
२२ साउन, काठमाडौं । निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो ।
आगोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार सुझाव प्राप्त हुनेक्रम जारी छ । आज अफिस समयसम्म प्राप्त सुझाव एकीकृत गरेर अध्ययन गर्ने अर्यालले जानकारी दिइन् ।
निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर यसउपर सुझाव मागेको थियो । त्यसअगाडि नै राजनीतिक दलहरूलाई कार्यविधि पठाएर सुझाव दिन भनेको थियो । सबैलाई सुझाव दिन आजसम्मको समय दिइएको अर्यालले जानकारी दिइन् ।
प्रस्तावित कार्यविधिको मस्यौदामा राजनीतिक दलको स्वमूल्याङ्कन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न मूल्याङ्कन समिति रहने व्यवस्था छ ।
निर्वाचन आयोगका सचिवको संयोजकत्वमा रहने समितिको काम, कर्तव्य र अधिकार राजनीतिक दलको मूल्याङ्कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने रहेको छ । कार्यविधि बमोजिम दलले आफ्नो स्वमूल्याङ्कन गरे नगरेको सम्बन्धमा छानबिन गर्ने वा गराउने अधिकार दिने भनिएको छ ।
काम, कर्तव्य र अधिकारमा भनिएको छ, ‘दलले प्राप्त गरेको अंकको आधारमा मूल्याङ्कन सूची तयार गर्ने ।’ अर्थात, राजनीतिक दलको स्वमूल्याङ्न हेरेर समितिले राजनीतिक दललाई नम्बर दिनेछ ।
राजनीतिक दलले प्राप्त गरेको अंकको आधारमा मूल्यांकनको नतिजा निर्वाचन आयोगले तयार पार्नेछ ।
मूल्याङ्कनका आधार र अंकभार अन्तर्गत राजनीतिक दलले कानून बमोजिम गर्नुपर्ने कार्य, निर्वाचनमा हुने सहभागिता र प्रतिनिधित्व रहेको छ । यसरी तयार गरिएको दलको स्वमूल्याङ्कन सूचकमा अंकभार प्रदान गर्ने आधार र अंक के गर्दा कति पाउने भनेर समेत राखिएको छ ।
राजनीतिक दलको स्वमूल्याङ्कन गर्नुपर्ने कारणमा भनिएको छ, ‘ दलको मूल्यांकनको नतिजाका आधारमा राज्यबाट प्राप्त हुने सुविधा प्रदान गर्न सहज बनाउन ।’
यी लगायतका अन्य विषयलाई समेत स्वमूल्याङ्कन गर्नु पर्ने कारणमा राखिएको छ ।
तर, यस्तो प्रास्तावित व्यवस्थाको साना दलहरूले विरोध गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस र नेकपा एमाले बाहेक दलहरूको बैठकले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति आपत्ति जनाएको छ ।
माओवादी केन्द्र सहितका साना दलहरू आज सुझाव दिन निर्वाचन आयोग जाँदैछन् । संयुक्त रुपमा सुझाव दिने र आफूहरूलाई प्रस्तावित राजनीतिक दल स्वमूल्यांकन कार्यविधि स्वीकार्य नरहेको जानकारी गराउने उनीहरूको तयारी छ ।
प्रतिक्रिया 4