+
+

‘कुकुरमाथि हुने हिंसामा सजायको व्यवस्था छ, तर प्रहरीले उजुरी लिंदैन’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ जेठ ३१ गते १८:१३

३१ जेठ, काठमाडौं । सडकमा अधिकांश कुकुर अंगभंग भएका भेटिन्छन् । सडकका कुकुरलाई मानिस गाडीले कुल्चने, कुट्ने, तातोपानी खन्याइदिने जस्ता यातना दिइरहेका छन् । बोल्न तथा प्रतिकार गर्न नसक्ने यस्ता जनावरलाई यातना दिनु अपराध हो ।

२०७५ सालभन्दा अघि यस विषयमा कुनै नियम कानुन बनेको थिएन । तर मुलुकी अपराध संहिता २०७५ भदौबाट लागु भएपछि भने यसलाई अपराधको रूपमा लिइन्छ । पशुपन्छीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म जेल सजाय र ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको वातावरण कानुन विज्ञ, अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् । कुकुरहरू माथि कुनै पनि प्रकारको दुर्व्यवहार भएको देख्यो भने यस्तो हिंसाको उजुरी प्रहरी कार्यालयमा गर्न सकिन्छ, प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ ।

नेपालभर नै यो समस्या बढ्दो छ । र, यस विषयमा केही संघसंस्था र मानिसले आवाज उठाएको कारणले नै पशुपन्छी सम्बन्धी नियम कानुन बन्यो । प्रहरीले यस्ता उजुरी सहजै दर्ता गर्न नमानेको थुप्रै उदाहरण छन् । धेरै प्रहरीलाई नै यो कानुनको बारेमा ज्ञान नभएको श्रेष्ठले बताए ।

सडक कुकुरलाई जिस्काउने, तर्साउने र लखेट्ने जस्ता व्यवहारलाई नियन्त्रण गर्नको लागि कुनै कानुन बनेको छैन । बनेको कानुन पनि लागु भएको छैन । मानिसलाई पशुपन्छीलाई दुर्व्यवहार गर्दा कानुनी सजायको व्यवस्था छ भनेर नै थाहा छैन ।

कुकुरलाई निर्दयी व्यवहार गर्ने, हत्या गर्ने, घाइते बनाउने जस्ता घटनामा अहिलेसम्म धेरै उजुरी नै परेको छैन । केही उजुरी परेको भए पनि त्यो अदालत सम्म नपुगेको उनले बताए । कुकुरको हत्या गरेको कारण खोटाङका चार जना व्यक्तिलाई समातेर जेल हालिएको विषय अदालतसम्म पनि पुगेको थियो । उनीहरू अहिले धरौटीमा छुटेका छन् ।

कोटेश्वरको एउटा मुद्दा त श्रेष्ठ आफैंले हेरेका थिए । एउटा बच्चालाई कुकुरले भुकेर लडायो भनेर त्यस बच्चाको अभिभावकले ६ तलामाथि लगेर कुकुरलाई कुटेर मारेका थिए । त्यस कुकुरलाई मारेपछि त्यसको बच्चा पनि आमालाई कुटेर मारेको देखेको कारण उसकै काखमा मर्‍यो । त्यो उजुरी गर्नको लागि उनी प्रहरीकहाँ जाँदा प्रहरीले जाहेरी लिन मानेन । कारण कुकुर कुटेर मार्ने व्यक्ति त्यस ठाउँको स्थानीय नेता रहेछन् ।

अधिकांश कुकुर कुनै न कुनै रूपमा घाइते भएका छन् । तर उनीहरूको पक्षमा आवाज उठाउने मानिस कमै छन् । केही संघसंस्था र सेल्टरहरूले त आवाज उठाएका छन्, तर आवाज उठाए अनुसार अपराध गर्नेले सजाय भने पाएका छैनन् ।

धेरै कुकुर हिट एण्ड रन केसमा अंगभंग भएर मारिएका छन् । तर कुकुरमाथि यस्तो अपराध गर्नेहरूको खोजी अनुसन्धान भने कमै मात्र भएका छन् । त्यही ठाउँमा कोही मान्छेमाथि यस्तो यातना भएको भए अपराध गर्नेहरूको खोजी अनुसन्धान गरिन्थ्यो र सजाय पनि दिइन्थ्यो । तर, कुकुरको लागि कसले अनुसन्धान गर्ने ? केही मानिस त देखेर पनि नदेखे जसरी हिंड्ने गरेको श्रेष्ठ बताउँछन् ।

जो अलि कमजोर छ, बोल्न सक्दैन त्यस्ताको अधिकार हनन हुन्छ । त्यसमाथि बोल्न नसक्ने कुकुरहरूको अधिकार हनन त हुने नै भइहाल्यो । यो पृथ्वी सबैको साझा हो । तर, मानिसले आफ्नो मात्र हो भनेर सोच्छन् र अन्य पशुपन्छीहरूको अधिकार हनन गरेका छन् । कुकुरलाई यातना दिनुहुँदैन, दुर्व्यवहार गर्नुहुँदैन भनेर विभिन्न संघसंस्थाले आन्दोलन त गरिरहेका छन् तर, त्यो आन्दोलन राजनीतिक जस्तो मानिसको अधिकारको लागि गरिएको आन्दोलन जस्तो प्रभावकारी हुनसकेको छैन । जसले गर्दा खोटाङमा भएको कुकुरको हत्याको केस मात्र अदालतमा पुगेको छ । अन्य केसहरू भने प्रहरीसम्म मात्र पुगेका छन् ।

कुनै एक जना व्यक्तिलाई कुटपिट भयो भने अन्य व्यक्ति दौडेर त्यस व्यक्तिलाई बचाउन कुद्छन् । तर त्यही ठाउँमा एउटा कुकुरमाथि कुटपिट भयो भने मान्छेहरू देखेर पनि नदेखे जस्तो गर्छन् । कुनै मानिसलाई कुटपिट हुँदा, हत्याको प्रयास हुँदा म हेरेर बसें बचाउन गइनँ भन्दा त्यो व्यक्तिलाई सजाय हुन्छ । त्यही ठाउँमा कुकुरलाई कुटपिट र हत्या गर्ने प्रयास भएको देखेको थिएँ, तर मैले बेवास्ता गरें भन्दा केही सजाय हुँदैन । त्यसैले कानुन बनेर मात्र हुँदैन त्यो कार्यान्वयन नभएसम्म यस्ता घटना दोहोरिइरहने श्रेष्ठको तर्क छ ।

कुनै कुकुरमाथि दुर्व्यवहार भएको खण्डमा उजुरी पर्‍यो भने कुकुरको पक्षबाट सरकारले नै मुद्दा लड्छ । कोही व्यक्तिले यस्तो घटना देखेको खण्डमा प्रहरीलाई उजुरी मात्र दिए पुग्छ । त्यसपछिको अनुसन्धान प्रहरीले गर्छ र सरकारी वकिलले नै त्यो केस हेर्छ । तर कोही व्यक्तिले म आफ्नो निजी वकिलबाट केस लड्छु भन्यो भने त्यो पनि पाउने कानुनी व्यवस्था रहेको श्रेष्ठले बताए ।

श्रेष्ठ भन्छन्, ‘सडकमा कुकुरमाथि विभिन्न प्रकृतिका दुर्व्यवहार हुन्छ । जस्तै कुटपिट गर्ने, धारिलो हतियारले प्रहार गर्ने, तातोपानी खन्याउने, खानामा विष दिएर मार्ने, गाडी तथा मोटरसाइकलले कुल्चिदिने जस्ता व्यवहार भएको पाइएको छ । तर त्यो अपराध गरेबापत धेरैले सजाय पाएका छैनन् । त्यही ठाउँमा गाईलाई यातना दियो, हत्या गर्‍यो भने चाहिं सजाय दिइन्छ किनकि गाई हाम्रो राष्ट्रिय जनावर भित्र पर्छ । अरू दिन चाहिं कुकुरलाई यातना दिने अनि तिहारको एक दिन भने पूजा गर्नु कतिको उचित हो भनेर सबैले सोच्नैपर्छ ।’

सडक कुकुरलाई जिस्काउने, तर्साउने र लखेट्ने जस्ता व्यवहारलाई नियन्त्रण गर्नको लागि कुनै कानुन बनेको छैन । बनेको कानुन पनि लागु भएको छैन । मानिसलाई पशुपन्छीलाई दुर्व्यवहार गर्दा कानुनी सजायको व्यवस्था छ भनेर नै थाहा छैन । त्यसैले यो पशुपन्छी सम्बन्धी कानुनको विषयमा प्रचारप्रसार गर्नुपर्ने श्रेष्ठ सुझाउँछन् ।

सडकका कुकुर मात्र हैन घरपालुवा जनावरहरूलाई समेत यातना दिंदा तथा दुर्व्यवहार गर्दा पनि तीन महिनासम्म जेल सजाय र पाँच हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था गरिएको छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?