+
+

संस्कृत विश्वविद्यालयमा पनि झण्डै एक महिनादेखि ताला

त्रिविको ताला चार महिनासम्म खुलेन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते २०:४१

१२ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विभिन्न माग राख्दै १९ वैशाखमा नेविसंघले लगाएको ताला अझै खुलेको छैन । नेविसंघले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने लगायतको माग राखेर ताला लगाएको थियो ।

विश्वविद्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी लगाउँदा स्नातकोत्तर तहको पठनपाठन ठप्प हुनुको साथै विद्यावारिधि तहको सर्टिफिकेट दिन समस्या भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालय परिसरभित्रै रहेको अनुसन्धान केन्द्रमा नेविसंघले लगाएको तालाबन्दीको प्रभाव परेको कार्यकारी निर्देशक डा. सुदन पौडेलले बताए । उनले भने, ‘अनुसन्धान केन्द्रसँग सम्बन्धित विषय छैन तर मुख्य प्रवेशद्वारमा नै तालाबन्दी भएको कारण काम ठप्प भएको छ । काठमाडौंको वाल्मीकि क्याम्पसको परिसरमा भएको अनुसन्धान केन्द्रमा समेत ताला लगाइएको छ । विद्यार्थीहरु मारमा परेका छन् ।’

विद्यार्थी संगठनले शैक्षिक मुद्दा भन्दा पनि राजनीतिक माग राखेर तालाबन्दी राख्दा समस्या भइरहेको बताए ।

तालाबन्दीको कारण विद्यावारिधी तहको प्रमाणपत्र लिन नपाएर समस्या भइरहेको विद्यार्थी भूमि चापागाईंले बताए । उनले भने ‘मलाई तत्काल चाहिएको छ सर्टिफिकेट । तालाबन्दीको कारण लिन पाइरहेको छैन । वार्ता पनि हुन सकेको छैन । विद्यार्थीले विद्यार्थीकै कारण समस्या झेल्नु परिरहेको छ ।’

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछानेले तालाबन्दी गर्ने विद्यार्थी संगठनसँग वार्ता गर्ने तयारी भइरहेको बताए । उनले भने ‘विद्यार्थीको शैक्षिक माग त पूरा हुन्छ । तर, कतिपय माग विश्वविद्यालयले सम्बोधन गर्न नसक्ने छन् । राजनीतिक मुद्दा छन् त्यस विषयमा छलफल हुँदैन ।’

विद्यार्थीहरुले बाहिर शैक्षिक मुद्दा भएपनि पदाधिकारी तथा सेवा आयोगमा प्रजातन्त्रवादी प्राध्यापकहरुको प्रतिनिधित्व हुनुपर्ने माग राखिरहेकोले विश्वविद्यालयले सम्बोधन गर्न नसक्ने यी विषयमा वार्तामा छलफल नै नहुने उपकुलपति लामिछानेले बताए ।

नेविसंघका केन्द्रीय अध्यक्ष दोजाङ शेर्पाले विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा तालबान्दी गरिएको जानकारी पाए पनि वाल्मीकि परिसरमा भएको नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा लागेको तालाबन्दीको विषयमा जानकारी नभए बताए ।

उनले भने ‘साथीहरुले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने, भ्रष्टाचार आरोप लागेका पदाधिकारी तथा सेवा आयोगको कर्मचारीको माग राखेर तालाबन्दी गर्नुभएको छ । उहाँहरुबीच नै वार्ता होला ।’

त्रिविमा चार महिनादेखि ताला

७ माघदेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयमा लागेको ताला अझै खुलेको छैन ।

सत्तारुढ दल नेपाली कांग्रेसआवद्ध नेविसंघ त्रिवि इकाइको एउटा गुटले निजीस्तरमा सञ्चालित जनकपुरको यूथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सम्बन्धन दिन ‘घुस मागेको’ आरोप लगाउँदै त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने माग राखेर ताला लगाएको चार महिना भन्दा बढी समय हुँदा पनि खुलेको छैन ।

यो समस्या समाधानका लागि त्रिविले उच्चस्तरीय छानबिन समितिको गठन गरेको थियो । तर पदाधिकारीमाथि आरोप लागेकोले पदमा बसेर छानबिन नहुने, पदाधिकारीले राजीनामा दिएर मात्रै छानबिन हुनुपर्ने तालाबन्दी गर्ने विद्यार्थीको अडान छ ।

तालाबन्दी गर्ने विद्यार्थीसँग वार्ता गर्न त्रिविले विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन ग¥यो । वार्ता समिति पटक पटक औपचारिक तथा अनौपचारिक वार्तामा बस्यो । तर, समाधानको लागि कुनै निष्कर्ष निस्केन ।

नेविसंघका केन्द्रीय अध्यक्ष दोजाङ शेर्पाले वार्तामा बसेर ताला खुलाउने प्रयास गरिरहेको बताए । उनले भने ‘वार्ता हुन सकिरहेको छैन । वार्ता बस्ने तयारी गर्दा गर्दै उपकुलपति सर दुखमा पर्नुभएपछि रोकिएको छ । छिट्टै वार्ता गरेर सहमति जुटाउँछौं ।’ उनको भनाइ अनुसार वार्ता बस्ने सहमति जुटेपछि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको आमाको निधन भएपछि स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?