
काठमाडौं । ६ वर्षअघि पूर्वपत्नी एम्बर हर्डले मुद्दा दायर गरेपछि अभिनेता जोनी डिपको हलिउड करिअर संकटमा पर्ने अनुमान थियो । यति मात्र होइन, ज्याक स्प्यारोको रुपमा उनको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म पनि हातबाट गुम्ने जोखिम औंल्याइएको थियो ।
उक्त ब्लकबस्टर मुद्दाको फैसला आफ्नो पक्षमा आएलगत्तै अभिनेता डिप ‘पाइरेट्स अफ दी क्यारेबियन’को नयाँ श्रृंखलामा आउने भएका छन् । उक्त फिल्म निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई उद्धृत गर्दै पिपुल म्यागजिनले जनाएको छ ।
अहिले प्रि–प्रोडक्सन फेजमा रहेको उक्त फिल्मको छैटौं श्रृंखलामा अभिनेता डिप देखिने लगभग पक्का भएको हो । ‘म विश्वास गर्छु कि अदालतको फैसलापछि ज्याक स्प्यारोको भूमिकामा डिप देखिने पक्का छ,’ ती कार्यकारीले भने ।
उनले अगाडि भने, ‘डिज्ने संस्कृतिमा गहिरो रुपमा जरा गाडेको प्रिय पात्रको लागि बक्स अफिसमा अथाह सम्भावना छ ।’
यसैबीच, अभिनेता डाउने जोन्सनले ज्याक स्प्यारोको भूमिकामा डिपलाई विस्थापित गर्ने हल्ला पनि फैलिएको छ ।
अदालतको फैसला आफ्नो पक्षमा आएपछि डिपले पूर्वपत्नीबाट १५ मिलियन डलर क्षतिपूर्ति पाउनेछन् । हलिउड मिडियाका अनुसार अदालतको फैसलाप्रति अभिनेत्री हर्डले पुनरावलोकन गर्ने तयारी समेत छ । यो बहुचर्चित मुद्दालाई लिएर सिंगो हलिउड विभाजित बनेको छ ।
प्रतिक्रिया 4