
२७ जेठ, पोखरा । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले उपत्यकाभित्रका होटल तथा रेस्टुरेन्टका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न सम्झौता गर्ने निर्णय गरेपछि अहिले चर्चामा छ ।
काठमाडौं महानगरको उक्त योजना उपत्यकामात्रै सीमित नभएर देशका विभिन्न ठूला सहरका होटल तथा रेस्टुरेन्टले पनि सिको गर्न थालेका छन् ।
काठमाडौं महानगरजस्तै पोखरा महानगरले पनि महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, तथा विभिन्न संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न २ पक्षीय सम्झौता गर्ने भएको छ ।
बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले एक वर्षभित्र पोखराका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यससम्मका लागि संघसंस्था तथा होटलको शौचालय प्रयोग गर्ने गरी सम्झौता हुने निर्णय भएको प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।
महानगरले यस्तो योजना ल्याउन अगावै काठमाडौं महानगरको सिको गर्दै पोखराका विभिन्न होटल तथा रेस्टुरेन्टहरुले आफ्नो शौचालय सर्वसाधारणका लागि निशुक्ल्क खुला भएको घोषणा गरिसकेका छन् ।
त्यस्तै, महानगरको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरको ल्यान्डफिल साइट पोखरा ३३ मा सार्ने र आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4