+
+

लिग टु क्रिकेट: ब्याटिङमा नेपालको संघर्ष उस्तै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १७:०५

२७ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भयो ।

पहिलो खेलमा घरेलु टोली अमेरिकासँग फराकिलो हार बेहोरेको ओमानले नेपाल विरुद्ध रोमाञ्चक जित निकाल्दै लिग टूमा शीर्ष तीनमा पर्ने सम्भावना बलियो बनाएको छ ।

ओमानका कप्तान जिसन मक्सुद ब्याट र बल दुवैमा चम्कँदा नेपालले भने फेरि ब्याटिङमै संघर्ष गर्नुपर्‍यो ।

नेपालका लागि करण केसीले ५ विकेट लिनु र आरिफ शेखले अर्धशतक बनाउनु बाहेक उल्लेख्य पक्ष केही रहेन । सुनिल धमलाले ५ वर्षपछि राष्ट्रिय टिममा फर्केर एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न व्यक्तिगत उनका लागि उपलब्धि रह्यो ।

ओमानले ५० ओभरको खेल खेल्ने शैलीलाई राम्रोसँग बुझ्यो । नेपालको प्रदर्शन भने तलमाथि भइरह्यो ।

करण केसीले ५ विकेट लिए पनि कप्तान मक्सुदले अविजित शतकमा ओमानले २११ रन बनाएको थियो । नेपालको लागि यो लक्ष्य उति ठूलो नरहे पनि ब्याटिङमा एकरुपको प्रदर्शन गर्न नसक्दा २ अंक जोड्नबाट चुक्यो ।

लिग टू मा सबैभन्दा थोरै खेल खेल्ने टिमको रुपमा रहेको नेपाल १३ खेलबाट १२ अंकसहित सात टिममध्ये छैटौं स्थानमा छ ।

ब्याटिङमा फेरबदल हुनुको असर

पछिल्लो समय आसिफ शेख र कुशल भुर्तेल नेपालको नियमित ओपनिङ जोडीको रुपमा थिए । पछिल्लो एक वर्ष यो जोडीले टी–२० देखि एकदिवशीय अन्तर्राष्ट्रियसम्म डेब्यु गर्दै नेपालको व्याटिङ विशेष गरी ओपनिङमा ठूलो आशा देखाएका थिए ।

लिग टू अघि अभ्यास खेल र अभ्यासका क्रममा दुवै खेलाडी घाइते हुनु नेपालको लागि दुःखद बन्यो । आसिफ घुँडा र कुशल ह्याम्सट्रिङ समस्याका कारण ओमान विरुद्धको खेल खेल्ने सक्ने अवस्थामा नभएपछि नेपालले ओपनर विकेटकिपर सुवास खकुरेलले अमेरिका झिकायो ।

नेपालको ओपनिङ जोडी र ब्याटिङ शैली परिवर्तन भयो । पछिल्लो समय राष्ट्रिय टिममा नियमित नरहेका र २०१७ पछि राष्ट्रिय टिममा पर्केका सुनील धमलाको ओपनिङ जोडीले नेपाललाई राम्रो सुरुवात दिलाउन सकेनन् ।

लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो गर्न सकेन र कुनै पनि बेला लामो साझेदारी गर्न सकेन । आरिफ शेख र विनोद भण्डारीले छैटौं विकेटका लागि गरेको ३७ रनको साझेदारी नै नेपालको लागि ठूलो साझेदारी बन्यो ।

अन्तिम समयमा टिममा जोडिएका सुवासले दुई वर्षपछि राष्ट्रिय राष्ट्रिय टिममा पुनरागमन सुखद हुन सकेन । उनी व्यक्तिगत ३ रनमै आउट भए । यस्तै डेब्युटेन्ट सुनील धमलाले ३८ बल खेल्दा १२ रन बनाएर आउट भए ।

देव खनाल र उपकप्तान रोहित कुमार पौडेलले राम्रो प्रयास गरे पनि लामो इनिङ खेल्न सकेनन् । देवले ३४ र रोहितले २० रन जोडे । ७१ रन हुँदा तेस्रो विकेट गुमेपछि नेपालले कुनै पनि बेला पुनरागमन गर्न सकेन ।

आरिफ शेखले सम्हालिएर ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् । उनले ७९ बल खेल्दै ६ चौका मद्दतमा ६६ रन बनाए । उनले टिममेटबाट गतिलो साथ पाउन सकेनन् । विशेषगरी विनोद भण्डारीसँग साझेदारी बनेपनि रनरेट सुस्त थियो । विनोदले ४६ बल खेलेर जम्मा १४ रन बनाए ।

दीपेन्द्र सिंह ओरीले ३० बलमा १६ रन बनाए । सोमपाल कामीले १३, करण केसीले ८ र कप्तान सन्दीप लामिछानेले २ रन जोडे । करण र सोमपाल यसअघि नेपालको लागि अन्तिममा रेस्कयु गर्ने खअलाडीको रुपमा चिनिएपनि यस पछि सफल हुन सकेनन् ।

नेपाललाई जितका लागि अन्तिम ५ ओभरमा ४५ रन आवश्यक थियो । अन्तिम ओभरमा जितका लागि नेपाललाई १४ रन आवश्यक थियो ।

तर बिलालन खानले बलिङ गरेको उक्त ओभरमा आरिफले सुरुवाती तीन बलमा रन जवड्न सकेनन् भने चौथो बलमा एबलीडब्लु धरापमा परे ।

‌ओमानले अन्तिम ओभरमा १३ रन नै जोडेको थियो तर नेपालले १ रन पनि जोड्न सकेन ।

मक्सुदले पारेको फरक

ओमानका कप्तान जिसन मक्सुदले इनिङको दोस्रो अन्तिम बलमा करण केसीलाई चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरेका थिए भने अन्तिम बलमा पनि चौका प्रहार गरे ।

टिमको स्कोर २६–२ हुँदा क्रिजमा पुगेका मक्सुदले अन्तिमसम्म सम्हालिएर ब्याटिङ गर्दै ओमानलाई दुईसय रनको आँकडा पूरा गरे । उनले १२६ बल खेल्दै १२ चौमा मद्दतमा अविजित १०४ रन बनाए ।

व्याटिङमा शतक बनाएपछि उनले बलिङमा पनि आफ्नो प्रभाव छाडे । उनले १० ओभरमा ३७ रन मात्र खर्चेर ३ विकेट लिए । मक्सुद खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

आईसीसी एसोसिएट प्लेअर अफ दी इअर अवार्ड विजेता मक्सुदले ५५–४ बाट आफ्नो टिमलाई २११–८ को अवस्थामा पुर्‍याएका थिए र अन्तिममा त्यो स्कोर रक्षा गर्न ओमान सफल भयो । अर्को छेउबाट आफ्नो पार्टरन विकेट गुमाइरहँदा उनले संयमित भएर ब्याटिङ गरे । कभर र पोइन्ट क्षेत्रमा राम्रो गर्ने मक्सुदको अनुभव काम लाग्यो ।

मक्सुद बाहेक ओमानका लागि खावर अलीले ३० र सोएब खानले २७ रन जोडे ।

नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । उनी टी २० र एकदिवशीय अन्तर्राष्ट्रिय दुवैमा एकै खेलमा ५ विकेट लिने नेपाली बलर समेत बने ।

अमेरिकासँग खेल कस्तो होला ?

यस शृंखलाअघि अमेरिकाले घरेलु मैदानमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणात्मक शृंखला खेलेको थियो । त्यसमा अमेरिकाले दुवै टिमलाई १–१ पटक पराजित गरेको थियो ।

त्यस शृंखला र यस शृंखलाको पहिलो खेलमा अमेरिकाले ३ सय रन बनाएको थियो । घरेलु मैदानमा अभ्यस्त अमेरिकासँग नेपालका लागि चुनौती भने पक्कै छ ।

पहिलो खेलमा मोनक पटेलको टिमले ओमानलाई ११४ रनले पराजित गरेको थियो । त्यसमा मोनाक र शुसान्त मोदानीले शतक प्रहार गर्दा अली खानले ५ विकेट लिएका थिए ।

यस बाहेक स्टेभेन टेलर, आरोन जोन्स जस्ता खेलाडीले अमेरिकन टिम सन्तुलित बनेको छ ।

पहिलो खेलमा ओमानलाई हराएको अमेरिकासँग नेपालले कस्तो खेल्ला ? शनिवारसम्म कुर्नुपर्नेछ । नेपाल र अमेरिकाबीच खेल शुक्रबार राती नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ ।

नेपाल लिग टू अन्तर्गत नै पछिल्लो शृंखलामा अमेरिकासँग २०२१ सेप्टेम्बरमा ओमानमा खेलेको पछिल्लो खेलमा ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिका ३० ओभरभित्र पूरा गर्दा स्टेभेन टेलरले ९२ र मोनाक पटेलले अविजित ३८ रन बनाएका थिए । त्यस खेल खेलेका अधिकांश खेलाडी अहिले पनि नेपाली टिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?