+
+

‘साँचो माओवादीसँग छ, कसरी प्रयोग गर्ला हेर्न बाँकी छ’

प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमालेले ९७ ठाउँमा लडेर ८० सिट जित्यो, कांग्रेसले १५० ठाउँमा लडेर २३ सिट जित्यो । अब पनि कसलाई २३ सिट हाराहारी पुर्‍याउने, कसलाई ८० भन्दा माथि पुर्‍याउने भन्ने साँचो लिएर बसेको माओवादी छ । त्यसलाई उसले कसरी प्रयोग गर्छ, हेर्न बाँकी छ ।

डा. मिनेन्द्र रिजाल डा. मिनेन्द्र रिजाल
२०७९ जेठ १३ गते २०:१५

स्थानीय तह निर्वाचनमा सबै दलले एक्लाएक्लै प्रतिस्पर्धा गरेको भए यसपटक नेपाली कांग्रेसले ३०६ जित्ने अवस्था देखिन्थ्यो । तर गठबन्धनका कारण कांग्रेसले थप २० पालिका प्रमुख जित्न सक्यो । यो गठबन्धनबाट मिलेको सोझो फाइदा हो ।

नेकपा माओवादी केन्द्रले १०१ सिट जित्ने देखिन्थ्यो । गठबन्धनका कारण उसले पनि २० सिट बढायो । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो अवस्थामा मेन्टेन गर्दा १० ठाउँमा स्वतन्त्र आए भने १० पालिका नयाँ पार्टीहरूले लिए ।

२८० जित्न सक्ने ठाउँमा रहेको नेकपा एमाले ५५ पालिकामा नेतृत्व गुमाएर २०५ मा खुम्चिन पुग्यो । नेकपा एकीकृत समाजवादीले जितेको २० जोड्दा एमालेको सिट संख्या २२५ पुग्छ । अरू दलले जितेको ६० मध्ये ५५ एमाले र बाँकी ५ वटा लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा)ले गुमाएको देखिन्छ ।

२०७४ कै मत परिणामलाई मात्र आधार मान्दा पनि कांग्रेसले गठबन्धनको फाइदा मज्जाले उठाएको देखिन्छ । हिजो २७५ (फोरम लोकतान्त्रिकले जितेको ९ सहित) ठाउँमा भएको कांग्रेस आज ३२७ अर्थात् थप ५२ पालिकाको नेतृत्वमा आएको छ ।

दुवैलाई चाहिएको छ गठबन्धन

स्थानीय निर्वाचनमा दलहरूले पालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धन गरे । त्यस्तोमा उम्मेदवारहरूले पाउने मतमा गठबन्धन कति प्रभावकारी भए लगायतका ‘फ्याक्टर’ले काम गर्छ । त्यसैले वडामा ल्याएको भोट तुलना गोप्य हुन्छ ।

माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चा एक ठाउँमा बस्ने हो भने करिब २३ प्रतिशत मत ‘होल्ड’ हुन्छर चुनावमा ‘निर्णायक’ हुन सक्छ । चुनावपछि सरकार गठनका क्रममा पनि राम्रो बार्गेनिङ गर्ने ठाउँमा हुन्छ ।

७४९ पालिकाको मत विश्लेषण गर्दा कांग्रेसले वडाध्यक्षमा ३४.३ प्रतिशत र एमालेले ३३.३ प्रतिशत मत पाएको छ । अर्थात् कांग्रेस र एमाले यस्तो मारामारीमा छन् कि आजको दिनमा सबै दल अलग–अलग लड्ने हो भने संसदमा पाँच वटा सिटको पनि फरक रहन्न । त्यसैले दुवै दललाई गठबन्धन चाहिएको छ ।

गठबन्धन गर्न दुवै पक्ष (कांग्रेस र एमाले)सँग राम्रो बार्गेनिङ गर्ने अवस्थामा बसेको छ माओवादी । आजको राजनीतिमा झण्डै डुब्न लागेको पार्टीलाई जोगाउन माओवादी सफल भएको छ । अघिल्लो चुनावमा माओवादीसँग १७ प्रतिशत मत थियो । अहिले १३ प्रतिशत भएको छ । ४ प्रतिशत आधार घट्नु भनेको कुनै पनि पार्टीका लागि चर्कै हो । यसका बाबजुद पालिका संख्यामा माओवादीले २० वटा थपेको छ र गठबन्धनका लागि बार्गेनिङ गर्न सक्ने भएको छ ।

२०७४ को स्थानीय तह चुनावमा कांग्रेस र एमालेले पाएको मतमा ठूलो अन्तर छैन । तर प्रतिनिधिसभा निर्वाचनमा एमालेले ९७ ठाउँमा लडेर ८० सिट जित्यो, कांग्रेसले १५० ठाउँमा लडेर २३ सिट जित्यो । त्यसैले कसलाई २३ सिट हाराहारी पु¥याउने, कसलाई ८० भन्दा माथि पुर्‍याउने भन्ने साँचो लिएर बसेको माओवादी हो । त्यसलाई उसले कसरी प्रयोग गर्छ, हेर्न बाँकी छ ।

माओवादी केन्द्र कांग्रेससँग बस्यो भने एकीकृत समाजवादी पनि यही गठबन्धनमा बसे भइहाल्यो, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै कचपच गर्नुहुन्न । माओवादी एमालेसँग गठबन्धन गर्नेतिर गयो भने माधवकुमार नेपाल नेतृत्वको पार्टी अप्ठ्यारोमा पर्छ । किनकि, एमालेले एकीकृत समाजवादीका नेताहरूलाई छानीछानी लैजाने सम्भावना हुन्छ । केपी शर्मा ओलीले चाहे भने केही नेतासँग बदला लिन सक्ने अवस्था हुन्छ ।

तेस्रो मोर्चाको विकल्प

माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकठाउँमा बस्ने अर्को विकल्प छ । माओवादी र जसपा मात्र मिल्ने हो भने प्रदेश–२ मा पहिलो पार्टी बन्छ । उनीहरूसँग प्रतिस्पर्धा गर्न एमाले र कांग्रेस दुवैले लोसपाको साथ खोज्नुपर्ने हुन्छ ।

माओवादी र जसपामा समाजवादी र जनमोर्चा पनि त्यसमा थपिने हो भने करिब २३ प्रतिशत मत ‘होल्ड’ गर्ने मोर्चा बन्छ । २३ प्रतिशतको मोर्चाले चुनावमा निर्णायक हुनसक्छ ।  यो स्थानीय चुनावमै पनि चार दलले गठबन्धन गरेको भए २०० भन्दा बढी पालिका जित्न सक्थे । अब पनि उनीहरू एक ठाउँमा उभिने हो भने कांग्रेस र एमाले दुवैको बहुमत पुग्दैन, उनीहरूको अवस्था पनि राम्रै हुन्छ । चुनावपछि सरकार गठनका क्रममा पनि राम्रो बार्गेनिङ गर्ने ठाउँमा हुन्छ ।

त्यसैले आगामी चुनावमा तीन वटा गठबन्धन बन्यो भने मधेशको राजनीति धेरै खल्बलिंदैन । खासगरी मधेशमा लोसपा आफ्नो हिसाबले खेल्न सक्छ । माओवादी केन्द्र र जसपा पनि ‘कम्फर्टेबल पोजिसन’मा हुन्छ । यसरी हेर्दा अबको चाखलाग्दो राजनीतिक खेल चार पार्टी कुन विकल्पमा जान्छन् भन्नेमा छ ।

कांग्रेसका तीन कार्यभार

आजको दिनमा कांग्रेस र सरकारको नेतृत्व गरेको शेरबहादुर देउवाका तीन वटा कार्यभार छन् ।

पहिलो, जनताको बहुदलीय जनवाद अझै तार्किक निष्कर्षमा पुगेको छैन । त्यसलाई निष्कर्षमा पुर्‍याउने जिम्मा कांग्रेसकै हो । जसले जे–सुकै भने पनि बहुदलीय प्रतिस्पर्धा मान्ने भनेपछि कांग्रेसको मान्छे भएर हेर्दा यो कम्युनिस्ट पार्टीको लोकतन्त्रीकरणको प्रक्रिया हो ।

लोकतन्त्रीकरणको प्रक्रियामा हिजो नाम नै ‘कम्युनिस्ट पार्टी’ नराख्ने कि भन्ने बहस थियो । त्यसपछि कम्युनिस्ट भन्न छाडेर एमाले भन्ने भयो । तर माओवादीको सशस्त्र द्वन्द्व चर्किन थालेपछि फेरि ‘कम्युनिस्ट’ भन्न थालियो । हुँदाहुँदा संविधानसभा निर्वाचनपछि कम्युनिस्टहरू एकठाउँमा बस्नुपर्छ भनेर प्रयोगहरू भए । त्यसले परिणाम दिएको छैन, यो एउटा कुरा हो ।

संविधान बनेन, कांग्रेसलाई किनारामा लगाउँछौं भन्दा दुर्घटनामा पुग्यो । संविधान बनाएपछि फेरि कम्युनिस्टहरू एक भए, त्यो पनि चल्न सकेन । अर्को गठबन्धनमा जानुपर्‍यो । फेरि पार्टी नै मिलाउँछु भन्दा पनि दुर्घटना भयो । त्यसको सट्टा कांग्रेस र एमाले मिल्यो, प्रजातन्त्र पुनर्स्थापना भयो । कांग्रेस र माओवादी मिल्दा जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रलाई अन्त्य गरेर संविधानसभाको निर्वाचन, अग्रगमन सबै भयो ।

फेरि कांग्रेस र एमाले मिले, संविधान बन्यो । माओवादी पनि संविधान निर्माणमा आउन बाध्य भयो । संविधानसभाको चुनाव छाडेर गएका पार्टीहरू पनि चुनावमा आए । फेरि कांग्रेस र माओवादी मिले, अघिल्लो पटक तीन तहको चुनाव भयो । यो पटक पनि स्थानीय चुनाव भयो । अर्थात्, कम्युनिस्ट पार्टीहरूलाई सँगै राखेर मुलुकको राजनीतिलाई अगाडि लैजाने कांग्रेसको रणनीति हुनुपर्छ ।

दोस्रो, गिरिजाप्रसाद कोइरालाले माओवादीलाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउँछु भन्नुभयो । यो काम पूरा भएन भने मेरो आत्मा घुमिराख्छ भन्नुहुन्थ्यो उहाँ । शान्ति, लोकतन्त्र र संविधान बनाएर गणतन्त्रलाई संस्थागत गर्ने बाटोमा उहाँको गहिरो प्रतिबद्धता थियो । बीचका विभिन्न कचरपचरले रोकिएको यो कार्यभार पूरा गर्नुछ ।

एमालेको लोकतन्त्रीकरण प्रक्रिया बीचमा रोकिएको छ । माओवादीको शान्ति र लोकतन्त्रको बाटो अल्मलिएको छ । त्यसैले स्थिरभन्दा एक ठाउँबाट अर्को ठाउँमा फाल हान्ने अवसरवादी राजनीति गरेको देखिन्छ । कांग्रेसले माओवादीलाई पनि ढंगको राजनीति गर्ने ठाउँमा पुर्‍याउनु छ ।

तेस्रो, माओवादी र मधेशकेन्द्रित दलहरूले पहिचानको मुद्दा यसरी उठाए कि ज–जसले सीमान्तकृत बनाएको छ, त्योसँग लडेर अधिकार लिने हो भन्ने भाष्य बनाए । हामीले कांग्रेसका भीमबहादुर तामाङको नेतृत्ववान पहिचान भेटिने, द्वन्द्व मेटिने संघीयता भन्यौं । त्यसलाई पूरा गर्नुछ ।

मधेशकेन्द्रित दल र कम्युनिस्ट आन्दोलनका दलहरूसँग पनि एउटा खालको सम्बन्धलाई सन्तुलित बनाएर राजनीतिलाई अगाडि लिएर जान सक्यो भने कांग्रेसको कार्यभार ठिक बाटोमा जान्छ । कांग्रेससँग एमालेको प्रतिस्पर्धा स्वस्थ भएर जान्छ । अरू दलहरू पनि दीर्घकालीन रूपमा अगाडि जान्छन् । यो मुलुकको राजनीतिको उपयुक्त कोर्स पनि हुन्छ ।

(कुराकानीमा आधारित)

लेखकको बारेमा
डा. मिनेन्द्र रिजाल

डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?