+
+

फेसबुकको मेटाभर्समा युवतीको भर्चुअल बलात्कार !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १३:१६

फेसबुकको मातृ कम्पनी मेटाको भर्चुअल संसार मेटाभर्स अर्थात् होराइजन वर्ल्डस् विवादमा तानिएको छ ।

वास्तवमा यो भर्चुअल संसारमा वास्तविक अनुभवको खोजी गर्ने एक युवतीले त्यहाँ एक अपरिचित व्यक्तिमाथि बलात्कारको आरोप लगाएकी छिन् ।

आफूमाथि मेटाभर्समा बलात्कार भैरहेको बेलामा अन्य मानिसहरूले तमासा हेरेर बसिरहेको र कतिपयसँग भोडकाको बोतलसमेत रहेको उनको दाबी छ ।

SomeOfUS  एक अन्तर्राष्ट्रिय गैरनाफामूलक पैरवी संस्था तथा अनलाइन कम्युनिटी हो । यसले जलवायु परिवर्तन, श्रमिक अधिकार, भेदभाव, मानवअधिकार, पशु अधिकार, भ्रष्टाचार तथा कर्पोरेट सत्ता हडप्ने जस्ता मुद्दामा कम्पनीहरुलाई जवाफदेही बनाउने अभियान चलाउँदै आएको छ । सोही संस्थाले २१ वर्षकी एक अनुसन्धानकर्ता युवतीलाई यहीँ महिनाको सुरुमा भर्चुअल संसारमा पठाएको थियो ।

रिपोर्ट अनुसार भर्चुअल संसारमा प्रवेश गरेको १ घण्टाभित्रै ती युवतीको अवतारमाथि यौन हिंसा गरियो । भर्चुअल दुनियाँमा उनको अनुभव भ्रमित गर्ने वा भड्काउने खालको रह्यो । ती युवतीका अनुसार भर्चुअल संसारमा घटनाक्रमहरू यति तीव्र गतिमा भए कि उनी एक प्रकारले त्यसबाट कसरी बाँच्ने भन्ने सोच्न बाध्य भइन् ।

आफ्नो मस्तिष्कको एक हिस्साले त्यहाँ के भइरहेको छ भनेर सोध्ने गरेको र अर्को हिस्साले आफ्नो वास्तविक शरीर होइन भनेर ढुक्क गराउने गरेको उनले बताइन् ।

उक्त घटनाका बारेमा संस्थाले हालै एक नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टको शीर्षक -Metaverse: another cesspool of toxic content रहेको छ ।

तर मेटाभर्समा आफूमाथि भर्चुअल बलात्कार भएको ती शोधकर्ता युवतीको आरोपका विषयमा मेटा कम्पनीका प्रवक्ताले भने कम्पनीकै बचाउ गरेका छन् । ती युवतीले मेटाभर्समा रहेको पर्सनल बाउन्ड्री नामक सुरक्षा फिचर प्रयोग नगरेको हुँदा उक्त घटना भएको प्रवक्ताको भनाइ छ ।

उनको अनुसार पर्सनल बाउन्ड्री एक सुरक्षा उपकरण हो जुन अपरिचित व्यक्तिलाई एक मिटर टाढा राख्नका लागि प्रयोग गरिन्छ । यदि मेटाभर्समा उक्त उपकरण प्रयोग गरियो भने अपरिचित व्यक्ति आफ्नो नजिक आउन नसक्ने उनको भनाइ छ ।

मेटा कम्पनीको भर्चुअल संसार होराइजनमा पर्सनल बाउन्ड्रीको सुरुवाती दूरी ४ फिट रहेको छ । तर कतिपय मानिसहरूले यस्ता सेफ्टी फिचर बन्द गर्ने हुनाले भर्चुअल संसारमा दुर्व्यवहारमा पर्ने गरेका उनले बताए ।

स्मरण रहोस् फेसबुकले गतवर्ष भर्चुअल रियालिटी प्लाटर्फम मेटाभर्सको घोषणा गरेको थियो । यसमा सबै चिज भर्चुअल्ली नै हुने गर्दछ । होराइजन वर्ल्डस् त्यसैकेा एक हिस्सा हो ।

सरल शब्दमा भन्दा यो एक भर्चुअल रियालिटी अथात् कल्पना तथा आभासको एक अमूर्त संसार हो । जहाँ तपाईं यथार्थमा नरहेको भए पनि तपाईंको भर्चुअल अवतार अर्थात् डमी उपस्थित भएको हुन्छ ।

मेटाभर्सको यो सेवा हाल अमेरिका र क्यानडामा उपलब्ध छ । यो भर्चुअल संसारमा १८ वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरू प्रवेश गर्न पाउँदछन् । फेसबुकका अनुसार होराइजन वर्ल्डस् मेटाभर्समा प्रवेश गर्ने सुरुवाती पाइला हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?