+
+
विचार :

किन मक्किंदैछन् दलका जरा ?

योगदान दिने कार्यकर्ता विलखबन्दमा पर्न पुगे । भागबन्डाको संस्कृति र नवधनाढ्य वर्गको हातमा पार्टी पर्न पुग्दा कांग्रेस, एमाले, माओवादी, मधेशवादी लगायत संसदवादी दलभित्रको आन्तरिक एकता पनि नराम्रोसँग खण्डित हुन पुग्यो ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०७९ जेठ २५ गते ७:२८

पूर्वी नेपालको धरान, पश्चिमको धनगढीसँगै देशकै राजधानी काठमाडौंमा समेत दलविहीन उम्मेदवारहरूले स्थानीय तहमा विजय हासिल गरे । यस्तो नतिजासँगै दलभित्र राजनीतिक हिसाबले ठूलै स्केलको धक्का महसुस भएको अनुमान लगाउन कठिन छैन । परिवर्तनको संवाहक र सत्ता सञ्चालनका मुख्य हकदार केवल हामी मात्रै हौं भन्ने दलहरूको भ्रमलाई स्वतन्त्रहरूले खण्डित गरिदिए । अझै पनि धरातलीय यथार्थतामा पुगेर चुनावी समीक्षामा जुट्न समेत दलहरूलाई हम्मेहम्मे परेको देखिन्छ ।

अपत्यारिला आश्वासन, टिकट वितरणमा देखिएको आफ्नै हात जगन्नाथ प्रवृत्ति र सत्ता प्राप्तिका निम्ति वा सत्तामा रहँदा जे गरे पनि हुन्छ भन्ने दलीय मनोविज्ञानका कारण गणतन्त्र प्राप्तिको छोटै अवधिमा दलहरू सर्वाधिक अलोकप्रिय बन्न पुगे । यो शृङ्खला हत्पत्ति रोकिने देखिंदैन ।

वैज्ञानिक आर्किमिडिजले भनेका थिए, ‘मलाई उभिने ठाउँ देऊ, म पृथ्वीलाई घुमाएर देखाइदिन्छु ।’ त्यस्तै जब जनताले मत हाल्ने वा नेता छनोट गर्ने समय आयो तब पाँचदलीय गठबन्धनको समेत जोर चलेन ! महानगर, नगर तथा गाउँपालिका प्रमुख नै एक दर्जनभन्दा ज्यादा ठाउँमा जित्नुलाई सामान्य घटनाका रूपमा मात्र बुझे भने दलहरू ‘सच्चिने’ नभई ‘सक्किने’ बाटोमा छन् भनेर बुझे हुन्छ ।

२०४६ सालको परिवर्तन यता दलहरूले गरेका गल्तीका लामै फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । गणतन्त्र प्राप्तियता जन्मिएको एउटा बालक पनि आफ्नो प्रतिनिधि छनोटका लागि मताधिकार सम्पन्न नागरिकको हैसियत कायम गरिसक्यो भन्ने हेक्का दलहरूले बिर्सिए ! जसको परिणामस्वरूप दलहरूका प्रति ‘मास फ्रस्टेशन’ हुन पुग्यो र त्यसैको जगमा बालेन, हर्क र गोपालहरू जन्मिए । जुन क्रम आगामी निर्वाचनमा धुवाँ सरी फैलिने पूर्वानुमान लगाउन कठिन छैन ।

सुदर्शन आचार्य

दलले दलीय व्यवस्था बचाउने नै हो भने आफू सच्चिन निमेषभर पनि समय लगाउनुहुन्न । हिजो सडकमा गणतन्त्रको नारा उराल्ने गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, घनश्याम भूसाल र योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, राम कार्की, रामकुमारी झाँक्री, प्रदीप यादव, मनिष सुमन, मोहम्मद इस्तियाक राई आदि युवा नेताले आ–आफ्नो पार्टीलाई सच्याउने आँट गर्न जरूरी छ ।

त्यतिले मात्रै पुग्दैन, उल्लेखित युवानेता जनताबाट निर्वाचित हुनासाथ संसदीय दलको नेताका रूपमा आफूलाई प्रत्यासी गराउँदै मुलुक सञ्चालनको हैसियतमा समेत आफूलाई प्रस्तुत गर्न जरूरी छ । गगन थापा र उनको पुस्तालाई अहिले नेपाली जनताले नोटिसमा राखेका छन् । हिजो ‘हामी बदलिन्छांै, कांग्रेस बदल्छौं’ भन्ने कांग्रेसको युवा पुस्तासँगै आशलाग्दा युवा नेताले आ–आफ्नो पार्टी सच्याउने अभियान तत्कालै नथाल्ने हो भने परम्परागत दलहरूलाई स्वतन्त्र उम्मेदवारहरूको बाढीले किनारामा पुर्‍याउने निश्चितप्रायः देखिन्छ ।

संसदीय व्यवस्थामा रमाउने दलहरूले समयको पदचाप बुझे झैं देखिन्न । समयको पदचाप नबुझ्नेले इतिहासले दिएको जिम्मेवारी पनि सफलतापूर्वक वहन गर्न सक्छ भन्नेमा विश्वस्त रहन सकिन्न । यो परिवेश संसदीय राजनीतिमा रमाउने सबै दलका निम्ति समान ढंगले लागू हुन्छ । सतहमा देखा परेका दलहरू आजको मितिमा ‘मठाधीश’ नै देखिएका छन् ।

कांग्रेस, एमाले, माओवादी, मधेशवादी आदि दलका कार्यकर्ता नेतृत्वको कार्यशैलीका कारण आजका मितिमा निराश छन् । अझ खास गरी नेपाली कांग्रेसका कार्यकर्तामा औपचारिक रूपमा गठबन्धनको संस्कृति भित्र्याएर कांग्रेसले कतै बाटो बिराएको त हैन भन्ने भान कार्यकर्तामा परेको छ । कांग्रेस लगायत दलले कार्यकर्ताको निराशालाई आशामा रूपान्तरण गर्न आसन्न निर्वाचनमा परिवारवादबाट माथि उठेर कार्यकर्तामा न्यायको अनुभूति दिलाउने कसम खान र व्यवहारमा उतार्न सक्दा मात्र निर्वाचनमा कार्यकर्ता परिचालित हुनेछन् । अन्यथा इमानदार कार्यकर्ताको गिरेको मनोबल उठाउन नसक्ने हो भने निर्वाचन दलहरूका लागि फलामको चिउरा हुने निश्चितप्रायः देखिन्छ ।

सवाल कार्यकर्ताको न्यायको मात्र छैन, सवाल उमेरले नेटो काटिसकेका सँगै पार्टी र नेताको उमेर लगभग बराबरजसो भएका नेताले राजनीतिबाट विश्राम लिन्छन् वा लिन्नन् भन्ने पनि छ । उमेर र विचार दुवैले नेटो काटिसकेका नेताले नयाँ पुस्तालाई विश्वास गर्नुको विकल्प छैन । पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईले संसदलाई सम्बोधन गर्दै २०५६ चैत ३ गते भनेका थिए, ‘प्रजातान्त्रिक राजनीति पद्धतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छ, यी कुराको अभावमा प्रजातान्त्रिक पद्धति नै निर्धो हुन पुग्दछ ।’ आज ठ्याक्क भएकै त्यही हो ।

जब देश र जनताका लागि केही गर्ने इच्छाशक्ति सहितको भिजन यथास्थितिमा रमाउने कांग्रेस, एमाले, माओवादीलगायत दलमा देखिएन तब जनताको सम्बन्ध लगभग यी दलसँग विच्छेदको पूर्वसन्ध्यामा छ भनेर अनुमान लगाउन कठिन छैन ।

विवेकहीन नेतृत्वको हातमा पार्टीहरूको नेतृत्व पुग्यो । नेतृत्वले प्रदान गर्ने पोजिशन समेत स्वस्थानी व्रतकथाको प्रसाद जस्तो भए छोरा नभए मीत छोरालाई दिने प्रचलन नै बन्यो । योगदान दिने कार्यकर्ता विलखबन्दमा पर्न पुगे । भागबन्डाको संस्कृति र नवधनाढ्य वर्गको हातमा पार्टी पर्न पुग्दा कांग्रेस, एमाले, माओवादी, मधेशवादी लगायत संसदवादी दलभित्रको आन्तरिक एकता पनि नराम्रोसँग खण्डित हुन पुग्यो । आन्तरिक जीवनमा गहिरिंदो संकट तथा एकता नघटाई केवल कांग्रेसले इतिहास, एमालेले वृद्धभत्ता र माओवादीले उसकै भाषामा ‘जनयुद्ध’को गाथा गाएर मात्र पार्टीलाई जीवन्त राख्न संभव नै छैन ।

प्रजातन्त्र प्राप्ति यता संसदीय राजनीतिक दलहरू नै सत्ताका मुख्य सञ्चालक बने । तर, जनताका मुद्दालाई भने ठिक ढंगले पहिचान गर्न नै सकेनन् । धुलो यी दलका नेताको अनुहारमा लागेको थियो । तर, दलहरू ऐना पुछ्न थाले । संसदवादी दलहरूले भित्र्याएको विकृतिको जालो हटाउन स–सानो प्रयासबाट संभव देखिन्न मात्र हैन, दलहरूबाट सच्चिने प्रयास नदेखेपछि ठाउँठाउँबाट प्रतीकात्मक हिसाबले जनताले स्वतन्त्रको ‘लौरो’ लाई सांकेतिक रूपमा विश्वास गरे । दलहरूले आफूप्रतिको भरोसा जनतामा टुट्न गएको विषयलाई नजरअन्दाज गरे भने भोलिको मितिमा ठूलै ‘मास फ्रस्टेशन’ हुने देखिन्छ ।

निष्कर्षका रूपमा भन्न सकिन्छ, मुलुकलाई नैतिकताको पाठ सिकाउँदै अन्य राजनीतिक दललाई समेत नैतिकताको राजमार्गमा डोर्‍याउनुपर्ने नेपाली कांग्रेसले हो । कांग्रेस सभापति शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भए तर, उनले कांग्रेसलाई ठूलो बनाएर वा आफ्नै नाममा प्रधानमन्त्रीका रूपमा भोट मागेर भन्दा पनि अरूकै म्यान्डेटमा आफू प्रधानमन्त्री बन्न पुगे । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री बन्न के कारणले खोजेको हो र अब बाँकी गर्न के छ ? भन्ने बारे कहिल्यै सार्वजनिक गर्न चाहेनन् ।

जब देश र जनताका लागि केही गर्ने इच्छाशक्ति सहितको भिजन यथास्थितिमा रमाउने कांग्रेस, एमाले, माओवादीलगायत दलमा देखिएन तब जनताको सम्बन्ध लगभग यी दलसँग विच्छेदको पूर्वसन्ध्यामा छ भनेर अनुमान लगाउन कठिन छैन । त्यसैको पूर्वसंकेत हो ‘लौरो’ को चर्चा परिचर्चा ।

थप निष्कर्ष के हो भने, दलका जरा यसरी मक्किनुका पछाडि दलका नेताको अकर्मण्यता नै हो । पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने मान्यता जब राजनीतिमा स्थापित बन्यो तब बालेन र हर्कहरूको उदय भयो । यो क्रम दलभित्र ‘मेजर अप्रेशन’ अर्थात् युवा नेताहरूले वैचारिक रूपमा देश हाँक्ने प्रण जबसम्म गर्न सक्दैनन् तबसम्म उत्कर्षमा पुग्ने नै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?