+
+

तारा एयर दुर्घटनापछि क्यानको एक्सन : इनरुटमा मौसम सफा नभएसम्म उडान अनुमति नदिने

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ १७ गते १५:०६
फाइल तस्वीर

१७ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ ।

आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।

‘उडान सुरक्षालाई मध्यनजर गरी यो नियम कडाइका साथ लागू गर्ने निर्णय भएको छ’ उनले अनलाइनखबरसँग भने । अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ । पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ । यसको कडाइका साथ पालना गरिने समेत कर्णले बताए ।

प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिनेछ । नेपालमा मौसमको पूर्वानुमान गर्ने आधिकारिक निकाले विभाग नै हो । त्यसो त हरेक वर्ष प्राधिकरणले कम्पनीहरुलाई मनसुन सर्कुलर समेत जारी गर्छ । यो वर्ष पनि एक साता अगाडि मात्रै प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बोलाएर मौसमको समयमा गर्न हुने र नहुने कामबारे जानकारी गराएको थियो । प्राधिकरणको सर्कुलर अनुसार जहाजहरु कुनै पनि जोखिम मोलेर उडाउनु हुँदैन ।

आइतबार भएको तारा एयरको जहाज दुर्घटनाबारे जाँच आयोग गठन भएको छ । दुर्घटनाको कारण सोही आयोगले पत्ता लगाउने छ । तर, तारा एयरको जहाज दुर्घटनामा प्रतिकुल मौसम मूख्यका कारण रहेको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका थिए । सो क्षेत्रमा प्रतिकुल मौसमले आकस्मिक उद्धारमा समेत समस्या आएको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?