+
+

संसदमा ओली : चुनावी पराजय स्वीकार्न आनाकानी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ १२ गते २१:४२

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दाबी थियो, ‘पाँच दल मिलेर आउन् वा एक्लाएक्लै, पहिला जति जितेका थियौं, त्योभन्दा बढी जित्छौं ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै मञ्चहरुमा त सत्तारुढ गठबन्धनमा आबद्ध दललाई किलो र एमालेलाई क्विन्टलसँग तुलना गर्ने गरेका थिए ।

तर एमाले २०७४ को अवस्थामा कायम रहेन । अघिल्लो पटक २९६ पालिकाको नेतृत्व जितेको एमाले यो पटक २०५ मा खुम्चियो । अघिल्लो पटक २६६ सिटमा समेटिएको कांग्रेस भने ३२७ पालिकाको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।

मत गणनाका क्रममा आएको सुरुवाती रुझानसँगै धेरैको चासो थियो, चुनावी परिणामबारे ओलीको प्रतिक्रिया के होला ? तर ओली लामो समय मौन रहे । ८ जेठमा कविता संंग्रह विमोचन कार्यक्रममा सहभागी भएर पनि राजनीतिक टिप्पणी नगरेका ओलीले बिहीबार संसदमा झण्डै तीन घण्टा भाषण गरे ।

दलमा अन्तर्घात, संसदमा धाँधली

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफल गर्नु अघिल्लो दिन एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकमा अध्यक्ष ओली संसदले अन्तर्घातका कारण एमालेले धेरै ठाउँमा चुनाव हारेको बताएका थिए ।

तर बिहीबार संसदको रोष्टममा उभिएर एमाले अध्यक्ष ओलीले अन्तरघातको कुरा गरेनन्, बरु निर्वाचनको निष्पक्षतामा प्रश्न उठाए । कुनै निश्चित ठाउँको होइन, देशभरकै निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताए ।

सरकारले नीति तथा कार्यक्रमको सुरुमै ३० वैशाखमा समग्र निर्वाचननै ‘निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण स्वच्छ र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न’ भएको उल्लेख छ ।

यही बिन्दुबाट प्रश्न सुरु गरेका ओलीले भनेका छन्, ‘भोट पाउनका लागि रुकुममा मतदाताको हत्या भयो । हुम्लामा आक्रमण भयो । ताप्लेजुङमा हत्या भयो । उदयपुरमा हत्या भयो प्रहरीकै गोलीबाट । विभिन्न ठाउँमा घाइते भए, अंगभंग भए । जो सार्वभौम सम्पन्न छन्, मतदानको माध्यमबाट आफ्नो प्रतिनिधि छान्ने अधिकार राख्दछन्, उसैलाई घेर्ने/थुन्ने/आक्रान्त गर्ने/कुटपिट गर्न काम भयो । अनि कसरी भयो चुनाव भयरहित ?’

चुनावमा सत्तापक्षले पञ्चायतभन्दा बढी अत्याचार गरेको अध्यक्ष ओलीको आरोप छ । ‘राज्य संयन्त्रको यो तहको दुरुपयोग पञ्चायतकालमा पनि भएको थिएन, यस्तो नांगो ढंगले सत्ता कब्जै गर्ने खालको काम पञ्चायतमा पनि भएको थिएन’ उनले पटकपटक दोहोर्‍याए । देशका विभिन्न ठाउँमा मतदान स्थगित भएको स्मरण गर्दै उनले थपे, ‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन, सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बस्यो । अशक्त र वृद्धवृद्धासहितको धेरै भोट गठबन्धनका कार्यकर्ताले हाले ।’

गठबन्धनका नेताहरुले जनतालाई धम्क्याएको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको सभामा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘फलानालाई भोट नदिए देश दुर्घटनामा जान्छ भनेर निर्वाचनको समयमा जनतालाई धम्की दिइयो । यस्तो अभिव्यक्तिले जनताले द्वन्द्वकाल सम्झिए, छोराछोरी विदेशिनु परेको सम्झिए, आतंक छाएको सम्झिए, जनता थरथर काम्ने स्थिति बन्यो ।’

‘धम्कीपूर्ण अभिव्यक्तिपछि जनताले मान्छे मारिएका, अंगभंग भएका, त्यही चितवनमा बोरामा हालेर घिसारी–घिसारी मान्छेको हत्या गरिएको झलझल सम्झिए’, ओलीले संसदमा भने ।

चुनावका क्रममा रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैन भनेर पनि धम्क्याएको ओलीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाले डडेल्धुराको निर्वाचन प्रचार–प्रसारका क्रममा कांग्रेसले नजित्ने पालिकालाई बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन् । त्यसतर्फ संकेत गर्दै ओलीले व्यङ्ग्य गरे, ‘अमरगढी (डडेलधुराको अमरगढी पालिका) जितेको छ कि छैन ?’

मतगणनाका क्रममा पनि धाँधली भएकाले १४ दिनसम्म पनि परिणाम आउन नसकेको उनको आरोप छ । एमाले अध्यक्ष ओलीले संसदमा भनेका छन्, ‘सत्यमा आधारित भएर बोलेको छु, होइन भने सरकारले असत्य सावित गरोस् ।’

बिहीबारको सम्बोधन सुन्दा एमाले अध्यक्ष ओलीले चुनावी पराजयलाई सहजै स्वीकार गर्न नसकिरहेको देखिएको राजनीतिक विश्लेषक विष्णु दाहाल बताउँछन् । ‘हतोत्साहित कार्यकर्तालाई उत्साहित बनाएर प्रदेश र संघको चुनावमा लैजानुपर्ने बाध्यता पनि होला’ उनले अनलाइनखबरसँग भने, ‘आफू बहुमतमा रहेको संसदमा खुम्चिएर जाँदा हतोत्साहित हुनु स्वाभाविक हो ।’

समग्र चुनाव धाँधली भयो भन्दा आम मतदाता र स्थानीय तहमा निर्वाचित एमालेकै जनप्रतिनिधिकै अपमान महसुस हुने कतिपय बताउँछन् । एमालेकै कतिपय सांसद पनि ओलीको सम्बोधन सुन्दा असहज महसुस भएको बताउँछन् ।

‘धाँधली’ भएको चुनावमा एमाले पहिलो !

निर्वाचनको निष्पक्षतामा पटकपटक प्रश्न उठाएका ओलीले यही चुनावमा पाएको ‘पपुलर मत’का आधारमा आफ्नो दल सबभन्दा ठूलो भएको दाबी गर्न छाडेनन् ।

प्रमुख पदका उम्मेदवारमा आफ्नो दलले सबभन्दा धेरै मत पाएको भन्दै उनले भनेका छन्, ‘केही सिटले नेकपा एमाले पछि परेको छ । लोकप्रिय जनमत, पपुलर भोट भन्छन् नि ! त्यसमा एमाले अहिले पनि अरु सबै पार्टीभन्दा अगाडि छ र एक नम्बर छ । त्यतापट्टि ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु ।’

चौतर्फी घेराबन्दीका बीच पनि एमालेले जितेको भन्दै उनले कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

दलहरुले गरे संसदमै खण्डन

निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको दलहरुले संसदमै खण्डन गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको खण्डन गरे । ओली लगत्तै प्रतिनिधिसभामा बोलेका खनालले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट चुनाव सम्पन्न भएको बताएका हुन् । ‘एकाध स्थानमा भएका घटना सामान्य हुन् तिनको समीक्षा गर्नुपर्छ’, खनालले भने ।

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा बिहीबार संसदमा एमाले अध्यक्ष ओलीले गरेको भाषण सत्ताबाट बाहिरिंदाको कुण्ठा मात्रै भएको टिप्पणी गर्छन् । भन्छन्, ‘प्रमुख प्रतिपक्षी दलको नेताबाट कार्यकर्तासँग बसेर गफ गरेजस्तो सत्ताबाट बाहिरिंदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो ।’

प्रमुख प्रतिपक्षी दलको नेताले संसदमै राखेको भए पनि ओलीको अभिव्यक्तिलाई आधार बनाउन नमिल्ने उनले बताए । ‘हुँदै नभएको कुरालाई उखान टुक्कासँग जोडेर व्यक्त गरिएका गफ र कुण्ठालाई हामीले आधार बनाउन मिल्दैन । सामान्य रुपमा लिन्छौं, सकिन्छ’ सांसद विश्वकर्माले पत्रकारहरुसँग भने ।

माओवादी केन्द्रका नेता लीलामणि पोखरेल विगतमा भन्दा यसपटक शान्तिपूर्ण चुनाव भएको बताउँछन् ।

चुनावी परिणाम अपेक्षाअनुसार नआएपछि सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीमाथि प्रश्न उठाउनु गैरराजनीतिक संस्कार भएको पोखरेलको टिप्पणी छ । उनी भन्छन्, ‘प्रमुख प्रतिपक्षले शान्तिपूर्ण चुनावको प्रशंसा गर्नुपर्ने हो, तर यहाँ राजनीतिक संस्कारको कुरै छैन । गैरजिम्मेवार भएर चुनावमा धाँधली भयो भनिंदैछ, जसको कुनै आधार छैन ।’

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली भने आफ्नो दलले निर्वाचनमा भएको धाँधली तथ्यका आधारमा राखेको बताउँछन् । ‘हामीले काठमाडौंमा चुनाव हार्‍यौं, पोखरामा हार्‍यौं, तर त्यहाँ धाँधली भयो भनेका छैनौं । त्यहाँ धाँधली भयो भनेका छौं, जहाँ मतदान स्थगित भयो । सत्तापक्षले बुथ कब्जा गरेर ९९ प्रतिशत मत खसालेको भनेर सार्वजनिक रुपमै प्रश्न उठाइएका छन्’ ज्ञवालीले भने ।

आफूहरुले चुनावमा भएको धाँधली र सत्ताको दुरुपयोग भएको विषय राजनीतिक प्रतिशोधका रुपमा उठाएको नठानिदिन उनको आग्रह छ । ‘कति ठाउँमा मतदान स्थगित भयो र त्यसको कारण के हो ? भनेर हेर्दा तथ्य आफैं थाहा हुन्छ’, उनले भने ।

एकातिर चुनावमा धाँधली भयो भन्ने, अर्कोतिर लोकप्रिय मतमा त हामी नै पहिलो छौं भन्नु परस्पर बाझिएन भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘यो पनि तथ्यमै भनेका छौं । गठबन्धन हुँदा प्रमुख पदहरुमा हारियो । पार्टीले पाएको पूरा जनमत हेर्नुभयो भने एमालेले पपुलर मत पाएको आफैं थाहा लाग्छ ।’

‘जनता आफैं जानकार छन्’

निर्वाचन आयोगका अधिकारीहरु निर्वाचनको निष्पक्षतामा आशंका गर्नुपर्ने कुनै कारण कतै नरहेको बताउँछन् ।

‘शान्तिपूर्ण रुपमा भयरहित वातावरणमा चुनाव सम्पन्न भएर परिणाम आइसकेको छ । सबै प्रक्रियामा सबै सहभागी छन्, जनताले आफैँ देखेका छन्’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन् ।

कुनै पार्टीले निरन्तर निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाइरहँदा आयोगप्रति जनताको अविश्वास पैदा हुँदैन ?’ भन्ने प्रश्नमा उनी थप्छन्, ‘चुनावी वातावरणबारे जनता आफैं जानकार छन्, नेताका कुरा मात्रै सुन्दैनन् । त्यसकारण नेताका अभिव्यक्तिकै कारण आयोगप्रति अविश्वास पैदा होला भन्ने लाग्दैन ।’

तथापि निर्वाचनको निष्पक्षतामाथि निरन्तर प्रश्न उठिरह्यो र आयोगले आवश्यक ठान्यो भने आफ्नो धारणा पनि सार्वजनिक गर्नसक्ने पौडेलले बताएका छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?