+
+

मुलुककै अब्बल अमरसिंह मावि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते ७:१०

१९ जेठ, पोखरा । नेपाल चिकित्सा आयोगले हालै लिएको चिकित्सा शास्त्रको प्रवेश परीक्षामा सुजल पौडेलले १ नम्बरमा नाम निकाले । १९ हजारले आवेदन दिंदा पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्‍यांकमा पर्न सफल भए । उनी पोखराको अमरसिंह माविको उत्पादन हुन् ।

हरेक साल देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा दहरिँदै आएको अमरसिंह मावि, पोखरामा नामै काफी छ । दुखै गरेर भए पनि धेरै अभिभावक निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन चाहान्छन् । तर, अमरसिंह यस्तो विद्यालय हो, जहाँ गरिब जनतादेखि उच्च वर्ग र नेतासम्मले पढाउन लालायित हुन्छन् ।

देशकै उत्कृष्ट अंक ल्याएर नाम कहलिएको अमरसिंहमा पढ्न बर्सेनि हजारौंले प्रवेश परीक्षा दिन्छन् । आकर्षणको केन्द्रमा हुनुको मुख्य कारण नै मुलुककै सामुदायिक विद्यालयमा अमरसिंह अब्बल सावित हुनु हो ।

गर्विलो इतिहास

पोखराको अमरसिंह शिक्षामा जसरी अब्बल छ, यसको स्थापना पनि उस्तै गर्विलो र ऐतिहासिक छ । पहिलो र दोस्रो विश्व युद्धमा हराएका गोर्खालीहरुको रहल/पहल रकमबाट पुनर्निर्माण कोष खडा गरिएको थियो । त्यही कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो । त्यसको अगुवा थिए, मेजर वीरसिंह गुरुङ ।

कोष सञ्चालन गर्न गठित बोर्डको तत्कालीन पश्चिमाञ्चल अफिसरसमेत थिए, वीरसिंह । उनकै अगुवामा पोखरा रामघाटमा २०१३ साल चैत ११ गते स्थापना भयो, सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल । त्यही नै बेला गुरुङकै नेतृत्वमा सोल्जर बोर्ड अस्पताल पनि खुलेको थियो । त्यही अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।

वीरसिंहको पहल र स्थानीय घिमिरेहरुले जग्गा दान गरेपछि खुलेको सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल पोखराकै पुरानोमध्येको एक हो । पूर्व सैनिक परिवारका छोराछोरीका निम्ति भनिए पनि यो स्कुलमा सर्वसाधारणका छोराछोरी पनि पढ्न पाउँथे ।

अमरसिंह स्कुलले पोखराको शैक्षिक विकासमात्र नभएर यहाँको भौतिक विकासमासमेत महत्वपूर्ण योगदान पुर्याएको छ । २०२४ सालमा अमरसिंह माविमा परिणत भएको यो स्कुल पोखराकै महत्वपूर्ण र ऐतिहासिक मानिन्छ । पहिले यसको अध्यक्ष अञ्चलाधीश हुन्थे, पछि जिल्ला सभापति ।

२०१८ सालमा भारतीय राष्ट्रपति जयकिसनले अवलोकन गरेको अमरसिंह माविमा पूर्व राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्म पुगेका छन् ।

‘पोखराकै महत्वपूर्ण स्कुल भएकाले यहाँ राज्यकै उपस्थिति थियो । सुरुदेखि नै हर नतिजामा सामुदायिक स्कुलमध्ये देशकै नमूना हो । पछि स्कुलको नाम नै अमरसिंह नमूना उच्च मावि बन्यो, अहिले मावि छ, अहिले अमरसिंहमा झनै आकर्षण बढेको छ’ पूर्व अध्यक्ष बैनबहादुर क्षेत्रीले भने ।

अहिले अमरसिंहमा २ हजार ९५० विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने अमरसिंह २०७५ र २०७६ मा ११ र ११ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय भएर ३ लाख नगदसहित प्रधानमन्त्रीबाट पुरस्कृत भयो ।

श्रवणशक्ति नभएकाहरुका लागि आवासीय व्यवस्था छ । ६० जना त्यस्ता विद्यार्थी अहिले अमरसिंहमा अध्ययनरत छन् । पहिले बोर्ड फस्ट हुने अमरसिंहकै विद्यार्थी पनि थिए अहिले ४ जीपीए ल्याएने विद्यार्थी पनि यहीँका छन् थिए ।

‘सामुदायिक शिक्षामा धेरै पटक अमरसिंह पुरस्कृत भएको छ । अब्बल विद्यार्थी जन्मिने भएकै कारण सबैको रोजाइमा पर्छ । पढाइमा कुनै कप्रमाइज गर्दैनौं,’ प्रधानाध्यापक ओजश्वी बरालले भने, ‘यो विद्यालय आफैंमा ऐतिहासिकमात्र छैन । शैक्षिक क्षेत्रमा अब्बल सावित गर्दै आएका छौं ।’ २०४ रोपनी क्षेत्रफलमा खेल मैदानसहित पूर्वाधारले सुविधा सम्पन्न विद्यालयमा १ सय ५६ जना शिक्षकले सेवा दिंदै आएका छन् ।

विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी मुख्य ४ संकायमा पढाउने अमरसिंहले प्रवेश परीक्षामा राजनीतिक दबाब पनि खेप्दै आएको छ । शिक्षामा उत्कृष्ट भएकै कारण राजनीतिक दलको प्रतिष्ठाको लडाइँका कारण व्यवस्थापन समितिमा विवाद भने बर्सेनि देखिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?