+
+

पोल्याण्डकी इगा स्वीयाटेकले जितिन् फ्रेन्च ओपन उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते ११:४६

२२ जेठ, काठमाडौं । शीर्ष वरीयताकी इगा स्वीयाटेकले अमेरिकी कोको गफलाई सोझो सेटमा पराजित गरी वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको उपाधि जितेकी छन् । उनको करिअरको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो ।

पोल्याण्डकी २१ वर्षीया इगाले अमेरिकी किशोरीमाथि ६–१ र ६–३ को सेटमा जित निकालिन् । डब्लूटीए मान्यताप्राप्त प्रतियोगितामा उनको यो लगातार ३५औं जित हो ।

पहिलो ग्राण्डस्लाम फाइनल खेलिरहेकी १८ वर्षीया गफ इगाविरुद्ध सुरुवातदेखि नै कमजोर देखिएकी थिइन् । यसअघि सन् २०२० को फ्रेन्च ओपन जितेकी इगाले त्यसको फाइदा उठाउँदै लगातार छैठौं उपाधि उचालिन् ।

‘म अन्य खेलहरुजस्तै फाइनल पनि आफ्नो पक्षमा पार्ने प्रयास गर्छु,’ इगाले भनिन्, ‘यो कठिन काम हो तर असम्भव होइन । किनभने फाइनल खेल जहिले पनि दवावयुक्त रहने गर्छ । तर, मसँगै मेरो प्रतिस्पर्धी पनि उत्तिकै तनावमा हुन्छ ।’

इगाले आफ्नो विजयी मन्तव्यलाई युक्रेनको पक्षमा पनि प्रयोग गरिन् । उनले युक्रेनलाई बलियो रहन भनेकी छन् । दुई दिनअघि मात्र अर्की फाइनलिष्ट गफले बन्दुक हिंसा अन्त्यको अपील गरेकी थिइन् ।

यो जोडी ‘जेनेरेसन जेड’ पुस्ताका खेलाडीहरु हुन्, जो सन् १९९७ देखि २०१० को बीचमा जन्मिएका हुन् । उनीहरुले महत्वपूर्ण सामाजिक विषयवस्तुमा कुरा गर्न आफ्नो मञ्चको प्रयोग गरिरहेका छन् ।

‘म पनि युक्रेनी जनतालाई आफ्नो मनोवल उच्च पारेर बस्न आग्रह गर्छु । किनभने त्यहाँ अझै युद्ध जारी छ,’ रंगशालाका १५ हजार दर्शक र विश्वभरबाट टेलिभिजन हेरिरहेका समर्थकसामू इगाले भनिन्, ‘जव यो युद्ध सुरु भएको थियो । मैले आशा गरेको थिएँ कि अर्को प्रतियोगितासम्म स्थिति सामान्य हुनेछ । मलाई अझै पनि त्यो आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?