+
+

सहरमा पानीलाई छैन बाटो

ढलान र कंक्रिट पानी सोस्ने जमिन ढाकिएको छ । घरको शौचालयदेखि सडकमा पर्ने पानी ढलमा बग्नु पर्ने हो । तर बगेर आउने ठोस पदार्थ र लेदोले ढल प्रवाह रोक्ने, पाइपहरू जोडिएको ठाउँमा फुट्ने, छुट्ने समस्या छ । ढल निकासमा अवरोध भएकाले वर्षा हुने वित्तिकै काठमाडौंका सडकमा खहरे उर्लने गरेको छ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ जेठ २७ गते २१:०१

२७ जेठ, काठमाडौं । बुधबार काठमाडौंको सिंहदरबारसँगैको न्यू प्लाजा क्षेत्रको सडक जलमग्न भयो । पैदलयात्रुले फुटपाथमा पनि खोला तरेजसरी हिँड्नुपर्‍यो ।

गत वर्षमात्रै पुरानो ढल प्रणाली हटाएर नयाँ हालिएको थियो । न्यू प्लाजामा क्षेत्रमा आएको ‘बाढी’ले ठूलो सरकारी लगानीमा बिछ्याइएको नयाँ ढल प्रणालीको कमजोरी देखाएको छ ।

अली ठूलो पानी पर्दा काठमाडौंका सडकमा भेल बग्नु नौलो हैन । पछिल्लो समय भने यसअघि खासै भेल नदेखिने क्षेत्रमा पनि वर्षा हुनासाथ खहरे बाढी बग्न थालेको छ । सडकमा नछोपिएका ‘म्यानहोल’ (मंगाल)हरुमा परेर मान्छे तथा सवारी दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको छ ।

काठमाडौंमा ढल निर्माण र मर्मतको जिम्मेवार निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हो । केयूकेएलले खानेपानीको बिलमा ५० प्रतिशत रकम थपेर ढल व्यवस्थापन शुल्क असुल्ने गरेको छ ।

तर, मुख्य वर्षायाम अघिनै सडकमा देखिएको जोखिम सुल्झाउन केयूकेएलसँग कुनै योजना छैन । ३–४ वटा जेटर मेसिनको भरमा शहरभरको ढल व्यवस्थापन गर्ने उसको तयारी बढ्दो समस्या अनुसार नगण्य हो ।

चार वर्षअघिको सरकारी अध्ययन अनुसार सुन्धारा, भोटाहिटी, जमल, नारायणगोपाल चोक, तीनकुने, कोटेश्वर, थापाथली, माइतीघर लगायतका ठाउँमा पानी पर्नासाथ सडकमा ढल बग्न थाल्ने समस्या धेरै छ । नक्साल, भगवतीबहाल, जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा पनि ढलको समस्या छ ।

यसैगरी कमलादीदेखि त्रिचन्द्र क्याम्पस, रातोपुल र हात्तीसारको जयनेपाल हलनजिक पनि ढल लिकेजको समस्या ज्यादा देखिने गरेको छ । गौशाला र पुतलीसडकमा गत वर्ष नयाँ ढल हाले पनि समस्या समाधान भएको देखिएन ।

आकाशे पानी ढल प्रणालीमा खसाल्न सडकमा बनाइने नाली र त्यसलाई खोलासम्म लैजाने ढल प्रणाली नै जाम हुने समस्या देखिएको छ । स्थानीय तह निर्वाचनपछि १४ जेठमा बसेको काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा अधिकांश वडाध्यक्षले यो बिषय उठाएका थिए ।

उपत्यकाको सबैजसो क्षेत्रमा घर बनेर खुला ठाउँ हराइसकेको छ । ढल व्यवस्थापनविज्ञ तिलक मोहन भण्डारी आकाशबाट परेको पानी अडिएर जमिनले सोस्ने अवस्था नै नरहेको बताउँछन् ।

‘घरै–घर, ढलान नै ढलान भएपछि आकाशबाट परेको पानी सबै सडकमा जम्मा हुन्छ’, उनी भन्छन्, ‘हाम्रो ढल प्रणालीले त्यति धेरै पानी एकैपटक लिनै सक्दैन । राजधानी सहरमा वर्षा हुँदा गाग्रीको पानी गिलासमा घोप्टाएजस्तो हुन थालेको छ ।’

त्यसमाथि आकाशेपानी ढलमा जाने ड्रेनेजका होलहरु पछिल्लो समय सडक स्तरोन्नति वा विस्तार गर्दा पुरिएका छन् । अहिले त सडकको फोहोर नउठेको पनि हप्तौं भइसक्यो । ‘ठुलो पानी परेपछि भलले सडकको फोहोर पनि ढलमा पुर्‍याएको छ,’ भण्डारी भन्छन्, ‘पानी पस्ने प्वालदेखि ढलसम्म प्लास्टिक नै प्लास्टिक भएपछि सडकमा खहरे बढ्ने नै भयो ।’

केयूकेएलका प्रवक्ता प्रकाश राई ड्रेनेज र ढल प्रणालीमा समस्या बढेको स्वीकार्छन् । उनका अनुसार, सडक बनाउँदा ठाउँअनुसार निश्चित दूरीमा ड्रेनेज होलहरु राख्नुपर्छ । ‘तर, सडक विभाग, महानगरपालिका, नगरपालिका लगायत निकायले सडक बनाउँदा बिना समन्वय आफूखुसी होल राखेका छन्’, उनले भने, ‘यसले गर्दा सबै पानी ढल प्रणालीमा जान नपाएर सडकमा बग्ने गरेको छ ।’

इन्जिनियर राईका अनुसार ढल प्रणाली नै जाम हुने अर्को समस्या छ । ढल प्रणालीका लागि प्लास्टिकजन्य पदार्थहरु ठूलो चुनौती बनेको उनी बताउँछन् । सहरमा जथाभावी फालिएका प्लाष्टिकका झोला, बोरा र वोतलहरु ढलमा जम्मा भएर थुनिने गरेको उनले बताए ।

‘अरु बेला विस्तारै निकास पाइरहेको ढलमा सामान्य बाढीको समयमा प्लाष्टिकहरु गएर जाम हुन्छ’, उनी भन्छन्, ‘त्यो अवस्थामा ठुलो बर्साद हुनासाथ सडकहरु जलमग्न हुन्छन् ।’

काठमाडौंमा सडक, ठूला पूर्वाधार वा निजी घर बनाउँदा निर्माण सामग्रीहरु खुला नालामा राखिएका हुन्छन् । ती निर्माण सामग्रीका रहलपहल र फोहोर सबै ढलमै मिसिन्छन् । सहरबासीको आनीबानी पनि नकुहिने फोहोर सडक र अन्ततः ढलमै फाल्ने छ ।

बाढीमा बगेर आउने ठोस पदार्थ र लेदोले ढल प्रवाह रोक्ने, पाइपहरू जोडिएको ठाउँमा फुट्ने, छुट्ने समस्या रहेको केयूकेएलको भनाइ छ । त्यसरी ढल निकासमा अवरोध हुँदाको असर सडकदेखि घर–घरसम्म पर्ने गरेको छ ।

समस्यै–समस्या, छैन मर्मत तालिका

ढलको समस्या समाधान गर्न सरकार उदासीन छ । काठमाडौंमा फोहोर पानी प्रशोधन केन्द्र जोड्ने ढल प्रणाली बनाउने काम हुँदैछ । ढल प्रणाली सुधार्ने काम भने सरकारले भ्याएको छैन । पछिल्ला वर्षहरुमा यो समस्याबारे अध्ययन समेत भएको छैन ।

केयूकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले सन् २०१५ मा गरेको अध्ययनअनुसार काठमाडौंको १५ देखि २० प्रतिशत ढल प्रणाली फोहोर पानी निकास गर्न नै असमर्थ छ । तर, त्यसपछिका वर्षहरुमा त्यस्ता समस्याग्रस्त ढल मर्मत भएको छैन ।

२०१५ को अध्ययनमा काठमाडौं उपत्यकाको १६०० किलोमिटर ढल प्रणालीमध्ये १५ प्रतिशतभन्दा बढी ढल सञ्जाल साँघुरो पाइएको थियो । पीआईडीले करिब ९० हजारमध्ये ५६ हजार मंगालको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको थियो ।

काठमाडौंको एउटै ढल प्रणाली बर्सादको पानीलाई आधार बनाएर तयार भएको होइन । अरु बेला ढल बग्ने प्रणालीलाई बाढीको निकास  बनाइएको छ । ढल प्रणालीका कतिपय भाग साँगुरो (बोटलनेक) भएकाले पनि ठुलो वर्षा हुनासाथ सडकमा बाढी देखिने भण्डारी बताउँछन् ।

केयूकेएलका प्रवक्ता राई बढी समस्याग्रस्त क्षेत्रमा गुनासोको आधारमा ढलहरु मर्मत गर्ने गरिएको बताउँछन् । तालिका बनाएरै मर्मत गर्न केयूकेएलसँग पर्याप्त जनशक्ति र प्रविधि नभएको उनले बताए ।

उनका अनुसार अहिले केयूकेएलसँग ४० हजार मंगालसहित १४०० किलोमिटर ढल प्रणालीको आकारप्रकार र अवस्थाबारे अद्यावधिक तथ्यांक छ । बाँकी करिब ५० हजार मंगाल र त्यसको ढल प्रणालीको अवस्थाबारे कुनै निकायले एकीकृत तथ्यांक राखेका छैनन् ।

नयाँ बस्ती र टोलहरुमा बिछ्याइएका साना ढल सञ्जालको अवस्थाबारे अध्ययन हुन नसकेको प्रवक्ता राई बताउँछन् । ती ढललाई जथाभावी ढंगले मूल प्रणालीमा जोडिएका छन् । स्थानीयबासिन्दाले आफूखुशी बनाएर चलाएका यस्ता प्रणालीमा पटक–पटक समस्या देखिने गरेको छ ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार ठमेल, असन, इन्द्रचोक, वसन्तपुर, पाटनलगायत भित्री शहरमा राणाकालदेखिकै ढल प्रणाली कायम छ । यी क्षेत्रमा पटक–पटक ढल जाम भएर नागरिकले सास्ती भोग्दै आएका छन् । त्यो प्रणालीले अहिलेको आवश्यकता धान्ने अवस्था छैन ।

अहिले त भित्री शहरका गल्ली र सडकमा पुराना इँटा निकालेर पिच गरिएका छन् । कतिपय ठाउँमा कंक्रिटले जोडेर ढुंगा बिछ्याइएका छन् । यसले सहरको मौलिकता त मास्यो, मास्यो, जल पुनर्भरण पनि ठप्प पारेको छ । यो अवस्थाले पानी पर्दा सडकमा भल बग्ने समस्या बढाएको छ ।

योजनाबद्ध कामको खाँचो

पुरानो मात्रै हैन, नयाँ बनेका र बन्दै गरेका ढल प्रणालीलाई व्यवस्थित बनाउन कुनै निकायले चासो दिएको छैन । पुराना प्रणालीको क्षमता विस्तार गर्ने योजना त अहिलेसम्म बनेकै छैन ।

२०७७ चैतमा मेलम्चीको पानी काठमाडौं आएपछि धेरै ठाउँमा ढल फुटेका थिए । शहरको ढल प्रणालीले पानीको ठूलो चाप थेग्न नसक्ने त्यतिबेलै देखिएको थियो । तर, सरकारले त्यसमा सुधारको चासो दिएन ।

ढलको समस्या बढ्नुमा नदी सतह पनि कारण बनेका छन् । काठमाडौंका नदीहरुमा ढलका पाइपहरु सिधै जोडिएका छन् । नदीमा पानीको सतह बढ्नासाथ ढल खस्ने मुखमा पर्ने चापले पनि समस्या हुने गरेको केयूकेएलका प्रवक्ता राई बताउँछन् ।

काठमाडौंमा पानी परेपछि होचा स्थानमा ढलको समस्या बढी देखिन्छ । पानी सुस्तरी बग्ने क्षेत्रमा ढल जमेर डुबानकै समस्या पनि निम्तिने गरेको छ । नदीको सतहभन्दा होचा स्थानमा रहेका बस्तीमा हुनसक्ने जोखिमलाई न्यून गर्न अध्ययन गरेर काम थाल्नुपर्ने भए पनि कसैले चासो दिएको छैन ।

‘उपत्यकाको धेरैजसो ढल प्रणाली विना इन्जिनियरिङ काम चलाउन खोलातर्फ सोझ्याएर बिछ्याइएका हुन्’, पूर्वाधारविज्ञ सूर्यराज आचार्य भन्छन्, ‘यसकारण कतिपय ठाउँमा ढलहरू बोटलनेक भएका छन् । त्यस्तोमा बढी थपिंदा समस्या हुन्छ नै । अध्ययनमा आधारित योजनाबद्ध ‘युटिलिटी करिडोर’ नबनेसम्म ढलसम्बन्धी समस्या बढ्दै जान्छ ।’

समयमै ढल प्रणालीको वैज्ञानिक व्यवस्थापन नगरिए विकराल अवस्था आउने उनी बताउँछन् । ‘भूमिगत ढललाई विना रोकावट प्रशोधन केन्द्रसम्म नपुर्‍याए सामाजिक र वातावरणीय हिसाबले अनेकन् चुनौती थपिन्छन्’ उनी भन्छन्, ‘ढल व्यवस्थापनको पुरानो कार्यशैली नै समस्या हो ।’

ढल व्यवस्थापनविज्ञ भण्डारी पानीको बाटो रोकिंदा सडकदेखि घरीसम्म बाढी पसिरहेको बताउँछन् । ‘पानीको बाटोमा हामीले अनेक गल्ती–कमजोरी गरेर अवरोध गरेका छौं,’ उनी भन्छन्, ‘बाटो रोकिए पानी कि जमेर बस्छ कि त आपैंm बाटो खोल्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?