+
+

बालेनको विजय र्‍यालीमा भेटिएका सुमन सायमी

अब संसदीय चुनाव लड्छु : सुमन सायमी

अंगद सिंह अंगद सिंह
२०७९ जेठ १४ गते २१:०५

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएपछि आयोजित धन्यवाद र्‍यालीमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि देखिए ।

बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा सायमी १३ हजार ७७० मतसहित चौथो स्थानमा रहे । दोस्रो स्थानमा कांग्रेस उम्मेदवार सिर्जना सिंह र तेस्रोमा एमाले उम्मेदवार केशव स्थापित थिए ।

आफ्नै प्रतिस्पर्धी बालेनको धन्यवाद र्‍यालीमा गएर सायमीले धेरैको मन जिते । राम्रो काम गर्नेलाई साथ दिन र सहयोग गर्न सधैं तयार रहेको बताउने सायमी युवा पुस्ता राजनीतिमा आएको र परिवर्तन चाहनेहरुले जितेको भन्दै खुशी देखिए ।

काठमाडौंको विकासमा बालेनसँग आफ्नो मुद्दा र एजेण्डा मिल्ने सुमन बताउँछन् । उनले काठमाडौंको सम्पदा, संस्कृति र सभ्यता संरक्षणका लागि बालेनलाई साथ दिने पनि बताए ।

‘बालेन साहको बोली र व्यवहारमा एकरुपता होस् । संस्कृति र सम्पदाका मुद्दाले नै उनले जितेका हुन् । जनतालाई देखाएका सपना र आशा अनुरुप काम गरुन भन्ने चाहन्छु’, सायमी सुनाउँछन् ।

सायमी मेयरको उम्मेदवार बने पनि काठमाडौंको राजनीतिमा परिचित व्यक्ति होइनन्, बरु उनी त पछिल्लो १० वर्षमा काठमाडौंको सामाजिक आन्दोलनमा सक्रिय अभियन्ता हुन् ।

काठमाडौंको भाषा, सम्पदा, मौलिक संस्कृति र गुठी आन्दोलनको उनले नेतृत्व गरेका छन् । नेवा सभ्यता, भाषा, यहाँको भूमि र सम्पदा बचाउन उनी निरन्तर सक्रिय छन् । ‘म कर्ममा विश्वास गर्ने मान्छे, आफ्नै काममा व्यस्त रहन्छु र त्यति बोल्न पनि आउदैन । आफूले गरेका कामको बारे जनतालाई खुलेर पनि भन्न सकिन’ उनी भन्छन् ।

आफूलाई काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री नेवारी बस्तीको मात्रै भोट आएको सायमीको बुझाइ छ । ‘स्थानीय स्तरमा लामो समयदेखि संघर्ष गर्दै आएकाले मत पाएको हुँ । बाहिर प्रचार प्रसार गर्ने समय नै भएन’, उनले भने ।

सायमी आफूले ल्याएको मत कम भएको बताउँछन् । ‘मैले कम्तीमा २०-२५ हजार मत आउला भन्ने सोचेको थिएँ, । तर त्यो विभिन्न कारणले सम्भव भएन्, उनी भन्छन्,‘मतदाताले बालेनलाई चुनेर पनि परिवर्तनको समर्थन गरे म यसमा खुसी छु ।’

स्थानीय चुनावमा पाएको १३ हजार ७७० मतले भने उनलाई अब राजनीतितिर डोर्‍याएको छ । ‘केही दिनको समयमा पनि मैले १३ हजार ७७० मत ल्याएँ, यसलाई मैले इँटाका रुपमा लिएको छुु, जसले घर निर्माण गर्न जग बसाउने काम गर्छ’, सायमी भन्छन् ।

यसको मतलब उनी यत्तिमै रोकिनेवाला छैनन् ।

कम्युनिष्ट नेता जीवनराज मानन्धरका छोरा हुन सायमी । उनको परिचयको दायरा फराकिलो बनेको मेयरमा उम्मेदवारी दिएपछि मात्रै हो ।

कालीमाटीमा उनको पुर्ख्यौली मिठाई पसल ‘स्वीट केभ’ छ । सात कक्षा पढ्दादेखि नै सायमीले मिठाइ पसलमा काम गरे । अहिले १० जना साथी मिलेर पार्टी प्यालेस खोलेका छन् ।

१० वर्ष व्यवसाय गरेका सायमीको चाहना छ, काठमाडौंमा कसैको घरमा डोजर नलागोस्, कसैको उठीबास नलागोस्, भूमि र भाषामा कसैको आँखा नलागोस् र संस्कृतिको जगेर्ना होस् ।

तर यो काम गर्न अहिलेको भूमिकाबाट हुँदैन भन्ने बुझे, त्यसैले राजनीतिमा आउनुपरेको सायमी प्रष्टीकरण दिन्छन् ।

‘राजनीति फोहोरी खेल हो भनेर सोच्थेँ, तर त्यही राजनीतिलाई सुधार्न पनि राजनीतिमा आउनुपर्ने भयो’, उनी भन्छन्, ‘नागरिकले राज्य र प्रशासनले गर्ने अत्याचार विरुद्ध लड्न पनि पाउनुपर्छ ।’

सायमी किन राजनीतिमा आए त ?

यसको जवाफ खोज्न २०७२ सालको भुइँचालोसम्म फर्किनुपर्छ ।

२०७२ साल वैशाख १२ गते । जुन दिन काठमाडौंमा सयौंं घर ढलेका थिए, मानिसहरु कहाँ बस्ने, भन्ने चिन्तामा थिए । त्यही बेला उपत्यका विकास प्राधिकरणले सडक विस्तारको नाममा अर्को चिन्ता थपिदिएको सायमी बताउँछन् ।

भूकम्पले दिएको घाउ पुरिन नपाउदै उनलाई अर्को आपत आइलाग्यो । एकदिन बिहानै कालिमाटी तरकारी बजारमा प्रहरी प्रशासनसहित बडेमान डोजर आयो ।

डोजरकै छेउमा थियो सुमनको पुरानो घर । डोजर देखेपछि सायमी अत्तालिए । सायमीको त्यो घर पञ्चायतकालमा कम्युनिष्ट पार्टीको गुप्त कार्यालय जस्तै थियो । जहाँ भुमिगत भएका बामपन्थी नेताहरु छलफल र बैठकका लागि आइरहन्थे ।

घर भत्काउने भनेपछि उनले मन थाम्न सकेनन् । आन्दोलन र भिडभाडमा सधैं पछाडि रहने र धेरै बोल्न मन नपराउने सायमी त्यस दिन साँच्चै आन्दोलनकारी भए । किनकी पुस्तौंदेखि उनको परिवारले भोगचलन गर्दै आएको, आफू हुर्के बढेको घरमा सरकार डोजर चलाउदै थियो ।

‘कसैले माथिको आदेश भन्दैमा कसरी मेरो घर भत्काउन सक्छ ? जबकी मसँग घरको सम्पूर्ण कागजात थियो । समयमा कर तिरेको थिए । र मसँग संवैधानिक र सम्पत्तिको हकसमेत थियो’ उनी सम्झिन्छन् ।

सायमीले घर भत्काउन नदिने अड्डी कसेपछि डोजरवालाले पेटी मात्रै फुटाउँछौं भन्यो । स्थानीयले डोजर चलाउनै नदिने अडान लिए । विवादकै बीच डोजरले घरको बार भत्काएर फर्कियो ।

हरेक शनिबारले सायमीलाई अत्यास दिन्थ्यो । किनकी सार्वजनिक विदाका कारण सरकारी अड्डा र अदालत बन्द हुन्थे, तर डोजर त्यसै दिन ल्याइन्थ्यो ।

सरकारी विदा भएको दिन आएपछि गुनासो गर्न कहाँ जाने ? डोजर कसरी रोक्ने ?

उनले आफूजस्तै पीडितसँग छलफल गर्न थाले र कानुनी परामर्श पनि लिए ।

कालीमाटी क्षेत्रका सडक विस्तार पीडितले थानकोटका सडक विस्तार पीडितसँग पनि छलफल गरे । छलफलले सायमीकै नेतृत्वमा ‘उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति’ गठन गर्‍यो ।

‘त्यो ठूलो डोजर हाम्रो घरमाथि चलेको थिएन त्यो त हाम्रो ज्यानमाथि चलेको थियो, उनी सम्झिन्छन्, ‘कतिले जिन्दगी दाउमा राखेर ऋणदान गरेर घर बनाएका हुन्छन् । अर्को ठाउँमा जग्गा हुदैन । उनीहरुले कहाँ जाने ? यो राज्यको अत्याचार थिएन त ?’

एक दुई जना जोडिदै गएको उनको संघर्ष समितिले आन्दोलनको रुप लिन थाल्यो । घर बचाउन भन्दै उनीहरु सार्वेच्च अदालतसम्म गए ।

अदालतले कानुन बमोजिम गर्नु भन्दै पीडितका पक्षमा अन्तरिम आदेश दियो । ‘कानुनमा उल्लेख नभएको कुरा राज्य तथा सरकार कसैले पनि गर्न पाउदैन । स्टे अर्डरपछि मैले आवासको हक, सम्पत्तिको हक अधिकारबारे अध्ययन गरे । हामी यसबारे अन्तर्राष्ट्रिय अदालतसम्म गयौं’ उनले सुनाए ।

संघर्ष समितिले घर बचाउन अन्तर्राष्ट्रिय श्रम संगठनमा समेत मुद्दा दर्ता गर्‍यो । उताबाट श्रम मन्त्रालयसँग वार्ता गर्नु भन्ने पत्र आयो । तर मनत्रालयले कुनै वास्ता गरेन ।

‘पछि अन्तर्राष्ट्रिय चासो देखेपछि सरकार पछि हट्न बाध्य भएको हो । नत्र त राज्यले धेरैलाई घरबारविहीन बनाइसक्थ्यो’ सायमी भन्छन् ।

घर बच्ने भएपछि उनी उपत्यकाको मौलिक संस्कृति र सम्पदा बचाउनतिर लागे । त्यसका लागि उनले ‘उपत्यका सरोकार मञ्च’ समेत गठन गरे ।

त्यति मात्रै होइन २०७६ सालमा सरकारले ल्याएको गुठी विधेयकविरुद्ध काठमाडौंमा भएको आन्दोलनको पनि सायमीले नेतृत्व गरे । काठमाडौं–तराई फास्ट ट्रयाकको प्रभाव क्षेत्र खोकनामा भएको आन्दोलनको नेतृत्वसमेत गरिसकेका छन् सायमीले ।

उपत्यकाको सम्पदा संस्कृतिसँगै खुला क्षेत्रको संरक्षणका लागि सञ्चालन भएको ‘अकुपाई टुँडिखेल’ अभियान पनि उनकै नेतृत्वमा भएको थियो ।

सामुदायिक गुठीलाई सिधा राज्यको स्वामित्वमा लिने र त्यस मातहत रहेका जग्गा भू-माफियालाई सुम्पिने योजना अनुसार गुठी विधेयक ल्याइएकाले आफूहरुले विरोध गरेको सायमी बताउँछन् ।

‘गुठीमा स्वायत्तता र सुशासन हुनु पर्छ भन्ने कुरा थाहा पाएपछि म त्यो आन्दोलनमा सहभागी भएको हुँ’ गुठी विधेयकविरुद्ध भएको आन्दोलनबारे उनी भन्छन् । स्मार्ट सिटी, राष्ट्रिय गौरवका योजना र विकासका नाममा काठमाडौंलाई सिध्याउन खोजिएको उनको भनाइ छ ।

‘काठमाडौं आफैंमा विश्वको उत्कृष्ट संग्रहालय हो । मात्रै यसको संरक्षण र जर्गेना गर्नुपर्छ । विकासका नाममा सम्पदा, संस्कृति र मौलिकता मास्न पाइदैन’ उनले भने ।

बुवा कम्युनिष्ट नेता भएका कारण धेरैले उनलाई कम्युनिस्ट पार्टीमा लाग्न भने । तर उनले राजनीतिक दलमा लागेर राजनीति गर्न चाहेनन् ।

उनलाई लाग्यो -पार्टीमा लागेँ भने न मेरो अर्थ रहन्छ न मैले गरेको आन्दोलन र संघर्षको ।

बारम्बार आन्दोलन संघर्ष गर्दा पनि राज्यले आवाज नसुनेपछि उनलाई अब आफैं नीति निर्माण गर्ने तहमा जानुपर्छ लागेर काठमाडौंको मेयरमा उम्मेदवारी दिएको उनले बताए ।

‘मलाई मेयरमा उठ्न कुनै रुचि थिएन । तर राजनीतिक पार्टीका उम्मेदवार देखेर दिक्क लागेपछि उम्मेदवारी दिएको हुँ’, उनी भन्छन्, ‘म तल्लो तहबाट काम गरेर आएको हुँ, अहिले पनि गरिरहेको छु । स्थानीय तहमा भिजेको हुनाले पनि मेयरमा उठेको हुँ ।’

उनले आफूले मेयरमा उम्मेदवारी दिनेबारे ढिलो गरी निर्णय गरेको र सार्वजनिक बहस तथा कार्यक्रममा सहभागी हुने मौका नपाउँदा धेरै मत आउन नसकेको बताए ।

‘वर्षौंदेखि काठमाडौंको हक हित र रक्षाका लागि लडिरहेको भएकाले ह्विम आयो भने जितिन्छ कि भन्ने लागेको थियो । तर मैले नजिते पनि परिवर्तनले जितेकामा खुसी छु’, उनी सुनाउँछन् ।

सायमीले काठमाडौंमा विगत १० वर्षदेखि चार मुद्दा उठाइरहेका छन् । ती चार मुद्दामा मौलिकता, सह-अस्तित्वको सम्मान, सन्तुलित वातावरण, शान्ति सद्‍भावसहितको समृद्धि र आत्मनिर्भरता रहेको सुमनको भनाइ छ ।

चुनाव जित्न नेताले ठूला सपना बाँड्नुनपर्ने बताउँछन् सायमी । ‘काठमाडौंलाइ यस्तो बनाउँछु उस्तो बनाउँछु भनेर गफ दिएर भोट आउने चलन हराउदै छ । हामीले भएका संस्कृति र सम्पदाको संरक्षण गरी व्यवस्थापन मात्रै गर्ने हो’ उनी सुनाउँछन् ।

उनको विचारमा काठमाडौंको धेरै ठूलो सपना छैन । मात्र शुद्ध हावा र पानी खान सकियोस्, फोहरमैलाको उचित व्यवस्थापन होस, हरियाली होस्, फुटपाथ राम्रो होस्, हरेक गल्लीमा एम्बुलेन्स पुगोस् ।

मेयरमा पराजयपछि सायमीले संसदीय चुनाव लड्ने योजना बनाएका छन् । उनले यसको तयारी थालिसकेका छन् । ‘अब म राजनीतिमा आइसके, पाँच वर्ष नपर्खी संसदीय चुनाव लड्छु ।’

तस्वीर : चन्द्र आले र शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?