+
+

विदेशमा ‘कबड्डी ४’ चल्दा ‘प्रकाश’लाई फाइदा, रिलिजअघि नै १ करोड नेट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १२:४१

काठमाडौं । विदेशमा ‘कबड्डी ४’ले राम्रो कमाइ गर्दा यसको प्रत्यक्ष फाइदा अर्को नेपाली फिल्म ‘प्रकाश’लाई देखिएको छ । सोमबारसम्म अमेरिका, अस्ट्रेलिया, युरोप र क्यानडाको प्रदर्शन अधिकार बिक्रीबापत फिल्मले ७५ लाख रुपैयाँ नेट कमाएको छ ।

मध्यपूर्व, दक्षिण कोरिया, जापान र बेलायतमा राइट बिक्री भएबापत फिल्मले ३० लाख रुपैयाँ नेट प्राप्त गर्नेछ । विदेशबाट मात्र फिल्मले राइट बिक्रीबापत १ करोड ५ लाख रुपैयाँ नेट कमाइ गर्नेछ ।

निर्माता महेन्द्र अधिकारीले राइट बिक्री भइसकेका उत्तर अमेरिकाका दुई मुलुकसहित युरोप र अस्ट्रेलियामा भदौ १० गते फिल्म नेपालसँगै प्रदर्शन हुने बताए । ‘हामी अन्य मुलुकमा समेत सेम डेट रिलिजको प्रयत्नमा छौं,’ अधिकारीले अनलाइनखबरलाई भने ।

‘कबड्डी ४ चल्दा हामीलाई प्रत्यक्ष फाइदा भयो । यसको क्रेडिट कबड्डीलाई नै जान्छ,’ अधिकारीले भने । ‘कबड्डी ४’ले विदेशमा कीर्तिमानी २ करोड १३ लाख रुपैयाँ नेट कमाइ गरेको थियो । तर ‘कबड्डी ४’को कुल ग्रस चाहिं १० करोड रुपैयाँ हुने प्रक्षेपण छ ।

प्रकाशको डिजिटल राइट ८० लाख रुपैयाँ नेटमा डीएआर मुभिजले खरिद गरिसकेको छ । डिजिटल राइट र विदेश राइटबापत दिनेश राउत निर्देशित फिल्मले १ करोड ८५ लाख नेट प्राप्त गर्ने देखिएको छ ।

फिल्मको कुल लगानी चाहिं प्रचारप्रसारसहित ३ करोड रुपैयाँ पुग्ने निर्माताको हिसाब छ । डिजिटल राइट र विदेश बिक्रीबापत फिल्मको आधा लगानी सुरक्षित भइसकेको छ । यस्तोमा फिल्ममाथि बक्स अफिसमा दबाब हुनेछैन ।

प्रदीप खड्का र दीया मास्के अभिनित सोसल ड्रामा फिल्म ‘प्रकश’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । सरकारी शिक्षक बन्न संघर्ष गर्ने जुम्लाको एक युवकको कथामा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?