+
+

गुल्मीको मुसीकोटमा सामूहिक आलु खेती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १३:२९

१८ जेठ, गुल्मी । गुल्मी मुसीकोट नगरपालिका–८ कि लक्ष्मी सापकोटा गाउँमा समूहमा आलु खेती गर्छिन् ।

समूहमा खेती गर्दा मल राख्न, पानी लगाउन र बीऊ किन्न सजिलो भएकाले उनलाई एक्लै खेती गर्दा भन्दा सजिलो भएको छ ।

स्थानीय तुलसी सापकोटालाई पनि सामूहिक आलु खेतीबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको छ ।

लक्ष्मीनारायण महिला कृषि सहकारीले महिलाहरुको समूह निर्माण गरेर आलु खेती गर्ने व्यवस्था मिलाएको हो । सहकारीले समूह निर्माण गर्ने, तालिम दिने, मल, बीउको व्यवस्था गर्ने र बजारसमेत खोजिदिने अध्यक्ष यमुना घिमिरेले बताइन् । आलु खेती गर्ने समूहमा ४० जना किसान छन् ।

५ हेक्टर क्षेत्रफलमा आलु लगाउँदा कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको छ । यस वर्ष पनि १ सय क्वीन्टल आलु लगाइएको छ । ६५ क्वीन्टल बीउमा सहकारीले पनि सहयोग गरेको छ ।

वडा नम्बर– ८ भित्र ४ वटा प्लटमा अहिले आलुखेती भइरहेको हो । माझखर्क, रुक्से, वामी र सन्कोललाई आलु पकेटको रुपमा विकास गरी खेती गरिरहेको सहकारीले जनाएको छ ।

सहकारीका ५२२ जना सदस्यमध्ये अमृतपुर आलु तथा अलैंची उत्पादक कृषि समुहमा ४० जना सदस्य आवद्ध भई सामूहिक आलु खेती गरिरहेका छन् । जेठमा उत्पादन हुने आलु बेमौसमको भएकोले निकै स्वादिलो हुने उपभोक्ता बताउँछन् ।

बेमौसमी मकै खेती

लक्ष्मीनारायण महिला कृषि सहकारीले आलु मात्रै नभई बेमौसमी मकै खेती पनि गरेको छ । मुसीकोट नगरपालिका– ७ को न्वारमा २० रोपनी क्षेत्रफलमा बेमौसमी मकै खेती गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मकै जोनको सहयोगमा गत वर्षदेखि मकै खेती गरिएको हो । अनुदानमा ५० प्रतिशत मकै जोन र २५ प्रतिशत सहकारीले सहयोग गरेको छ ।

मकै खेती गरिरहेका न्वार सुदीका शेषकान्त अर्याल हरियो मकै बेचेर आम्दानी हुँदा खुशी छन् । वडा नम्बर–७ को न्वार सुदी क्षेत्रमा सात जना किसानले मकैखेती गरेका छन् । उनीहरुले चैत, वैशाख र जेठमा हरियो मकै बजारमा पठाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?