+
+

काठमाडौंका शानदार ५ बुटिक होटल

अंगद सिंह अंगद सिंह
२०७९ जेठ २० गते १७:४२

काठमाडौं । आधुनिकताको कलेवरमा रंगिदै गएको काठमाडौं सहर, जहाँ परम्परागत वास्तुशिल्पका होटल-रेष्टुरेन्टले विशिष्ट गरिमा थपेको छ । परम्परागत कला, संस्कृति र मौलिकताले शोभायमान यी होटल–रेष्टुरेन्ट विदेशी र स्वदेशी आगन्तुकका लागि गज्जबको गन्तव्य बनेका छन् ।

अनलाइनखबरले काठमाडौंका त्यस्तै पाँच बुटिक होटल सूचीकरण गरेको छ, जो आवरणले मात्र होइन, उत्कृष्ट सेवा सुविधा र स्वादिष्ट व्यञ्जनले समृद्ध छ । ‘बुटिक होटल’को खास आकर्षण भनेका त्यहाँको वास्तुशिल्प र परम्परागत साजसज्जा हुन् ।

बुटिक होटलको प्रचलन सन् १९८० ताका बेलायत, अमेरिकाको न्युयोर्क र सान फ्रान्सिस्कोबाट सुरु भएको हो । अहिले बुटिक होटलको अवधारण संसारभर फैलिसकेको छ । यसै बुटिक होटलको अवधारणालाई नेपालमा पनि पछ्याइएको छ । र बुटिक होटलको संख्या बढ्दै गइरहेको छ ।

दी होटल द्वारिकाज

काठमाडौंको पुरानो बानेश्वरमा रहेको दी होटल द्वारिकाज परम्परागत र मौलिक शैलीमा निर्माण गरिएको होटल हो । यसमा परम्परागत नेपाली कला र संस्कृतिको झल्को दिने कलाकृति र डिजाइन छन् । जसले होटललाई आकर्षक देखाउनुका साथै ग्राहकको समेत मन जितेको छ ।

होटलको साजसज्जामा पुराना एवं मौलिक काठ प्रयोग गरिएको छ । यसरी निर्माण गरिएको होटल द्वारिकाज निकै मनमोहक र सुन्दर देखिन्छ । सन् १९७० मा स्थापना गरिएको हो होटल द्वारिकाज । जो नेपालको मौलिकता र परम्परागत शैलीलाई कायम राखेर बुटिक होटलको नामले परिचित छ ।

होटलको संरचनामा काठको प्रयोग निकै बढी भएको छ । यसमा नेवारी कला, संस्कृति झल्किने गरी कोठा तथा भवनको डिजाइन गरिएको छ ।

द्वारिकाजले विशेषगरी नेपाली खानालाई प्रवद्र्धन गरिरहेको छ । पारिवारिक माहोल भएको यस होटलको भित्री आकर्षणले सबैको मन लोभ्याउँछ । पुरानो बानेश्वरमा अवस्थित द्वारिकाज करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यहाँ खाना बस्न दुई जनाको दिनको करिब तीन सय डलर (३७ हजार २०० रुपैयाँ)सम्म खर्च लाग्छ । यसमा बिहानको नास्ता समावेश हुन्छ ।

होटल भादगाउँ

भक्तपुरको सूर्यविनायकमा रहेको अर्को बुटिक होटल हो, होटल भादगाउँ । सन् २०२१ मा निर्माण भएको यो होटल आधुनिक र परम्परागत  गरी मिश्रित शैलीमा निर्माण गरिएको छ । होटलका सञ्चालक नेहल राजभण्डारी आफूले होटल आधुनिक र परम्परागत शैलीको मिश्रण गरी फ्युजन शैलीमा निर्माण गरेको बताउँछन् ।

सात रोपनीमा फैलिएको होटलमा भक्तपुरकै मौलिकता झल्काउने पुराना काठ प्रयोग गरिएका छन् । तर कोठा भने आधुनिक र परम्परागत शैली मिश्रण गरी निर्माण गरिएका छन् । होटलको बाहिरी लबी काठ र इँटाले सजाइएको छ ।

५० कोठा भएको भादगाउँमा नेपाली खानाका परिकारसहित नर्थ इण्डियन, कन्टिनेन्टल खाना पाइन्छन् । होटलमा बगैंचाका साथै स्वीमिङ पुल, बार, सभा सम्मेलन तथा पार्टीका लागि हल तथा व्यायामशाला रहेका छन् ।

होटलको रुम चार्ज नेपालीलाई ६ हजारदेखि सुरु भएर २० हजार रुपैयाँसम्म लाग्छ  भने विदेशीलाई २ सय ५० डलर अर्थात् ३० हजारसम्मका कोठा उपलब्ध छन् ।

कान्तिपुर टेम्पल हाउस

सन् १९९८ मा स्थापना भएको बुटिक होटल हो कान्तिपुर टेम्पल हाउस । होटलमा प्रयोग गरिएका अधिकांश सामग्री नेपालमै बनेका छन् ।

होटलले प्लास्टिकका सामान प्रयोग नगर्ने नीति लिएको छ । दैनिक प्रयोगका लागि पानी, तेल र अन्य खानेकुराका लागि स्टील तथा टिनको प्रयोग बढाइएको छ भने खान्कीमा प्रयोग गर्ने तरकारीजन्य सामग्री आफ्नै फार्मबाट ल्याउने गरेको छ ।

होटलको निर्माण शैली परम्परागत रहेको छ । ठमेलको ज्याठामा रहेको कान्तिपुर टेम्पल हाउसमा नेपाली खानाका साथै भारतीय, चिनियाँ र थाइ खानाका परिकार पाइन्छन् । होटलले दिउँसो सोलार बत्ती र राति सिटी लाइट बाल्ने गरेको छ ।

होटलको एक दिनको खर्च करिब ९० देखि १४० डलरसम्म तोकिएको छ । अर्थात् एक दिनको करिब १० हजार रुपैयाँ खर्च हुन्छ ।

काठमाडौं बुटिक होटल

ठमेलको क्षेत्रपाटीमा रहेको होटल काठमाडौं बुटिक २०१२ सालमा स्थापना भएको हो । परम्परागत नेवारी कला संस्कृति झल्कने गरी निर्माण गरिएको यो होटलमा कुनै समय महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवार बस्ने गरेको होटल सञ्चालक बताउँछन् ।

१०१ वर्ष पुरानो र मौलिक घरलाई संरक्षण गरेर यो होटल सञ्चालन गरिएको छ । बुटिक होटलको पहिचान बनाएको यसका ढोका तथा झ्याल निकै पुराना र कलात्मक छन् ।

होटलमा एक पुरानो र दुई नयाँ गरी तीन भवन छन् । सबै भवनमा गरी २६ कोठा रहेका छन् । होटलको प्रमुख विशेषता भनेकै मौलिकता जोगाउनु र परम्परागत मौलिक संस्कृति तथा परिवेशको जगेर्ना गर्नु रहेको छ ।

काठमाडौं बुटिकमा नेपालीका साथै कन्टिनेन्टल, भारतीय, कोरियन, इटालियन खानाका परिकार पाइन्छन् । यो होटल १३ आना क्षेत्रफलमा फैलिएको छ ।

उक्त होटलमा सामान्य कोठाको दिनको दुई जनाको १ हजार ९ सय देखि २३ सय रुपैयाँसम्म खर्च लाग्छ भने एसीसहितको कोठाको तीन हजार रुपैयाँसम्म खर्च लाग्छ । पर्यटकीय सिजनमा कोठाको खर्च केही बढ्ने गर्छ ।

माया मेनवर बुटिक होटल

काठमाडौंको हात्तीसारमा अवस्थित छ माया मेनवर बुटिक होटल । माया मेनवरको भवन नेपालका पहिलो प्रहरी महानिरीक्षक तोरणशमशेर राणाको घर हो । राणा परिवारबाट किनेर अहिले यो घरमा बुटिक होटल सञ्चालन गरिएको छ । यो होटल ऐतिहासिक र पुरानो राणाकालीन दरबार हो । यो घर निकै पुरानो शैलीमा निर्माण गरिएको छ । यसमा सजिएका र कुँदिएका पुराना र परम्परागत शिल्प र शैलीले यसको भव्यतालाई झनै चम्काएको छ ।

राणाकालीन समयमा दरबार भनेर चिनिने यो भवनले नेपालको एक कालखण्डको इतिहास नै देखाएको छ । भवनमा पुरानो कलात्मक शैली प्रयोग गरेर आकर्षक र नवीनतम देखाएको छ । उक्त होटलमा स्थानीय खान्कीका साथै नेपाली, चाइनिज, कन्टिनेन्टल र इटालियन परिकार पाइन्छन् ।

५० कोठा रहेको माया मेनवर बुटिक होटल तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यस होटलमा बास बस्दा प्रतिरात ८० देखि १ सय डलरसम्म खर्च लाग्छ । अर्थात् एक रातको ९ हजारदेखि १२ हजार रुपैयाँसम्म खर्च हुन्छ ।

होटल साम्बाला

आधुनिक सुविधा सम्पन्न र परम्परागत शैलीको बुटिक होटल होसाम्बाला काठमाडौंको महाराजगञ्जमा रहेको छ । यो होटल तिब्बतीयन बुटिक होटलका रुपमा परिचित छ ।

सन् २०१४ सालमा स्थापना भएको साम्बालाको रुफटप स्वीमिङ पुल र पुल साइड क्याफेले जो कोहीलाई मोहित बनाउँछ । होटलबाट काठमाडौंका पहाड र दृश्य नियाल्न सकिन्छ ।

होटलले परम्परागत नेपाली शैलीमा अतिथिलाई सत्कार गर्दै आइरहेको छ । साम्बाला पुग्ने पाहुनाले नेपालीका साथै तिब्बती सम्पदा, कला र संस्कृतिलाई नजिकबाट नियाल्न सक्छन् ।

६५ कोठा रहेको साम्बालामा नेपाली खानाका साथै अन्य विभिन्न परिकार पनि पाइन्छन् । यहाँ एक रातको शुल्क ७ हजारदेखि ९ हजार रुपैयाँसम्म लाग्ने गरेको छ । त्यस्तै स्वीट रुमको शुल्क १६ हजारभन्दा माथि रहेको छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?