३० जेठ, काठमाडौं । दृश्य-१
काठमाडौंको तीनकुनेमा एक व्यक्तिले सडकका सुत्केरी कुकुरलाई घिसार्दै आफ्नो घरको बार्दलीमा लगे । त्यहाँ बाधेर अन्धधुन्ध कुट्न थाले । कुकुर जति कराए, चिच्याए पनि उनले कुट्न छाडेनन् । अन्ततः ती व्यक्तिले कुटीकुटी कुकुरको हत्या गरे ।
आमा मारिएपछि कुकुरको दूधे बच्चा त्यो निर्जीव शरीर रुँघेर बसिरहन्थ्यो । त्यही नै बच्चाको पनि मृत्यु भयो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले ती व्यक्तिविरुद्ध उजुरी गर्न प्रहरीकहाँ पुगे । तर प्रहरीले उनको उजुरी दर्ता गरेनन् । कुकुरको हत्या गर्ने ती व्यक्ति स्थानीय नेता रहेछन् । उनले आफ्नो बच्चालाई कुकुरले भुक्यो भनेर त्यसको रिस फेर्न कुकुरलाई त्यसरी क्रूरतापूर्वक हत्या गरेका थिए ।
दृश्य-२
काभ्रेको धुलिखेल नगरपालिका-४ स्थित २८ किलोमा दुई जना पुरुषले कुकुरलाई बिजुलीको पोलमा बाँधे । त्यसपछि कुकुरको टाउकोमा फलामे रड र कोदालोको पासोले प्रहार गर्न थाले । चोट खप्न नसरी कुकुरको त्यहीं मृत्यु भयो । एक बच्चालाई टोकेको निहुँमा सडक कुकुरलाई मारेको उनीहरुको भनाइ थियो ।
दृश्य-३
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन मेयर दीपनारायण रिजालको निर्देशनमा तीन जना व्यक्तिले एउटा कुकुरलाई निर्ममतापूर्वक हत्या गरे । उक्त कुकुरलाई एक व्यक्तिले दाम्लोले बाँधे, अर्को व्यक्तिले चिर्पट दाउराले टाउकोमा हिर्काएर मारे । अनि घिसार्दै ट्याक्टरमा लगेर हाले । त्यहाँ अरु थुप्रै कुकुरलाई विष खुवाएर मारिएको स्थानीयहरुले बताएका थिए । विष खुवाएपछि कुकुरहरु बेहोस भएको र छटपटाइरहेको स्थानीयवासीले देखेका थिए ।
दृश्य-४
घटना यसै साताको हो । कुकुरले टोक्यो भन्ने उजुरी लिएर तीन जना व्यक्ति साँखुस्थित शंखरापुर नगरपालिकाको पशु विभाग पुगे । पशु विभाग प्रमुखले ती कुकुरलाई डोजरले किचेर मार्ने निर्देशन दिए । साथै उक्त कुकुरलाई गाडीले कुल्चेर मारे भन्ने जानकारी पशुपन्छी निर्दयता रोकावट समाजमा आएको संस्थाकी महासचिव विना पन्तले बताइन् ।
***
आदिम युगदेखि नै मान्छेले कुकुरलाई आफ्नो साथी बनाए । आफ्नो सुरक्षा र शिकारको लागि कुकुरको साथ खोजे । अहिले कतिपय रहस्यमयी हत्याको सुराक खोज्नदेखि प्राकृतिक विपद्मा मान्छेको उद्धार गर्न कुकुरको प्रयोग गरिंदै आएको छ । एक्लोपनबाट बच्न होस् वा मनोरञ्जन लिन, मान्छेले कुकुरलाई साथी बनाएका छन् ।
तर यति गुणी प्राणी रोग र भोक खेपेर कष्टको जीवन बाँचिरहेका छन् । आपतविपतमा कुकुरको साथ खोज्ने मान्छेले अरुबेला चाहिं कुकुरलाई ‘दुःखी प्राणी’को विम्ब बनाउँदै आएका छन् । त्यसैले त मान्छेहरु भन्छन्, ‘कुकुरको जस्तो जीवन बाँच्नु नपरोस् ।’

सहरी क्षेत्रमा खासगरी सडक कुकुरको अवस्था एकदमै दयनीय छ । उनीहरुले भरपेट त खान पाएका छैनन् नै, सद्दे जीवन बाँच्न पनि पाएका छैनन् । गाडीले कुल्चिएर, तातो पानी खन्याएर, ढुंगाले हिर्काएर, हात-हतियारले काटेर उनीहरुलाई अंगभंग बनाइदिएका छन् ।
सहरमा सडक कुकुर भोकभोकै छन् । फोहोरको थुप्रोमा कुहिएका र सडेका खानेकुरा खोजेर खानुपर्ने अवस्था छ । त्यसमा पनि खानामा सिसाको टुक्रा, ब्लेड वा अखाद्य तत्व मिसाएका पाइन्छन् । यसैले त यी कुकुरहरु अकालमै ज्यान गुमाइरहेका छन् ।
कुकुरमाथि क्रूरता
काठमाडौंको गल्लीमा सडक कुकुरहरु भौतारिरहेका देखिन्छन् । ती कुकुरमध्ये प्रायः धेरै घाइते अवस्थाका हुन्छन् । गाडीले हानेर, बाइक तथा स्कुटरले हानेर यति मात्र होइन, कुनैलाई तातो पानी खनाएर त कुनैलाई एसिड छ्यापेर घाइते बनाइएको हुन्छ ।
कुकुरलाई यसरी घाइते बनाएर छाड्ने मान्छेले यो कहिल्यै सोच्दैन कि ती कुकुरलाई जसरी तातो पानी छ्याप्ने, ढुंगाले हान्ने अछुद्र र अभद्र व्यवहार उनीहरूलाई गरियो भने कति असह्य पीडा हुन्छ ।
एउटा कुकुरलाई सडकमा गाडीले ठक्कर दिएर भाग्यो । त्यो कुकुरको शरीरबाट धेरै रगत बगिरहेको थियो । उठेर हिंड्न सक्ने अवस्थामा थिएन । दुर्घटना भएको ठाउँमा एउटा व्यक्तिले अन्य मानिसहरूसँग मिलेर स्नेहा केयर्समा फोन गर्यो र कुकुरको उद्धार गर्न आउन अनुरोध गरे । कुकुरलाई उद्धार गर्न स्नेहा केयर्सका केही सदस्य त्यहाँ पुग्दा कुकुरको आधा भागलाई गाडीले कुल्चिएको थियो । स्नेहा केयर्सले त्यो कुकुरलाई लिएर गयो र उपचार गर्यो । उपचार गर्दा पनि त्यो कुकुर पूरा निको हुन सकेन, कुकुरको आधा भाग अझै प्यारालाइसिस छ । स्नेहा केयर्सले त्यो कुकुरको नाम जोली राखिदिएको छ । जोली अझै पनि आफ्नो विगतको आघातका कारण मानिसहरूलाई पूर्ण रूपमा विश्वास गर्न सकिरहेको छैन ।

त्यस्तै अर्को एउटा कुकुरलाई पनि विक्षिप्त अवस्थामा पशुपक्षी निर्दयता रोकावट समाज, नेपालले उद्धार गर्यो । भोको पेट लिएर खाना पाइने आशमा मासु पसल अगाडि उभिएको एउटा कुकुरलाई धारिलो हतियारले प्रहार गरेर घाइते बनाइएको थियो । त्यस कुकुरलाई घाइते बनाउने व्यक्तिले त्यो कुरालाई अस्वीकार गरेपछि पशुपक्षी निर्दयता रोकावट समाजले त्यस कुकुरलाई उद्धार गरेर सेल्टरमा लिएर गयो । कुकुरको उपचार गरेर अहिले सेल्टरमै राखेर पाल्दै आएको छ । तर मानिसले गरेको यस्तो क्रूर व्यवहारले गर्दा त्यो कुकुर मानिसको नजिक पर्न अझै डराउँछ ।
गाडीले कुल्चिएर अंगभंग हुन्छन् कुकुर
केही कुकुरलाई त विभिन्न संघसंस्थाहरूले उद्धार गरेर आश्रय पनि दिएका छन् । तर धेरै कुकुरहरू भने मानिसको यातना सहेर भोकभोकै सडकमा नै बस्न बाध्य छन् । घाम, पानी र भोक सहेर सडकमा बसेका कुकुरहरूलाई अझै यातना दिने, उनीहरूलाई दुर्व्यवहार गर्नु कतिको उचित हो भन्ने कुरा सहरवासीले बुझ्नु जरुरी भएको स्नेहा केयर्सकी स्नेहा श्रेष्ठ बताउँछिन् ।
कुकुरहरूमा सबैभन्दा धेरै ‘हिट एण्ड रन’का घटना भएको पाइएको छ । सवारी साधनको ठक्करबाट कुनै कुकुर घाइते भयो भने उपचार गर्ने जिम्मेवारी सवारी चालकको हो, तर उनीहरू कुकुरको चोटलाई बेवास्ता गरेर भाग्छन् । त्यसरी चोट लागेर हिंड्न नसक्ने र प्यारालाइज भएका कुकुरलाई आफ्नो संस्थाले धेरै उद्धार गरेको श्रेष्ठ बताउँछिन् । ‘यहाँ राख्ने ठाउँ नभएकाले विभिन्न ठाउँमा गएर नै घाइते कुकुरहरूलाई त्यहीं उपचार पनि गर्दै आएका छौं ।’
जबसम्म जनावरहरूलाई यातना दिनेहरूको लागि कडा नियम बन्दैन, तबसम्म यस्ता केस बारम्बार दोहोरी रहने श्रेष्ठले बताइन् । ‘कुनै पनि जनावरलाई यातना दिंदा उनीहरूलाई दुर्व्यवहार गर्दा ३ देखि ६ महिना जेल सजाय र ५ हजार रुपैयाँ जरिवानाको कानुन बनेको भए पनि त्यसको पालना नहुँदा यस्ता गतिविधि झन् बढ्दै गएको छ ।’
प्रहरीलाई नै थाहा छैन जनावरको हकसम्बन्धी कानुन

अहिलेको पुस्तामा समग्रमा पनि माया र ममताको कमी नै पाइन्छ । त्यसमाथि पनि पशुपन्छीलाई गर्ने माया त निकै कम हुँदै गएको छ ।
पशुपक्षी निर्दयता रोकावट समाज, नेपालकी महासचिव बिना पन्त भन्छिन्, ‘अहिलेबाट बच्चाहरूलाई पशुपन्छीलाई माया गर्नुपर्छ भनेर सिकाइयो भने अबको केही वर्षमा भने यो पशुमाथि हुने क्रूरता विस्तारै कम हुँदै जान्छ ।’
कुनै पनि जनावरलाई कुटपिट गरेको, अभद्र व्यवहार गरेको देखेको खण्डमा पनि प्रहरीमा उजुरी गर्ने प्रचलन छैन । तर त्यहीं ठाउँमा मानिसमाथि कुटपिट भएको देखे तुरुन्तै प्रहरीमा खबर गरिन्छ । कुकुर पनि एउटा प्राणी हो यसले बोल्न सक्दैन यसको रक्षा हामीले गर्नुपर्छ भन्ने सोच जबसम्म मानिसमा आउँदैन तबसम्म यस्ता घटना दोहोरिरहने पन्तको भनाइ छ । ‘धेरै पुलिसलाई त जनावरको हकमा पनि कानुन बनेको छ भन्ने कुरा नै थाहा छैन, त्यसैले उनीहरू यो केस नै लिंदैनन्,’ उनी भन्छिन् ।
कुकुरलाई कुट्दा र मार्दा कस्तो कानुन छ भनेर धेरैलाई थाहा नै छैन । त्यसैले मानिसहरूले यो गल्ती दोहोर्याइरहन्छन् । पशुपक्षीलाई कुटपिट गर्ने धेरैले तोकिएको सजाय नै पाएका छैनन् । यस्ता व्यक्तिलाई प्रहरी कार्यालयसम्म लगिए पनि सम्झाएर आइन्दा त्यस्तो नगर्ने सर्तमा फिर्ता पठाइन्छ । जसले गर्दा पनि मानिसहरूले यसलाई एकदमै सरल रूपमा लिएको पन्त बताउँछिन् ।

जनावरको अधिकारको कुरा गर्नुअघि उनीहरूको कल्याण हुनु जरुरी छ । अहिले सबैभन्दा धेरै देखिएको घटनामा सवारी साधनले हानेर घाइते भएको, मासु पसल वरपर धारिलो हतियारले प्रहार गरिएको, तातो पानी खनाइदिएको, ढुंगाले हानेर आँखा फुटाइदिएको घटना बढी आउने पशुपक्षी निर्दयता रोकावट समाजले जनाएको छ ।
कुकुरलाई गरिने क्रूर व्यवहारले उनीहरू मानिससँग नजिक हुन पनि डराउँछन् । विशेषगरी नेपालीहरूले पशुपन्छीलाई गर्ने व्यवहार किन यति धेरै राक्षसी छ ? कुकुर तिहारको एक दिन मात्र कुकुरलाई पूजा गर्नु भन्दा उनीहरूलाई गर्ने क्रूर व्यवहारलाई सुधार्न जरुरी रहेको पशु अधिकारकर्मी बताउँछन् ।
कुकुरलाई दुःख दिनेलाई ३ महिना जेल

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षीसम्बन्धी कसूरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ तथा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने’ उल्लेख छ ।
उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरुलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ ।
वातावरण कानुनविज्ञ पदमबहादुर श्रेष्ठका अनुसार कसैले बाटोमा कुकुरलाई कुट्दै गरेको देखियो भने यसको विरुद्धमा प्रहरीमा जाहेरी दिन मिल्ने कानुनी व्यवस्था छ । तर सरकारी निकाय भने कार्यान्वयन गर्न असक्षम भएकाले यस्तो उजुरी लिएर कोही पनि प्रहरीकहाँ पुगेका छैनन् ।
‘मान्छेको त कार्यान्वयन गर्न सकिएको छैन, पशुको निवेदन लिएर नआउनुस् भनेर पठाइन्छ । कानुन बनाएर मात्र हुँदैन त्यसलाई लागु पनि गर्नुपर्छ,’ अधिवक्त श्रेष्ठ भन्छन्, ‘पशु अधिकारकै विषयमा सर्वोच्च अदालतले नजीर समेत स्थापित गरेको छ । कार्यान्वयन हुन नसक्नु चिन्ताको कुरा हो । कसूर भएको तीन महिनाभित्र उजुरी गर्नुपर्छ भन्नेमा सचेतनाको खाँचो छ ।’
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4