+
+

अमेरिकी अधिकारीको भेट पारदर्शी छ, खुफिया प्रमुखले रातारात भेटेजस्तो छैन : राजभण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १०:५२

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय ‘रअ’ प्रमुखलाई रातिको समयमा बालुवाटारमा भेटेको जस्तो वर्तमान सरकारले कसैलाई नभेटेको दाबी गरेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरुले अमेरिकी अधिकारीहरु नेपाल आएर शीर्ष नेताहरुलाई भेटघाट गरेको विषयमा प्रश्न उठाएपछि राजभण्डारीले सो जवाफ दिएका हुन् । उनले भने, ‘अमेरिकी अधिकारी नेपाल आएको पारदर्शी छ । रातारात खुफिया प्रमुखले हेड अफ दि स्टेटलाई आएर भेटेको जस्तो छैन । सबै पारदर्शी छ, यसबारे अनावश्यक आशंका गरिरहन पर्दैन ।’

उनले आगामी असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने सुनेको बताउँदै यो सामान्य प्रक्रिया भएको बताए । ‘यो नर्मल प्रोसेस हो,’ उनले भने ।

नेपालमा अमेरिकाका ५ हजार सेना गुप्त रुपमा बसेको भन्ने एमाले सांसद मोहन बानियाँको जिकीरबारे उनले भने, ‘कुन देशको कति इन्टेलिजेन्स छ, यो हामीले सबै सेक्टरमा हेर्नुपर्छ । व्यापारको नाममा आएको अरु सेक्टर पनि हेर्नुपर्छ । एउटा सेक्टरमा मात्रै चार्ज गर्न हुँदैन ।’

रुस–युक्रेन युद्धमा नेपालले युक्रेनको पक्षमा बोलेर हतार गरेको भन्ने एमाले सांसदहरुको धारणाको पनि उनले प्रष्टीकरण दिए । उनले भने, ‘युक्रेनबारे नेपालको टिप्पणी मानवीयताको कुरा हो । युद्धको पक्षमा नेपाल रहन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?