+
+

एमालेको चुनावी समीक्षा : देशको प्रमुख शक्तिका रुपमा स्थापित भयौं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:५१

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय निर्वाचनको परिणाम अपेक्षा अनुसार नभएको बताएको छ । तर जनमत तलमाथि नभएको भन्दै अहिले पनि देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको उसको निष्कर्ष छ ।

सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकले निर्वाचनको समीक्षा गर्दै कयौं ठाउँमा स्वस्थ, मर्यादित, स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष निकलेको छ । चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट निर्देशित भएर सत्ता गठबन्धनले राज्यसत्ताको दुरुपयोग गरेको भन्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रक्रियामा देखिएका विकृतिप्रति गहिरो चिन्ता छ ।’

सरकारले नै निर्वाचनको स्वच्छतालाई दूषित बनाउने काम गरेको भन्दै एमालेले दुःख व्यक्त गरेको छ ।

चुनावी परिणाम अपेक्षाअनुसार आएन

परिणामलाई भने दुई दृष्टिकोणबाट हेर्नुपर्ने एमालेले बताएको छ । पालिका प्रमुख र उपप्रमुखमा २०७४ भन्दा कमजोर भएको भन्दै उपमहासचिव ज्ञवालीले भने, ‘यो हाम्रा निम्ति अपेक्षित होइन ।’

२०७४ को स्थानीय चुनावमा २९४ पालिकाको प्रमुख जितेको एमाले यो चुनावमा २०५ मा खुम्चिएको छ । यसका केही बाह्य र केही आन्तरिक कारण भएको एमाले सचिवालय बैठकले निष्कर्ष छ । आफ्नाविरुद्ध गठबन्धन हुनु र त्यसले सत्ताको दुरुपयोग गर्नुलाई बाह्य कारण भनेको एमालेले समयमा उम्मेदवार चयन गर्न नसक्नु, आकांक्षीहरुको सही व्यवस्थापन नहुनु, निर्वाचन परिचालनमा कुशलता देखाउन नसक्नु जस्ता विषयलाई आन्तरिक कारण मानेको छ ।

केही ठाउँमा घात अन्तर्घात पनि भएको एमालेले बताएको छ । कुन घात अन्तर्घात हो ? कुन चाहिँ असमझदारी हो भन्ने छुट्याउने र प्रमाणित घात अन्तर्घातमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाही गर्ने बताएको छ ।

पपुलर भोटमा कांग्रेसभन्दा अगाडि

पालिका प्रमुख र उपप्रमुखको परिणाम अपेक्षित नभए पनि लोकप्रिय मत (पपुलर भोट) मा पहिलो भएको एमालेको निष्कर्ष छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र समग्र मत हेर्दा एमालेले ३४ प्रतिशत पपुलर भोट पाएको भन्दै एमालेले उपमहासचिव ज्ञवाली भन्छन्, ‘यावत घेराबन्दी, सत्ताको दुरुपयोगका बाबजुद एमाले देशको प्रमुख शक्ति हो भन्ने निर्वाचनबाट स्थापित भएको छ । यसप्रति हामी गर्व गर्छौं ।’

पछिल्ला चुनावहरुको भोटिङ प्याटर्न हेर्दा कांग्रेस र एमाले प्रमुख शक्ति देखिएको तर, पछिल्लो समय पपुलर भोट आफूहरुले धेरै पाएको एमालेले बताएको छ । ‘पपुलर भोटमा कांग्रेसभन्दा पहिलो शक्तिका रुपमा स्थापित हुँदै गरेको स्टेबल प्याटर्न हामीले देखेका छौं,’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यसैले जनमत तलमाथि भएको छैन । परिणाम चाहिँ अपेक्षा अनुरुप आएको छैन ।’

एमालेले अब आगामी मंसिरमा गरिनुपर्ने प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्ने बताएको छ ।

स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण

एमालेले स्थानीय तहमा चुनिएका प्रमुख र उप्रमुखलाई प्रशिक्षण समेत दिने भएको छ । सचिवालय बैठकले असार २ र ३ गते राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?