगणना सकिएर जनप्रतिनिधि आएका छन् ।

यो निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह(बालेन) निर्वाचित भएका छन् । यस्तै उपमेयरमा एमालेबाट सुनिता डंगोल आएकी छिन् ।

अघिल्लो चोटी काठमाडौैंमा नेकपा एमालेको प्रमुखसहित बहुमत नगर सदस्य निर्वाचित भएका थिए । तर यो निर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै बहुमत वडाध्यक्षसहित नेपाली कांग्रेसबाट नगरसभा सदस्यहरु आएका छन् ।

प्रमुख, उपप्रमुख, महानगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर काठमाडौं महानगरको ४२ सदस्यीय नगर कार्यपालिका बन्छ । जसमा नेपाली कांग्रेसको बहुमत रहने छ ।

काठमाडौं महानगरमा नेपाली कांग्रेस १९ वटा वडा जितेको छ । वडा नम्बर ६ देखि १२ सम्मका सबै वडामा वडाध्यक्ष जितेको छ । वडा सदस्यमा पनि कांग्रेसकै बहुमत आएको छ ।

नेकपा एमालेले १२ वडा जितेको छ । एमालेले १ देखि ५ सम्मका सबै वडासहित १३,१८,२१, २२, २३, ३१ र ३२ वडामा जित हात पारेको हो । वडा सदस्यमा एमालेले ४५ सदस्य जितेको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । १५ नम्बर वडामा वडाध्यक्ष सहित एकीकृत समाजवादीले चार जना सदस्य पनि जितेको हो ।

कति गाह्रो छ बालेनलाई ?

काठमाडौं महानगरमा बालेनको लागि चुनौतीको विषय भनेको दलको टिकट लिएर निर्वाचित भएका सदस्यहरुको मन जितेका काम गर्नु हो । तर राजनीतिक दलबाट प्रतिनिधित्व गर्नेहरुले कार्यपालिकामा बालेनको कति साथ दिन्छन भन्ने हेर्न बाँकी छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार महानगरले गरेको निर्णयहरु कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ को अनुसार सभा, कार्यपालिकाको वैठक बोलाउने, वैठकमा प्रस्ताव पेश गर्ने, गराउने काम नगर प्रमुखको हुने गर्दछ । तर कार्यपालिकाबाट बनेको नियमावलीले नै नगर प्रमुखको अधिकार निर्धारण गर्दछ ।

यद्यपी कार्यपालिका बोलाउने, प्रस्ताव लैजाने नगर प्रमुखको अधिकार भित्र पर्दछ । यसकारण काठमाडौं महानगरमा राजनीतिक दलबाट विजयी भएका नगरसभा सदस्यहरुले बालेनको लागि अफ्ठयारो सिर्जना नगर्लान भन्ने सकिन्न ।

तर बालेन साहले यो विषयमा पूर्व तयारी गरेको बुझिन्छ । उम्मेद्वारी दर्ता अघि नै अनलाईनखबरसँगको कुराकानीमा बालेनले कार्यपालिका वैठक सामाजिक सञ्जालबाट लाइभ गर्ने बताएका थिए ।

अघिल्लो स्थानीय तहमा काठमाडौंमा मेयरका उम्मेद्वारी दिएका पूर्व सचिव किशोर थापा भने स्वतन्त्र उम्मेद्वारले दलिय तर्फबाट आएका जनप्रतिनिधिहरुसँग राम्ररी काम गर्ने विश्वास व्यक्त गर्छन ।

‘स्वतन्त्रबाट विजयी भएका मेयरले अन्य जनप्रतिनिधिलाई पनि विश्वासमा लिनसक्नुपर्छ, दलको टिकट पाएर जितेका जनप्रतिनिधिले पनि स्वतन्त्र हो भनेर हेप्नु हुँदैन । तर बालेनले यस्ता विषयहरु मिलाउन सक्छन भन्नेमा मलाई चैं पुर्ण विश्वास छ’, उनी भन्छन् ।

जनताले अनुमोदन गरिसकेपछि जुन दलबाट आएर पनि जनताकै लागि काम गर्ने भएकोले बालेनलाई काठमाडौैंका राजनीतिक दलले पनि सहयोग गर्ने उनले तर्क गरे ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?