+
+

विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु

श्रवण देव श्रवण देव
२०७९ जेठ १६ गते १९:१०

१६ जेठ, जनकपुरधाम । मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे ।

चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन, काका–काकी र मामा–माइजु पनि थपिए ।

आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमायालाई लिएर उनी १३ गते पोखराका लागि निस्किए ।

मामा माइजु गाउँमै बस्ने गरेका थिए भने बाँकी सबै काठमाडौंमै बस्दै आएका थिए ।

शनिबार पोखराको विभिन्न मन्दिर दर्शन गरेका उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको जहाज चढेर जोमसोमका लागि उडे । तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । यी ७ जनासँगै तारा एयरको जहाजमा रहेका २२ जनाको दुर्घटनामा मृत्यु भयो ।

‘राजन दाजुले नै तीर्थ यात्रामा जाऔं भनेर योजना बनाउनुभयो’ राजनका बहिनी ज्वाइँ मदन लामाले भने, ‘यत्रो ठूलो घटना हुन्छ भनेर हामीले सोच्न पनि सकेका थिएनौं ।’

मिथिला नगरपालिका–११ मा भेला भएका गोले परिवारका आफन्त ।

यो घटनापछि पुरै गाउँ नै शोकमा छ । ‘जहाज सम्पर्कविहीन भएको सूचना आएदेखि नै गाउँ नै चिन्तामा थियो, सबैको मृत्यु भएको खबर आएपछि अहिले रुवाबासी चलेको छ’, वडाअध्यक्ष बेदबहादुर कार्कीले भने ।

उनका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका राजनका मामा गाउँमै पढाउँथे । उनी केही दिनअघि सेवानिवृत्त भएका थिए ।

घर बनाए, सुखभोग गर्न पाएनन्

काठमाडौं बस्दै आए पनि पटक–पटक गाउँ आउने गरेका थिए राजन । गाउँमा उनले पुरानो घर भत्काएर नयाँ निर्माण गर्न सुरु गरेका थिए ।

‘घर लगभग तयार हुनै लागेको थियो, अब केही दिनभित्र निर्माण सम्पन्न हुने अवस्थामा थियो’, वडाअध्यक्ष कार्कीले भने, ‘तर त्यत्रो मिहिनेतले उनले बनाएको घरमा बस्नै पाएनन् ।’

राजनका श्रीमती, एक छोरा र एक छोरी छन् । नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार छोरीले यस पटक एसईई दिएकी छिन् भने छोरा सानै छन् । उनीहरु काठमाडौंमै पढ्दै थिए ।

घटनाले पूरा नगरपालिकालाई नै दुखित बनाएको मेयर महतोको भनाइ छ । ‘नहुनुपर्ने घटना भएको छ, हामी दिवंगत भएका राजनजीको परिवारलाई सक्दो सहयोग गर्न तयार छौं’ मेयर महतो भन्छन्, ‘उहाँको छोराछोरीलाई निःशुल्क शिक्षा दिलाउनेदेखि जीवन यापनका निम्ति पनि सहयोग गर्न तयार छौं ।’

काठमाडौंमै अन्तिम संस्कारको तयारी

जहाज दुर्घटनामा परी ज्यान गुमाउने सातै जनाको एकै ठाउँमा अन्तिम संस्कार गर्ने तयारी छ । सातै जनाको मृत्यु भइसकेपछि राजनका मामाका दुई जना छोरा काठमाडौं गइसकेका वडाअध्यक्ष कार्कीले बताए ।

प्रक्रिया पुर्‍याएर शव हस्तान्तरण गरेपछि काठमाडौंमै अन्तिम संस्कार गर्ने बिषयमा छलफल भएको उनले बताए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?