+
+

विद्यार्थीको अधिक चाप हुने १२ सरकारी विद्यालय

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ जेठ २० गते १३:१०

२० जेठ, काठमाडौं । ‘मैले त छोराछोरीलाई बोर्डिङ हालिदिएको छु’ अभिभावकहरु यसो भन्न पाउँदा गर्व महसुस गर्छन् । आम भाषामा निजी विद्यालयलाई ‘बोर्डिङ’ भनी सम्बोधन गरिन्छ, हामीकहाँ । अभिभावकको यो मनोविज्ञानले ‘सामुदायिक विद्यालय’प्रतिको उदासीनता पनि प्रष्ट पार्छ ।

किन अभिभावकहरु सगर्व ‘छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँछु’ भनेर भन्न सक्दैनन् ?

किनभने सामुदायिक विद्यालयको हालत उत्साहप्रद छैन । साँघुरो कक्षाकोठा, अपर्याप्त पठन सामग्री, पुरातन पठन पद्धति, भद्रगोल व्यवस्थापन, न्यून विद्यार्थी संख्या । ‘सामुदायिक विद्यालय’ भन्नासाथ दिमागमा आउने साझा चित्र हो यो । अभिभावकहरु सकेसम्म यस्ता विद्यालयमा आफ्ना बालबच्चालाई पठाउन तयार हुँदैनन् ।

जबकि ‘शिक्षाका लागि’ भनेर सरकारले बर्सेनि खर्बौं रुपैयाँ खर्चन्छ । तैपनि सामुदायिक विद्यालयप्रति अभिभावकको न आकर्षण छ, न भरोसा नै । सरकारले उपलब्ध गराएको ‘निःशुल्क’ शिक्षा छाडेर उनीहरु निजी विद्यालय रोज्ने गर्छन्, चाहे जतिसुकै चर्को शुल्क नै तिर्न किन नपरोस् ।

यसैको नतिजा धेरैजसो सामुदायिक विद्यालयको कक्षा कोठा रित्तिदैछ । विद्यार्थी अभावमा विद्यालय मर्ज हुँदैछन् । सामुदायिक विद्यालयप्रतिको बढ्दो विकर्षणसँगै ‘शिक्षाको व्यापार’ फस्टाएको छ ।

हुनेखानेहरु मात्र होइन, सामान्य आय भएकाहरु समेत ऋण खोजेरै निजी विद्यालयमा नै आफ्ना बालबच्चा पढाइरहेका छन् । ‘निजी विद्यालयको शुल्क तिर्न नसक्नेले सरकारी विद्यालय पढाउँछन्,’ भन्ने मनोविज्ञानले समाज नराम्ररी ग्रसित छ ।

यद्यपि केही त्यस्ता सामुदायिक विद्यालय छन्, जहाँ विद्यार्थीको ओइरो लाग्छ । प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले यी सामुदायिक विद्यालयको गरिमा उँचो बनाइदिएको छ । साथै, सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय नै अब्बल हुन्छन् भन्ने उदाहरण पनि पेश गरेका छन् । अनलाइनखबरले देशभरका केही प्रतिनिधि सामुदायिक विद्यालयहरुको सूचीकरण गरेको छ ।

केही त्यस्ता सामुदायिक विद्यालय छन्, जहाँ विद्यार्थीको ओइरो लाग्छ । प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले यी सामुदायिक विद्यालयको गरिमा उँचो बनाइदिएको छ ।

पब्लिक हाइस्कुल, धरान

राणाकालमा पूर्वाञ्चलभरि स्थापना भएका पाँचवटा विद्यालयमा पर्छ– पब्लिक हाईस्कुल । यसको स्थापना वि.सं. २००३ मा भएको थियो । २०११ सालमा एसएलसीमा बोर्ड फस्ट गरेका रामबाबु खनाल यसै विद्यालयका विद्यार्थी हुन् ।

पब्लिक हाईस्कुल नमुना विद्यालयमा छनोट भएको दुई वर्ष भयो । यहाँ हाल लगभग ३३०० विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा अंग्रेजी माध्यममै पढाइ हुन्छ । कक्षा ८ देखि १२ सम्म नेपाली माध्यममा पनि पढाइ हुँदै आइरहेको छ ।

शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र टेक्निकल इन्जिनियरिङ गरी पाँच वटा फ्याकल्टीमा पढाइ हुँदै आइरहेको यस विद्यालयमा प्लस टुमा मात्रै १५०० विद्यार्थी अध्ययनरत छन् । यस वर्ष मात्र अन्य विद्यालयबाट यहाँ भर्ना हुन आउने विद्यार्थी संख्या ६०० भन्दा बढी छ ।

नर्सरीदेखि १० कक्षासम्म ४० वटा सेक्सनमा पढाइ हुँदै आइरहेको विद्यालयमा तीन शिफ्टमा पढाइ हुन्छ ।

विद्यालयलाई पढाइतर्फ आकर्षित गर्नको लागि स्कुलले विभिन्न छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । विद्यालयको हरेक कक्षामा सिसी क्यामरा र स्पिकर जडान तथा निगरानी र नियन्त्रण गरेर सूचनाप्रविधिलाई सहज बनाएको छ ।

पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराउने भएकोले यस विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरामा शिक्षक र विद्यालय व्यवस्थापन समिति एकदमै मिहिनेत गरेर लागिरहेको हुन्छ ।

अमरसिंह मावि, पोखरा

हरेक साल देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा दरिंदै आएको अमरसिंह मावि, पोखरामा नामै काफी छ । दुःखै गरेर भए पनि धेरै अभिभावक निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन चाहन्छन् । तर, अमरसिंह यस्तो मावि हो, जहाँ गरिबदेखि उच्च वर्ग र नेतासम्म आफ्ना बच्चा पढाउन लालायित हुन्छन् ।

देशकै उत्कृष्ट र कहलिएको अमरसिंहमा पढ्न बर्सेनि हजारौंले प्रवेश परीक्षा दिन्छन् । आकर्षणको केन्द्रमा हुनुको मुख्य कारण नै मुलुककै सामुदायिक विद्यालयमा अमरसिंह अब्बल सावित हुनु हो ।

पोखराको अमरसिंह शिक्षामा जसरी अब्बल छ, यसको स्थापना पनि उस्तै गर्विलो र ऐतिहासिक छ । पहिलो र दोस्रो विश्वयुद्धमा हराएका गोर्खालीहरूको रहलपहल रकमबाट पुनर्निर्माण कोष खडा गरिएको थियो । त्यही कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो । त्यसको अगुवा थिए, मेजर वीरसिंह गुरुङ । उनकै अगुवाइमा पोखरा रामघाटमा २०१३ साल चैत ११ गते स्थापना भयो, सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाईस्कुल । त्यहीबेला गुरुङकै नेतृत्वमा सोल्जर बोर्ड अस्पताल पनि खुलेको थियो । त्यही अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।

२०२४ सालमा अमरसिंह माविमा परिणत भएको यो स्कुल पोखराकै महत्वपूर्ण र ऐतिहासिक मानिन्छ । पहिले यसको अध्यक्ष अञ्चलाधीश हुन्थे, पछि जिल्ला सभापति ।

अहिले अमरसिंहमा २ हजार ९५० विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने अमरसिंह २०७५ र ७६ मा कक्षा ११ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय भएर ३ लाख नगदसहित प्रधानमन्त्रीबाट समेत पुरस्कृत भयो ।

तरुण माध्यमिक विद्यालय, बालाजु 

उत्कृष्ट सरकारी विद्यालयको सबैभन्दा पहिलो लिस्टमा पर्छ तरुण माध्यमिक विद्यालय । यसको स्थापना २०३० सालमा भएको थियो । दशौं पटकभन्दा बढी राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक रूपमा पुरस्कृत भएको यो विद्यालय काठमाडौंको उत्कृष्ट सरकारी विद्यालयभित्र पर्छ ।

यो विद्यालयले १७ वर्षमा राष्ट्रियस्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो । एक पटक दोस्रो र तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो भने दुई पटक वागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो ।

यस विद्यालयको उचित व्यवस्थापन, उत्कृष्ट पढाइ र विद्यार्थी मैत्री वातावरणले धेरै अभिभावक तथा विद्यार्थीलाई लोभ्याउँछ । अंग्रेजी माध्यमबाट पढाइ हुने भएकोले निजी विद्यालयका विद्यार्थी पनि तरुणमै पढ्न आउने गर्छन् । विद्यालयमा उत्कृष्ट शिक्षकको समूह छ । पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराइन्छ ।

तरुण माविमा पूर्व प्राथमिकदेखि कक्षा १० सम्म पढाइ हुन्छ । तरुण माविमा यो वर्ष भर्ना भएका सबै गरेर २ हजारको हाराहारीमा विद्यार्थी छन् ।

यी विद्यालयमा पढ्ने विद्यार्थीलाई आफैं सक्षम हुनको लागि अभिप्रेरित गरिन्छ । सिक्ने वातावरण पनि आफैं सिर्जना गर्न लगाइन्छ । त्यसले गर्दा पनि अन्य सरकारी विद्यालयको तुलनामा फरक छन् ।

जननमुना मावि, वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयको स्थापना २००८ सालमा भएको हो । यो विद्यालय अहिले प्रदेशकै सरकारी विद्यालयमध्ये उत्कृष्टमा पर्छ । निजी विद्यालयमा पढ्ने विद्यार्थी समेत धमाधम यहाँ भर्ना हुन पुग्छन् ।

उत्कृष्ट शिक्षकको समूह, अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरण भएको यो विद्यालय निजी विद्यालयभन्दा पनि राम्रो नतिजा ल्याउन सफल छ ।

विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिने यो विद्यालय कर्णाली प्रदेशभरि नै लोकप्रिय छ । शैक्षिक गुणस्तर सुधार्न मात्र पनि विद्यालयले वार्षिक १५ लाखसम्म खर्च गर्छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि क्रियाशील बनाएको यस विद्यालयमा आफ्ना बच्चालाई पढाउन चाहने अभिभावकको संख्या अत्यधिक छ ।

जन नमुना माविमा आफ्ना बालबालिकालाई पढाउनु कर्णाली प्रदेशका उच्च ओहोदाका पदाधिकारीहरूको समेत सपना हुन्छ । यहाँ विद्यार्थीको एकदमै धेरै चाप हुन्छ ।

यहाँ भर्ना हुन सजिलो छैन । सबै कक्षामा सिट संख्या तोकिएको र यहाँ प्रवेश गरेका विद्यार्थी सामान्यतः पढाइ पूरा गरेर मात्र निस्कने भएकाले कक्षा १, ६, ८ र ९ बाहेकका कक्षामा नयाँ भर्ना बन्द जस्तै छ । भर्ना लिइने कक्षामा पनि प्रवेश परीक्षाको कडाइले ठूलो संख्याका आवेदकहरू बाहिरै रहन पुग्छन् ।

वीरेन्द्र मावि, नुवाकोट

नुवाकोटमा रहेको वीरेन्द्र मावि पनि एउटा उत्कृष्ट र नमुना विद्यालय हो । यस विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने भएकोले पनि धेरै विद्यार्थी आकर्षित हुने गरेका छन् । विदुर नगरपालिका मात्र नभई अन्य नगरपालिकाबाट पनि विद्यार्थी यहाँ पढ्न आउने गर्छन् ।

यस स्कुलको विशेषता भनेको यहाँ पढ्न आउने विद्यार्थीलाई कक्षा १ देखि कक्षा १० सम्म निःशुल्क पढाइन्छ । शिशु कक्षाबाट कक्षा १० सम्म खाजा पनि निःशुल्क उपलब्ध गराइन्छ । आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको परिवारलाई पनि सहयोग गरिन्छ ।

स्कुलले विद्यार्थीलाई पोशाक र पुस्तक पनि निःशुल्क उपलब्ध गराउँछ । यसरी १ देखि कक्षा १० सम्म  एक रुपैयाँ पनि खर्च नगरी पढ्न पाइने सायदै यो पहिलो विद्यालय हुनुपर्छ ।

विद्यार्थीलाई पारिवारिक वातावरण र उत्कृष्ट शिक्षा दिन सफल यो विद्यालयको नतिजा पनि राम्रो छ । अझै राम्रो नतिजा ल्याउनको लागि विद्यालय र शिक्षक धेरै मिहिनेत साथ खटिरहेको पाइन्छ ।

आदर्श मावि, विराटनगर

तस्वीर : सामाजिक सञ्जाल

वि.सं. १९८६ मा स्थापना भएको आदर्श मावि, विराटनगर नेपालको उत्कृष्ट सरकारी विद्यालय हुनुको साथै एउटा ऐतिहासिक विद्यालय पनि हो । हाल यस विद्यालयमा कक्षा १ देखि १२ सम्म ३२०० विद्यार्थी अध्ययनरत छन् ।

यस विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने भएकोले निजी विद्यालयका विद्यार्थी पनि यहाँ पढ्ने चाहना राख्छन् । यस वर्ष २५० जनाको सिटमा भर्ना खोल्दा १५०० जनाले आवेदन फारम भरेका थिए । विद्यार्थीको चाप एकदमै धेरै छ ।

गत वर्षदेखि सबै प्रकारका अपाङ्गता भएका बालबालिकाको लागि विशेष कक्षाको पनि प्रारम्भ गरेको छ । २०७१ सालमा जम्मा ३५० विद्यार्थी भएको विद्यालयलाई कसरी अघि बढाउने भन्ने विषयमा शिक्षक र व्यवस्थापन समितिको एउटा बैठक बस्यो । जसले अंग्रेजी माध्यममा पनि पढाइ सुरु गर्ने निर्णय गर्‍यो ।

नेपाल सरकारले तोकिदिएको विद्यालय समय १० देखि ४ भए पनि यस विद्यालयले भने साढे ४ बजेसम्म विद्यार्थीलाई राखेर अतिरिक्त कक्षा पनि संचालन गर्दै आइरहेको छ । दुई बिघा क्षेत्रफल ओगटेको यो विद्यालय अतिरिक्त क्रियाकलापको लागि पनि परिचित छ ।

यस वर्ष ४०३ जना विद्यार्थीले यस विद्यालयबाट एसईई दिएका छन् । अन्य वर्षहरूमा पनि थुप्रै विद्यार्थीले एसईई दिएर उत्कृष्ट नतिजा ल्याउन सफल छ । विद्यालयमा ५० प्रतिशत विद्यार्थी निःशुल्क पढेका छन् । र, जति पनि विद्यार्थी अभिभावकको सहयोगमा पढेका छन् उनीहरूले पनि स्वेच्छाले शुल्क तिर्ने गरेका छन् ।

नेपालमा विद्यालय स्थापनाको यो तेस्रो हो । यस विद्यालयको स्थापना पूर्व प्रधानमन्त्रीहरू बीपी कोइराला तथा गिरिजाप्रसाद कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले गरेका हुन् । त्यसैले पूर्वप्रधान मन्त्री गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा र नगेन्द्रप्रसाद रिजाल लगायतले यस विद्यालयमा अध्ययन गरेका हुन् ।

कालिका मावि, बुटवल

कालिका मावि, बुटवल पनि नेपालको उत्कृष्ट विद्यालयमा नै पर्छ । यहाँको पढाइ र वातावरण दुवैले यस विद्यालयलाई अन्य सरकारी विद्यालय भन्दा फरक बनाएको छ ।

२०१८ सालमा स्थापना भएको यो विद्यालयमा हाल ८ हजार ७२ विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयले विद्यार्थी र अभिभावकलाई विशेष महत्व दिन्छ र उनीहरूको चाहना अनुसार नै पठनपाठन गराइन्छ ।

यस विद्यालयमा पढ्ने विद्यार्थीलाई आफैं सक्षम हुनको लागि अभिप्रेरित गरिन्छ । सिक्ने वातावरण पनि आफैं सिर्जना गर्न लगाइन्छ । त्यसले गर्दा पनि यो विद्यालय अन्य सरकारी विद्यालयको तुलनामा फरक छ ।

२०७१ देखि २०७५ सालसम्म लगातार चारपटक उत्कृष्ट नतिजा निकाल्ने विद्यालयमा पहिलो भएको यो विद्यालय २०७३ मा भने तेस्रो भएको थियो । त्यस्तै प्लस टुको रिजल्टमा पनि दुई जनाले व्यवस्थापन र विज्ञानमा टप गरेका थिए । अहिलेको नतिजाको कुरा गर्ने हो भने विज्ञान तर्फबाट १३ जना विद्यार्थीले एमबीबीएसमा नाम निकालेका छन् भने करिब ४० जना विद्यार्थीले इन्जिनियरिङ लगायत अन्य विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।

२०७४ सालमा नमुना स्कुल घोषणा भएको यो विद्यालयलाई सरकारले नमुना विद्यालयकै बजेट पठाउँछ । अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने भएकोले पनि यहाँ विद्यार्थीको चाप धेरै छ । अहिले लगभग ६८ जिल्लाका विद्यार्थी यस विद्यालयमा अध्ययनरत छन् ।

गुरुजजुर मावि, दाङ

तस्वीर : सामाजिक सञ्जाल

दाङको तुलसीपुरमा रहेको सामुदायिक गुरुजजुर माध्यमिक विद्यालय पनि नेपालको उत्कृष्ट र नमुना विद्यालयमै पर्छ । २०११ साल फागुन ११ गते यस स्कुलको स्थापना भएको थियो ।

यस विद्यालयले विद्यार्थीको पठनपाठनमा स्तरीयता ल्याउन कक्षा १ देखि ८ सम्म अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट पढाइ संचालन गरिरहेको छ । यस क्षेत्रकै नमुना विद्यालयको रूपमा रहेको गुरुजजुर माविले स्तरीय शिक्षाका लागि कुनै कसर बाँकी राखेको छैन । यसैगरी प्लस टुतिरका विज्ञान र व्यवस्थापन संकायमा पनि अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट पठनपाठन भइरहेको छ ।

अंग्रेजी माध्यममा पढाइ हुने भएकोले निजी विद्यालयका विद्यार्थीको आकर्षण पनि यहाँ बढ्दो छ । स्कुलको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तर सबै राम्रो भएकोले पनि धेरै अभिभावक आफ्ना बच्चालाई यहाँ पढाउन चाहन्छन् ।

नारायणी नमुना मावि, नारायणगढ

चितवनको नारायणी नमुना मावि पनि नेपालकै उत्कृष्ट सरकारी विद्यालयमा पर्छ । यहाँ पढेका विद्यार्थीले किताबी ज्ञानको साथसाथै व्यावहारिक ज्ञान पनि सिक्न पाउँछन् ।

यस विद्यालयको स्थापना वि.सं. २०२० मा भएको थियो । यस विद्यालयमा अहिले लगभग २ हजार ३०० विद्यार्थी अध्ययनरत छन् । यहाँ सबै विषयको व्यावहारिक शिक्षा पनि दिइन्छ । अंग्रेजी माध्यममा पढाइ हुने भएकोले निजी विद्यालयका विद्यार्थी पनि यहाँ थुप्रै भर्ना भएका छन् ।

यस विद्यालयमा अनुशासनलाई अलि बढी महत्व दिइन्छ । ठूलो खेल मैदान भएकोले खेलमा पनि धेरै विद्यार्थी अब्बल छन् । प्लस टुमा विज्ञान, व्यवस्थापन र आईटी तीन वटा विषयमा पढाइ हुन्छ ।

नेपालकै उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा यो दोस्रो तथा तेस्रो नम्बरमा परिरहेको हुन्छ । अतिरिक्त क्रियाकलापमा पनि धेरै विद्यार्थी पहिलो र दोस्रो हुने गरेका छन् । विद्यालयको एउटै कक्षाका ७ देखि ८ वटा सेक्सन छुट्याइएको छ ।

भवानी विद्यापीठ, पर्वत

२०१० सालमा स्थापना भएको भवानी विद्यापीठ उमावि पर्वतको मात्रै नभई नेपालकै उत्कृष्ट सरकारी विद्यालयमा दरिन्छ । नमुना विद्यालयको रूपमा समेत छनोट भएको भवानी विद्यापीठ जिल्लाकै पुरानो र यस क्षेत्रको उत्कृष्ट विद्यालय हो ।

२०७५ सालमा यो विद्यालय देशभरिका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तेस्रोमा पर्न सफल भएको थियो । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने भएकोले पनि यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

थोरै अंक ल्याएर पास भएका र पढ्नको लागि जिल्ला बाहिर जान नसकेका विद्यार्थीलाई समेटेर पढाउन सुरु गरेको यो विद्यालयमा अहिले विद्यार्थीको संख्या उल्लेखनीय छ । समुदायबाट उठेको सहयोगबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै विपन्न तथा जेहेनदार विद्यार्थीलाई विद्यालयले ५० प्रतिशत छुट दिएर पढाउँदै आएको छ ।

देवचुली मावि, नवलपुर

वि.सं. २०२८ मा स्थापना भएको देवचुली मावि नवलपुर पनि उत्कृष्ट सरकारी विद्यालय भित्र नै पर्छ । १३०० विद्यार्थी अध्यनरत यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आइरहेको छ । र, कक्षा ७ देखि १२ सम्म नेपाली माध्यममा पनि पढाइ हुन्छ ।

विद्यालयले अतिरिक्त क्रियाकलापको लागि आफ्नै क्रिकेट र फुटबल मैदान पनि बनाएको छ । यस विद्यालयमा ९ देखि १२ कक्षामा सिभिल इन्जिनियरिङ पनि पढाइ हुन्छ । ११ र १२ मा विज्ञान विषय पनि पढाइ हुन्छ ।

गुणात्मक र संख्यात्मक दुवै हिसाबले अघि बढ्दै गरेको यस विद्यालयका विद्यार्थीले राम्रो नतिजा ल्याउँदै आएका छन् । नेपाल सरकारद्वारा संचालित सिभिल इन्जिनियरिङको पढाइ यस विद्यालयमा मात्र हुन्छ ।

सरकारी विद्यालयमा प्लस टु विज्ञान विषयमा पढाइने भएकोले विद्यार्थीको आकर्षण बढ्दो छ । क्रिकेटर सन्दिप लामिछाने पनि यसै विद्यालयमा पढेर विद्यालयकै खेल मैदानबाटै क्रिकेट खेल्न सुरु गरेको हुनाले पनि अतिरिक्त क्रियाकलापमा लगाव भएका विद्यार्थी यहाँ आउने गर्छन् ।

सुकुना मावि, मोरङ   

तस्वीर : सामाजिक सञ्जाल

पूर्व र नेपालमा नै एउटा नमुना विद्यालयको छवि बनाउन सफल सुकुना मावि नेपालकै उत्कृष्ट सरकारी विद्यालयमा पर्छ । २०२९ सालमा स्थापना भएको यो विद्यालयमा हाल लगभग ४ हजार ५०० विद्यार्थी अध्ययनरत छन् ।

यस विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने भएकोले पनि विद्यार्थीको चाप बढी छ ।

यहाँ प्लस टुमा विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङको पढाइ हुन्छ । नतिजाको कुरा गर्ने हो भने २०७५ सालमा राम्रो नतिजा निकाल्न सफल विद्यालयमध्ये राष्ट्रियस्तरमा नै दोस्रो भएको थियो ।

पढाइ सँगसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराइने भएकोले अन्य जिल्लाबाट पनि यहाँ पढ्नको लागि विद्यार्थी आउने गर्छन् । विद्यालयले कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षा पनि चलाउँछ । प्रोजेक्टरको माध्यमबाट पनि विद्यार्थीलाई पढाइन्छ । त्यसैले पनि धेरै अभिभावक आफ्ना बालबालिकालाई यहीं पढाउन चाहन्छन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?