+
+

नारायणकाजी किन पुगे बालकोट ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते २१:१७

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजसँगै अलग भएका केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठबीच सोमबार भेटवार्ता भएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भयो । श्रेष्ठले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका छन् ।

वाम गठबन्धन कि विदेश नीतिबारे चासो ?

२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा खारेज गरेसँँगै ओली एमाले अध्यक्ष भए भने श्रेष्ठ माओवादी केन्द्रमा सक्रिय रहे । त्यसयता दुई नेताबीच एकाध पटक फोन सम्वाद भएको थियो भने एमसीसी पास गर्ने नगर्ने बहस चलेका बेला संसद भवन परिसरमा दुई दलका शीर्ष नेताहरुबीच सामूहिक भेटवार्ता भएको थियो । वान अन वान सम्वाद भने भएको थिएन ।

स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेका बेला एमालेले ३ जेठमा ९ महिना लामो संसद अवरोध अन्त्य गर्‍यो । संसद अवरोध अन्त्य गर्ने एमालेको कदमको स्वागत गर्ने क्रममा श्रेष्ठले वाम तालमेलको पक्षमा रहेको सन्देश दिए ।

‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका थिए, ‘राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भएपनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो । एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश,जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं ।’

त्यसको भोलिपल्ट राष्ट्रियसभा बैठकमा बोलेका श्रेष्ठले सच्चिएर आए एमालेसँग सहकार्य गर्न सकिने बताए । संसद विघटन गर्नु एमालेको प्रतिगमी कदम भएको तर, एक पटकको प्रतिगमनकारी शक्ति सधैको प्रतिगमनकारी नहुने उनको तर्क थियो । श्रेष्ठले भनेका थिए, ‘एकचोटी प्रतिगमनमा संलग्न भएको शक्ति सच्चिएर आयो भने, नयाँ ढंगले जाउ भनेर आत्मसमीक्षा गरेर तत्परता प्रदर्शन गर्‍यो भने नयाँ ढंगले जान सकिन्छ ।’

आफ्नो पार्टीभित्र र अरु दलका नेताहरुसँग पनि वाम गठबन्धनको पक्षमा मत राख्दै आएका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार भने एमाले अध्यक्ष ओलीलाई भेटे । भेटमा दुई नेताबीच मुलुकको समग्र परिस्थितिसँगै वाम आन्दोलनबारे छलफल भएको थियो । ‘राष्ट्रियताबारे इतिहासमा नभएको संकट देखा पर्‍यो, देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ, तर कुनै विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’

सोमबार विहान ओलीलाई भेटेका श्रेष्ठले दिउँसो एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटे । एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका नेपाललाई भेट्न श्रेष्ठ उनकै निवास कोटेश्वर पुगेका थिए । श्रेष्ठ, ‘देशको परिस्थितिको गम्भीरतापूर्वक विश्लेषण गर्न जरुरी भएको’ले संवादलाई अघि बढाएको बताउँछन् ।

देशको गम्भीर परिस्थिति भन्नुको अर्थ के हो भन्ने प्रश्नमा श्रेष्ठले तयारीमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला गर्न खोजिएको भनेर चर्चामा आएको ‘स्टेट्स पार्टनरसिप प्रोग्राम’तिर संकेत गरे । यसबारे गठबन्धनमा कुनै छलफल नभएको र यसले नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलन आउन लागेको त होइन भन्ने प्रश्न उब्जिएको श्रेष्ठले बताए । ‘गठबन्धनमा यसबारे छलफल भएको छैन,’ उनले भने, ‘कही नेपालको परराष्ट्र नीति र परराष्ट्र सम्बन्धमा विचलन आउन लागेको त होइन भन्ने गम्भीर प्रश्न पैदा भएको छ । त्यसमा हामी आफैं सरकारमा छौं । यसबारे गम्भीर छलफल गर्नुपर्‍यो भन्ने कुरा माधव कमरेडसँग राखेँ ।’

गठबन्धन सरकार साझा मान्यताका आधारमा चल्नुपर्छ भन्ने आफ्नो जोड रहेको श्रेष्ठले बताए । उनी भन्छन्, ‘गठबन्धन साझा मान्यताका आधारमा चल्नुपर्‍यो । राष्ट्रका हितमा केन्द्रित भएर साझा मान्यताका अधारमा चल्नुपर्‍यो भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?