+
+

‘सामान्य शंकाबाटै पारिवारिक विग्रह सुरु हुन्छ’

वैदेशिक रोजगारीमा शंकाबाटै विग्रह सुरु हुने हो । श्रीमान्ले पैसा पठाइरहेको छु भन्ने मात्रै होइन कि, श्रीमतीले परिवार धानिरहेकी छन् भन्ने पनि बुझ्नुपर्छ । वैदेशिक रोजगारीमा जानु बाध्यता हो भन्ने बुझेर दुवैले सम्बन्धमा असमझदारी आउन दिनुहुँदैन ।

गोपाल ढकाल, मनोविद् गोपाल ढकाल, मनोविद्
२०७९ जेठ ३० गते १९:४६

एउटा पुरुष वैदेशिक रोजगारीमा गइसकेपछि महिलालाई समाजले नै शंकाको दृष्टिकोणले हेर्छ । श्रीमान् वा पुरुष सदस्य वैदेशिक रोजगारीमा जाँदा समग्र परिवारको दायित्व श्रीमतीकहाँ सरेको हुन्छ । त्यसवेला उल्टै उनलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्दा तनाव र नैराश्य बढेर जान्छ ।

आफूलाई माया गर्ने मान्छे टाढा गएको हुन्छ । तर विदेशमा गएका श्रीमान्ले पनि शंकाको दृष्टिकोणले हेर्न थालेपछि महिलालाई ‘डिप्रेसन’ र ‘एन्जाइटी’ जस्ता मानसिक समस्या पनि देखिन थालेका छन् ।

म कहाँ आएको एउटा घटना नै हेरौं न । एक जना महिलाका श्रीमान्ले आफू विदेश गएपछि श्रीमतीप्रति शंका गरे । त्यसपछि भित्री कुरा बुझ्नलाई फेसबुकमा श्रीमतीको नाममा फेक अकाउन्ट खोले । जुन कुरा श्रीमतीलाई थाहा थिएन, विस्तारै त्यो अकाउन्टमा महिलाका चिनजानका साथीहरू ‘एड’ हुन थाले ।

त्यसक्रममा श्रीमतीको एकजना केटा साथी पनि जोडियो । अनि, श्रीमती भएर उनले च्याटिङ गर्दैै जाँदा अन्तरंग कुरा पनि हुन थाले । श्रीमान्ले यही कुरालाई लिएर श्रीमतीलाई ‘टर्चर’ गर्न थालेपछि उनमा मानसिक समस्या सुरु भयो । अझ श्रीमान्ले पैसा पठाउन पनि छाडेपछि त उनी मानसिक रूपमा झनै विक्षिप्त भइन् । पछि उनकी दिदीले परामर्शका लागि हामीकहाँ ल्याएकी थिइन् ।

अर्को घटनामा एकजना बच्चा पनि मानसिक समस्यामा परेका थिए । सुदूरपश्चिमको कुरा हो । वैदेशिक रोजगारीका लागि विदेश गएका वेला उनी कार्यरत कम्पनीमा एकजना महिलासँग निकट सम्बन्ध भयो । एउटै कम्पनीमा काम गर्ने र निरन्तर भेट हुने भएपछि उनीहरूबीच विस्तारै शारीरिक सम्बन्ध पनि भयो ।

तर, महिलासँग सम्बन्ध भएपछि ती पुरुषलाई महिलाहरू शारीरिक सम्बन्धका लागि तुरुन्तै तयार हुँदा रहेछन् भन्ने लाग्यो । त्यसपछि नेपालमा रहेकी श्रीमतीप्रति पनि उनले शंका गर्न थाले । त्यसपछि उनले श्रीमतीलाई कम समय दिन थाले । जबकि, उनलाई विदेश पठाउने वेला तिनै श्रीमतीले आफ्नो गहना बेचेकी थिइन् ।

विदेशमा महिलासँग सम्बन्ध भइसकेपछि उनको महिलालाई हेर्ने दृष्टिकोण नै बदलियो । श्रीमान्–श्रीमती बीच बोलचाल कम हुँदै गयो । नेपाल फर्किएपछि त्यो कम्पनीमा चिनजान भएकी ती महिला पनि सँगै आइन् । उनले विवाह गरेर फर्किन पुरुषलाई दबाव दिइन् । तर पुरुषको ९ वर्षको बच्चा पनि थियो, बिहे पनि कसरी गर्नु भन्ने भयो । तर विदेशमा सम्बन्धमा बसेकाले छाड्ने अवस्था पनि भएन । त्यसपछि गाउँ जान समस्या भएकाले उनी काठमाडौंमै बसे ।

हामीकहाँ आइपुगेपछि उनले जेठीले लगानी गरेर विदेश पठाएको पनि सम्झिए । छोरालाई भेट्न पाए हुन्थ्यो भन्ने पनि लागिरहेको बताए । यहाँ परामर्शपछि उनीहरूको परिवारसँग पनि कुराकानी भयो । त्यसपछि छोराले पनि बुवालाई एकदम धेरै मिस गरेको रहेछ । उसले एक्लोपन महसुस गरेको रहेछ । आमालाई सधैं बुवा कहिले आउनुहुन्छ भनेर सोध्ने गरेको रहेछ ।

तर आमाबुवाबीच तनाव रहेको कुरा थाहा पाएपछि बच्चामा पनि निराशा बढेको रहेछ । उसमा पढाइमा ध्यान नदिने, एकोहोरो हुने जस्ता समस्या देखिएका थिए । यसले आमाबुवाको तनावले बालबच्चालाई पनि कसरी असर गर्छ भन्ने देखाउँछ ।

वैदेशिक रोजगारीमा गइसकेपछि त्यसले समग्र परिवारलाई नै असर गर्छ । महिलासँगै बालबालिकामा मानसिक समस्या पनि देखिएका छन् । मैले वैदेशिक रोजगारीमा जाने घरपरिवारका धेरैजसो महिलामा मानसिक समस्या देखेको छु ।

पुरुष सदस्य नेपालबाहिर जाँदा जिम्मेवारी बढ्नु, घरपरिवार समाजले हेर्ने दृष्टिकोण फरक हुनुले पनि महिलामा यस्तो अवस्था सिर्जना भएको हुनसक्छ । सँगै एउटा महिलाले सधैं आफ्नो पुरुषको साथ–सहयोग खोजिरहेको हुन्छ, त्यो पाउन सक्दैनन् । त्यहाँ मायाको पनि अभाव हुन्छ ।

मायाको कुरा गरिरहँदा पुरुषलाई मात्र घरपरिवारको यादले सताउने होइन कि महिलालाई पनि श्रीमान्को यादले सताउँछ । सँगसँगै त्यससँग जोडिएका बालबालिकामा असर गर्छ । बालबालिकाका लागि आमाबुवा दुवै उत्तिकै महत्वपूर्ण हुन्छन् । परिवारको एकजना सदस्य टाढिएपछि त्यसले स्वाभाविक रूपमा बालबालिकामा असर गर्छ ।

एउटा परिवारको पुरुष सदस्य नेपाल छाडेर बाहिर गइसकेपछि परिवारमा अलिकति ‘कन्ट्रोल’ पनि नहुने रहेछ । बुवाले परिवारलाई जति कन्ट्रोल गर्नुहुन्थ्यो, त्यति कन्ट्रोल नहुँदा बालबालिका कुलत र गलत बाटोमा लाग्ने गरेको देखिएको छ । पढाइमा ध्यान नदिने गरेको पनि देखियो ।

समग्रमा एउटा पुरुष वैदेशिक रोजगारीमा गइसकेपछि त्यसले समग्र परिवार र बालबच्चाको जिन्दगीमा प्रभाव पार्छ । त्यससँगै सुरुवातमा परिवारको आर्थिक स्रोत कम हुनेभयो । राम्रो आम्दानी भइरहे, विस्तारै परिवार आर्थिक रूपमा मजबुत हुँदै जान्छ । तर, राम्रो आम्दानी हुन नसकेको अवस्थामा वा श्रीमान्ले बाहिरबाट पैसा नपठाएको अवस्थामा परिवारमा समस्या झन् बढेर जान्छ ।

परिवारको महिला सदस्यलाई मायाको अभाव हुँदा परपुरुषसँग सम्बन्ध बनाउने गरेको पनि देखिन्छ । अहिले बिहे गर्ने वित्तिकै वैदेशिक रोजगारीमा जाने चलन छ । सम्बन्ध बलियो नभई टाढा जाँदा स्वदेशमा रहने महिलाले पनि माया खोज्छे, सहारा खोज्छे ।

तर टाढा रहेका श्रीमान्ले उसलाई माया त के समय दिन पनि नसक्दा अर्को पुरुष जसले उसलाई समय दिन्छ, त्यतातिर नजिकिने गरेको पनि देखिन्छ । यसले नेपाली समाजका घरपरिवारमा विग्रह ल्याउने गरेको छ ।

अर्कोतर्फ विदेश गइसकेपछि पुरुषले आफ्नो श्रीमतीलाई शंकाको दृष्टिकोणले हेरिहाल्ने हुँदा तनाव सिर्जना हुने गरेको छ । आफ्नै श्रीमान्ले पनि शंका गरिदिने र समाजले पनि फरक दृष्टिकोणले हेर्दा उनमा नैराश्यता बढेर जान्छ ।

पुरुष विदेश गइसकेको अवस्थामा जिम्मेवारी वहन गर्नुपर्ने जिम्मेवारी महिलाको बाँधमा आउँछ । छोराछोरी र घरपरिवार रेखदेखको जिम्मा सबै महिलामा आइपुग्छ । तर, आफूलाई माया गर्ने मान्छेले पनि ती महिलालाई बुझ्न नसक्दा समस्या झन् बढ्ने गरेको छ । यही कारण कतिपय महिला डिप्रेसनमा पनि गएका छन् ।

यौन भनेको महिला र पुरुष दुवैका लागि आवश्यकता हो । परिवारका कुनै एक सदस्य बाहिर भएपछि त्यसको परिपूर्ति हुँदैन । यस्ता कुराले गर्दा श्रीमान् र श्रीमतीबीच असमझदारी बढ्छ । ‘कम्युनिकेसन ग्याप’ हुन्छ र त्यसले शंका उब्जाउँछ, पारिवारिक कलह ल्याउँछ ।

श्रीमान् अथवा छोरा विदेश गइसकेपछि सासू र ससुराले महिलालाई पनि फरक दृष्टिकोणले हेर्ने, पहिले भन्दा फरक व्यवहार गर्ने गरेकाले पनि पारिवारिक झमेला बढ्छ । यस्तो समस्या हल गर्न महिला, पुरुष, परिवार र समाज सबैको उत्तिकै भूमिका हुन्छ ।

जसरी श्रीमान् वा पुरुष वैदेशिक रोजगारीमा गइसकेपछि उसलाई पनि ‘होम सिक’ भइरहेको हुन्छ, श्रीमतीलाई पनि त्यस्तै समस्या भइरहेको हुन्छ । अझ महिलालाई बढी समस्या हुन्छ भन्ने कुरा पुरुषले बुझ्नुपर्छ ।

श्रीमतीले पनि सामान्य कुरामा शंका गर्नुभएन । पैसा चाँडो पठाइदिएन वा कम पठाइदियो भन्ने जस्तो कुराले पनि शंका बढाइरहेको हुन्छ । तर यस्ता कुराहरूबारे विदेश जानुअघि नै पनि खुलेर दुईबीच कुरा गर्नुपर्छ । विदेश गइसकेको अवस्था पनि सकभर दुवै पक्षले ‘कम्युनिकेसन ग्याप’ हुन दिनुहुँदैन ।
वैदेशिक रोजगारीमा जानु बाध्यता हो भन्ने सबैले बुझ्नुपर्छ, दुवैले सम्बन्धमा असमझदारी आउन दिनुहुँदैन ।

राज्य वा स्थानीय सरकारले पनि वैदेशिक रोजगारीमा जानुअघि दुवैतर्फ परिवारका सदस्यलाई राखेर परिवारको सम्बन्धलाई कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल गराएर विश्वासको वातावरण बनाउने थिति बसाले उपयुक्त हुन्छ । यस्ता विषयमा समय–समयमा बहस र छलफल चलाउनु आवश्यक हुन्छ ।

वैदेशिक रोजगारीमा गइसकेपछि शंकाबाटै विग्रह सुरु हुने हो । श्रीमान्ले मैले पैसा पठाइरहेको छु भन्ने मात्रै सोच्ने होइन कि मेरो अनुपस्थितिमा श्रीमतीले परिवार धानिरहेकी छन् भन्ने पनि सोच्नुपर्छ । दुवै पक्ष यस्तो मामलामा इमानदार र अनुशासित हुनु जरूरी छ, परिवारमा विग्रह ल्याउन नदिने दायित्व श्रीमान्, श्रीमती दुवैको हो ।

(मानसिक एवं मनोसामाजिक स्वास्थ्य राष्ट्रिय अभियान–नेपालका संयोजक ढकालसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?