+
+

कहिले होला कांग्रेसको नीति महाधिवेशन ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ ३० गते १८:१८

३० जेठ, काठमाडौं । गत कात्तिकको अन्तिम साता बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नेतृत्व र नीति महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय गरेको थियो ।

नेतृत्व चयनसँग नीति महाधिवशेन छुट्याउने विषयमा कांग्रेसमा मतभेदका स्वर खासै सुनिएको पनि थिएन । तर नेतृत्व चयनको महाधिवशेन भएको ६ महिना बितिसक्दासमेत कांग्रेसले नीति महाधिवेशनको पहल थालेको छैन ।

१३ औं महाधिवेशनसम्म नेतृत्व र नीतिको लागि एउटै महाधिवेशन गरेको कांग्रेसले १४ औं देखि फरक–फरक महाधिवेशन गर्ने नीति लिएको हो । महाधिवेशनमा पेश गरिने नीति तथा कार्यक्रम, सांगठनिक र राजनीतिक प्रतिवेदनमा बहस हुनुको साटो नेतृत्व चयनमा मात्रै महाधिवेशन केन्द्रित भएपछि नयाँ बाटो अपनाइएको थियो ।

नयाँ कार्यसमितिले पाँच वर्षका लागि लिने कार्यदिशामा गहन छलफल हुनुको साटो नेतृत्व चयनमा मात्रै नेतादेखि प्रतिनिधि केन्द्रित हुँदा कांग्रेसमा नीतिको बहस प्राथमिकतामा परेको थिएन । नीति महाधिवेशनमा पार्टी नीतिगत बहसलाई प्राथमिकतामा राख्न लागि छुट्टै महाधिवेशन गर्ने भनिए पनि त्यसको सुरसार भएको छैन ।

नीति महाधिवेशन हुनेमै संशय

१४ औं महाधिवेशनको क्रममा नेताहरुले ६ महिनापछि नीति महाधिवेशन हुने अभिव्यक्ति दिएका थिए ।

नीति महाधिवेशन गर्नुअघि नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन हुनुपर्छ । उक्त प्रतिष्ठान गठन पश्चात् मात्रै नीति माथिको बहस सुरु हुन्छ । १४ औं महाधिवेशनअघिसम्म उक्त प्रतिष्ठानको प्रमुखमा तत्कालीन उपसभापति विमलेन्द्र निधि र कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाल थिए । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि प्रतिष्ठान गठनको विषयले औपचारिक रुपमा पार्टीमा प्रवेश पाएको छैन ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिष्ठान गठन पछि नीति महाधिवेशनको मिति तोकिने बताउँछन् । ‘सबै जिल्लाको समन्वय समितिको गठन सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ,’ शर्माले अनलाइनखबरसँग भने, ‘चुनावको समीक्षा, विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, आगामी चुनावको रणनीति, नीति महाधिवशेन लगायतमा खुला छलफल हुन्छ ।’

महामन्त्री शर्माले भदौ मसान्तसम्ममा नीति महाधिवेशन गर्न सकिने विश्वास व्यक्त गरे ।

पहिलोपटक नीति महाधिवेशन गर्न लागिएकाले कुन विधि अबलम्बन गर्ने भन्नेमा पार्टी भित्र अन्योल कायमै छ । महाधिवेशन प्रतिनिधिलाई नै सहभागी गराउने कि उक्त संख्या घटाउने बारेमा समेत कुनै विधि तय भइसकेको छैन ।

नीति माथिको बहस तल्लो संरचनामा गरिने पद्धति समेत निक्र्यौल हुन सकेको छैन । नीति महाधिवेशन कुन पद्धति, सहभागी संख्या र कहिले गर्ने केन्द्रीय समितिबाटै टुंगो लगाउनुपर्ने हुन्छ ।

१४ औं महाधिवेशनका प्रतिनिधिको संख्या बराबर नीति महाधिवशेनमा सहभागीको आवश्यकता नरहेको एक केन्द्रीय सदस्य बताउँछन् । ‘नेतृत्व चयन गर्दा सहभागी भए अनुसारकै सहभागी हुनुपर्दैन । नेतृत्व चयनका लागि जस्तै सबै प्रतिनिधि नीति महाधिवेशनमा अपरिहार्य हुँदैन’, ती केन्द्रीय सदस्यले भने, ‘सहभागी घटाउनका लागि विधानका केही धारा निलम्बन गर्ने र त्यसलाई नीति महाधिवेशनले अनुमोदन गर्ने गरि केन्द्रीय समितिले निर्णय गर्नसक्छ ।’ १४ औं महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि चयन भएका थिए ।

यसवर्ष महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्न सकिने विकल्प समेत कांग्रेसमा उठेको छ । कांग्रेस विधानअनुसार महाधिवेशन नभएको वर्षबाहेक सबै सालमा महासमिति बैठक बोलाउनुपर्दछ । महासमिति बैठक पनि यसवर्ष बोलाउनुपर्ने भएकाले त्यसैलाई नीति महाधिवेशन गराउन सकिने ती नेताले बताए ।

महाधिवेशनमा नीति प्रस्तुत हुने र त्यसलाई पारित गर्ने क्रम कर्मकाण्डी भएकाले कार्यदिशामा थप बहस गर्न कांग्रेसले नीति महाधिवेशनको बाटो अपनाएको थियो । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नीति महाधिवेशन नहुने ठोकुवा गर्छन् ।

‘महाधिवेशनमा प्रस्तुत नीतिको आधारमा नै नेतृत्व चयन गरिनुपर्ने हो । महाधिवेशनमा प्रस्तुत नीति हेरेर नै नेतृत्व छनोट हुनुपर्ने हो’, पौडेलले भने, ‘नेतृत्व चयन गर्ने क्रममा नभएको नीति अब कहाँबाट आउँछ ? गर्न भनेर यो निर्णय गरेकै होइनन् ।’

नीतिप्रति प्रतिवद्ध भएको भए १४ औं महाधिवेशनकै क्रममा प्रस्तुत हुनुपर्ने पौडेलको तर्क छ । ‘नीति नै नभई नेतृत्व हुन पाएपछि कसले नीति महाधिवेशन गर्छ ? नीति प्रधान बनाउन पार्टी बनाउन खोजिएकै थिएन,’ पौडेलले भने, ‘व्यक्ति प्रधान बनाउन खोजिएको थियो । नीति प्रधान पार्टी बनाउन नखोजेर त्यसलाई डाइभर्ट गरी नीति महाधिवेशन पछि गर्ने भनियोे ।’

महाधिवेशन अघि गगन -विश्वको भनाइ के थियो ?

पार्टीलाई थप गतिशील बनाउनका साथै विचार प्रधान बहस गर्नका लािग नीति महाधिवेशन गर्ने नीति बनाइएको थियो । पार्टी नीतिमुखी नभई नेतामुखी भएको आलोचना हुँदै आएपछि फरक बाटो अपनाइएको तत्कालीन समयमा प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माले बताएका थिए ।

‘महाधिवेशनमा खासगरी नेतृत्व चयनमा बढी केन्द्रित हुने गरेको छ । नीति र कार्यक्रमका विषयमा कम भएको भनि बहस हुँदै आएकै थियो’, कात्तिक २८ गते केन्द्रीय समितिको निर्णयको क्रममा शर्माले भनेका थिए, ‘नीतिमा जे बहस हुनुपर्ने थियो, त्यो कम भएकोलाई स्वभाविक लिन सकिन्छ । १४ औं महाधिवेशनमा नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय भएको छ ।’

विजयी सभापति अनुसारको नीति प्रस्ताव तथा पारित गर्नका लागि नै नयाँ विकल्प ल्याइएको नेताहरु बताउँछन् । नेतृत्व र नीति महाधिवेशन गर्दैगर्दा पुरानो कार्यसमितिले ल्याएको नीतिलाई नयाँ कार्यसमितिले कार्यान्वयन गर्नुपर्ने अवस्था थियो । जुन व्यक्ति नेतृत्वमा आउँछ, उसैको नीति लागु हुने गरि प्रस्ताव पारित हुनेछ ।

नीति प्रस्तुत गर्ने सभापति पुनः दोहोरिने निश्चित पनि नहुने तथा नयाँ सभापतिले आफूले कार्यान्वयन गर्ने नीति ल्याउँदा त्यसले पार्टीलाई थप उर्जा प्रदान गर्ने विश्वास पनि थियो । नीति प्रस्तुतकर्ता र त्यसको लागू गर्ने फरक फरक व्यक्ति हुँदा कार्यान्वयनमा संशय थियो ।

नीति र नेतृत्व महाधिवेशन फरक फरक गर्न पर्नुको कारणबारे महाधिवेशन अघि हालका महामन्त्री गगन थापाले भनेका थिए, ‘पार्टीमा बहालवाला कार्यसमितिले प्रस्ताव प्रस्तुत गरेर लिएर आउँछ । पाँच वर्षको लागि पारित प्रस्ताव कार्यदिशा हुन्छ । प्रस्ताव ल्याउने सभापति नै पराजित हुने सम्भावना पनि रहन्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?