+
+

स्वतन्त्र जनमतको सन्देश- पुराना दल नसच्चिए सकिन्छन्

यो अवस्था भनेको लोकतन्त्रले आफूभित्रैबाट सरसफाइ र सुधारको सुरुवात गर्न आँट्यो भनेर ठम्याउन सकिन्छ । र, यो लोकतन्त्रका लागि स्वस्थ र जनतामा आशा जगाइराख्न अति आवश्यक पहलकदमी पनि हो ।

बुद्धिप्रसाद शर्मा बुद्धिप्रसाद शर्मा
२०७९ जेठ २६ गते १०:०२

यस पटकको स्थानीय निर्वाचन विभिन्न  कारणले रोचक बन्यो । यसले विकृत बन्दै गएको लोकतन्त्रले आफूभित्रैबाट सफाइको थालनी गर्दछ भन्ने पनि सन्देश दिएको छ । देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारहरूको विजयले परम्परागत राजनीतिक शक्ति र तिनका असफल एवं अनुत्तरदायी नेतालाई जनताले विकल्प खोजिरहेका छन् भन्ने सीधा र व्यावहारिक सन्देश दिएको छ । साथै विजयी स्वतन्त्र उम्मेदवारहरूबाट परिवर्तनको अपेक्षा बढी भएकोले उनीहरूको कामको गति र परिणामले भावी राजनीतिक सुधारको अवस्थालाई पनि चित्रित गर्नेछ ।

यस पटकको स्थानीय निर्वाचनमा विजयी नगर प्रमुखहरू काठमाडौंका बालेन साह र धरानका हर्कराज साम्पाङले देशकै ध्यान आकृष्ट गरे । साहले काठमाडौं जस्तो मुख्य राजनीतिक शक्तिहरूको व्यापक राजनीतिक प्रभाव रहेको स्थानमा उनीहरूका मेयर उम्मेदवारहरूलाई हजारौं मतले पछि पार्दै जित हासिल गरे भने साम्पाङले सामाजिक अभियानबाट आर्जित जनविश्वासको आडमा धरानका राजनीतिक दलहरूका हस्ती उम्मेदवारहरूलाई धुलो चटाइदिए । देशकै महत्वपूर्ण एक महानगरपालिका र केही उपमहानगरहरूमा स्वतन्त्र उम्मेदवारहरूलाई जनमतले स्थापित गरेपछि प्रमुख दलहरूका केन्द्रीय नेताहरूमा आन्तरिक छटपटी सिर्जना भएको देख्न सकिन्छ भलै बाहिर सकारात्मक टिप्पणीहरू आएकै किन नहोस् ।

नवनिर्वाचित नगर प्रमुखहरू साह र साम्पाङबारे टिप्पणी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गणतन्त्रभित्र दुई फूलहरू फक्रिएको आफूले पाएको र यसले राजनीतिक दलहरूलाई समय अनुसार सच्चिंदै जान सन्देश दिएको टिप्पणी गरे । प्रचण्डले आफूहरू नसुधि्रए अब जनताले बढार्दै जाने खतरा देखेको संकेत गरेका छन् ।

यस्तैगरी, आफूलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार आएका काठमाडौंका नगर प्रमुख साहको प्रशंसा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले साहले चमत्कारै गरेको बताए । वास्तवमा प्रधानमन्त्री देउवाले सही शब्दको प्रयोग गरेका थिए । बालेनको जित एक दृष्टिकोणबाट चमत्कार नै थियो । जनताले पुराना राजनीतिक शक्तिहरूको खराब कार्यशैली, अदूरदर्शिता र अनुत्तरदायी प्रवृत्तिको जवाफ विस्तारै भए पनि चमत्कार गरेर देखाइदिने गरेको साह र साम्पाङ लगायतको जितले स्पष्ट पारेको छ ।

नेपालमा आम बहस वा सामान्य छलफलका क्रममा प्रायःजसो धेरैको टिप्पणी वर्तमान राजनीतिक दलहरू एवं ती सम्बद्ध नेताहरूप्रति कडा आलोचना, विरोध एवं आक्रोश पाइन्छ । अहिले आएर त पार्टीमा प्रतिबद्ध भएर लागेका कार्यकर्ताहरूबाट समेत आफ्ना नेताहरूप्रति रोष सुन्न सकिन्छ । दलका केन्द्रीय नेताहरूको व्यक्तिवादी संकीर्ण प्रवृत्तिका कारण देशले यो दुर्दशा भोग्नुपरिरहेको उनीहरूको भनाइ रहने गरेको छ । भलै धेरैजसो कार्यकर्ता सार्वजनिक रूपमा यो तथ्य प्रवाह गर्न डराउँछन्, तर पनि अनौपचारिक भेटहरूमा धक फुलाएर कुरा गर्न थालेका छन् ।

यसपटक निर्वाचनमा पहिलेजस्तो दलहरूका कार्यकर्ताबीच अत्यधिक विवाद र झडपको अवस्था सिर्जना भएन, तथापि केही छिटपुटका घटना निश्चित रूपमा भए । यतिखेर दलहरूभित्र पनि कार्यकर्तामा केही लचकता र खराबलाई खराब भन्न सक्ने शक्ति विस्तारै प्रस्फुटित हुँदै गएको देख्न सकिन्छ ।

हुन त स्वतन्त्र उम्मेदवारहरूको केही जितलाई लिएर देशको लोकतन्त्रमै सुधार सुरु भइसक्यो भनेर टिप्पणी गर्नु त पक्कै तथ्यपरक हुँदैन तर यथार्थता के हो भने आमजनतामा विद्यमान दल र नेताहरूप्रति चरम आक्रोश छ र विना ठूलो अपरेसन नेपाली राजनीतिको रोग निको हँुदैन भन्नेमा आम जनता प्रष्ट छ । देशका हर निकायहरूलाई राजनीतिले सपार्नुपर्नेमा यति नराम्रोसँग गिजोलेको छ कि राज्यका हर संस्थाहरूबाट आम नागरिकले सहज र सुलभ सेवा-सुविधा पाउने भन्ने कुरा सपना जस्तो भएको छ ।

अरू त कुरा छाडौं न्यायपालिका समेत यति दुर्गन्धित भएको छ कि सामान्य नागरिकले न्यायको अपेक्षा गर्नु धेरै टाढाको विषय भएको छ । न्यायाधीश एवं अदालतका कर्मचारीहरू सेटिङमा काम गर्छन् भन्ने छ । पैसा विना केही गर्न नसक्ने अवस्था बनेको छ । हाल अदालतका धेरैजसो फैसला विवादास्पद हुनुको कारण पनि यही हो ।

देशको लोकतन्त्रको दुरुह अवस्था देख्दा यो देशमा कहिल्यै केही राम्रो हुँदैन भन्ने धारणा आम मानिसमा छ । युवापुस्ता त यति निराश छ कि विदेश पलायनबाहेक अरू विकल्प सोच्नै छोडिसक्यो । यो देश पहुँच भएका र उनीहरूका आसेपासेका लागि स्वर्ग र सामान्य नागरिकका लागि नर्क जस्तो भएको छ । सामान्य नागरिकका लागि जीवनयापनका लागि निकै नै झन्झट, हैरानी र तनाव देशभित्र विद्यमान छ । अनि यस्तो अवस्थामा नेताका भाषण, दलहरूका प्रतिबद्धता र सरकारका नीति तथा कार्यक्रम एवं बजेटप्रति आमजनताको विश्वास, अपेक्षा र चासो कति होला सहजै अनुमान गर्न सकिन्छ ।

स्थानीय चुनावमा बालेनहरूको जितले एउटा सन्देश प्रष्ट दिएको छ कि जनता अब विकल्प खोज्न तयार अवस्थामा छन् । यो सन्देश दलहरूलाई खतराको घण्टी त पक्कै होइन तर दलहरूलाई सुधि्रन र सच्चिनको लागि कठोर सन्देशचाहिं पक्कै हो ।

देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा भारी मतका साथ स्वतन्त्र उम्मेदवार अगाडि आउँदा यसलाई दलका नेताहरूलाई कडा झापडको रूपमा समेत केही राजनीतिक टिप्पणीकारहरूले उल्लेख गरेका छन् । कडा झापड नभए पनि राजधानीकै जनताले मुख्य दलहरूलाई तिमीहरूले हद नाघ्यौ भनेर स्पष्ट रूपमा जवाफचाहिं दिएकै हुन् ।

स्वतन्त्र रूपमा विजयीहरूले मतदाताको परिवर्तनप्रतिको अपेक्षालाई कसरी सम्बोधन गर्दछन् र स्थानीय रूपमा सेवासुविधा प्रवाहमा कसरी खरो उत्रिन सक्छन् भन्ने कुराले मात्र मुख्य दलहरूप्रति यथेष्ट दबाव पुग्ने या नपुग्ने निर्क्योल गर्नेछ । नयाँ संवैधानिक प्रबन्धले स्थानीय सरकारलाई कानुनी रूपमा बलियो बनाएको छ । स्थानीय जनताको खास अपेक्षा र निकटतम चासो स्थानीय सरकारप्रति हुन्छ । स्थानीय सरकारहरूले सेवा प्रवाहमा रचनात्मक एवं प्रभावकारी रूपमा कार्य गर्न सके भने र स्थानीय जनताले सहज सेवा-सुविधा लिएको अनुभव गरे भने मात्र स्थानीय सरकार कति सफल र प्रतिबद्ध बन्न सके भन्ने मापन गर्नेछ ।

प्रम देउवाले भने जस्तो काठमाडौंमा बालेनको जित राजनीतिक चमत्कार नै हो । राजनीतिमा चमत्कार कहिलेकाहीं मात्र देख्न सकिन्छ । ब्ाालेनले सुरुवाती काम सकारात्मक गरेका छन् । अनैकौं समस्या भोग्न्ा बाध्य काठमाडौं महानगरवासीलाई बालेनले राहत महसुस गराउन सकेमात्र पनि यसले पुराना शक्तिहरूलाई जनताका पक्षमा व्यावहारिक रूपमा प्रस्तुत हुन बाध्य पार्नेछ ।

यो स्थिति भनेको दलहरूमा सच्चिने र सुधि्रंदै जान बाध्य हुने अवस्था हो । प्रचण्डले भने जस्तो केही दशक विद्यमान राजनीतिक शक्तिहरू नै सत्ताको केन्द्रमा रहन तब सक्नेछन् जब दलहरू खास रूपमा परिवर्तन हुन तयार हुनेछन् र आमजनताले परिवर्तनको महसुस गर्नेछन् । अन्यथा मतदातामा देखिएको परिवर्तनको उत्कट चाहनाले आगामी चुनावको अंकगणित विस्तारै कता लैजान्छ दलहरूले यकिन गर्न सक्ने छैनन् । यो अवस्था भनेको लोकतन्त्रले आफूभित्रैबाट सरसफाइ र सुधारको सुरुवात गर्न आँट्यो भनेर ठम्याउन सकिन्छ । र, यो लोकतन्त्रका लागि स्वस्थ र जनतामा आशा जगाइराख्न अति आवश्यक पहलकदमी पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?