News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता दिएको स्पष्ट पारेका छन् ।
- अध्यक्ष ओलीले भण्डारी २०३७ सालदेखि नै पार्टी सदस्य रहेको तर राष्ट्रपति भएको समयमा उनको सदस्यता निष्क्रिय रहेको बताए ।
- उनले यस विषयलाई हारजितको रूपमा नलिन र संगठनको विधि र प्रक्रिया अनुसार चल्न आग्रह गरे ।
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता दिएको जानकारी गराएका छन् ।
एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी २०३७ सालदेखि नै एमालेको सदस्य रहेको र बीचमा राष्ट्रपति भएको समयमा उनको सदस्यता निष्क्रिय रहेकोबारे स्पष्ट रहन आग्रह गरे ।
‘विद्या भण्डारीजीको कुरा अहिले पनि हुने गर्छ । उठाउनै पर्दैन । उहाँ राष्ट्रपति भएको बेलामा सदस्य हुनुहुन्न थियो । नभएको सदस्यता नवीकरण हुँदैन थियो,’ ओलीले भने, ‘हाम्रो केन्द्रीय कमिटीले नवीकरण हुँदैन, एउटा आवेदन दिनुस् कमिटीले विचार गर्छ भनेको थियो । उहाँले आवेदन दिनुभयो, त्यसपछि कमिटीले सदस्यता थियो । उहाँ ३७ सालको पार्टी सदस्य हो । ३४ सालदेखि आन्दोलनमा लाग्नुभएको हो ।’
साथै, उनले राष्ट्रपति रहेको समयमा भने सदस्य नभएको विषयमा पनि प्रष्ट रहन आग्रह गरे ।
‘उहाँ राष्ट्रपति हुँदा सदस्य हुनुहुन्न थियो । बाँकी अवधि उहाँले पछि छाडेपछि फेरि सदस्यता पाउनुभयो । यसमा ३७ सालकै पार्टी सदस्य हो । यसमा भ्रम राख्नु पर्दैन । फेरि राष्ट्रपति हुँदा उहाँ सदस्य हुनुहुन्न थियो,’ उनले भने ।
यो विषय हारजितको नभएको पनि उनको भनाइ थियो ।
‘यो हारजितको प्रश्नै होइन, यस्ता कुराहरूमा नबहकिन पनि म आग्रह गर्न चाहन्छु । हरेक कुरामा खोचे थाप्ने, निहुँ खोज्ने यो हुनै हुँदैन,’ ओलीले भने, ‘संगठनको विधि प्रक्रिया अनुसार चलौं । संगठनका लागि उच्च मनोबलका साथ तयार होऔं ।’
प्रतिक्रिया 4