+
+

६ वर्षपछि क्यान निलम्बन पूर्ण रुपमा फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते २१:११

३१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण  पूर्ण रुपमा हटाएपछि क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ ।

क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो । यद्यपी नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने छुट थियो ।

२०७६ असोजमा काठमाडौंमा विशेष साधारण सभा गर्दै चतुरबहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि आईसीसीले क्यानमाथि लगाएको निलम्बन ससर्त फुकूवा गरेको थियो । त्यसबेला आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था थियो ।

अब भने आर्थिक गतिविधिसहितको सबै निलम्बन हटेको क्यानले मंगलबार विज्ञप्ती मार्फत जनाएको छ । ‘निलम्बन फुकुवा देखि नै संघको निर्वाचित कार्यसमितिले आइसिसीको सम्पूर्ण मापदण्डहरूलाई क्रमश पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जेठ ३० गतेको पत्रमार्फत संघको कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाइ सकेको ब्यहोरा सहर्ष जानकारी गराउँदछौं,’  क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले अब क्यानमाथिको सम्पूर्ण निलम्बन हटेको र एकदिवसीय मान्यता प्राप्त अन्य देश जस्तै आर्थिक गतिविधि गर्न बाटो खुलेको बताए । मल्लले आईसीसीले राखेका सबै सर्तहरु पूरा गरेकाले निलम्बन पूर्णरुपमा फुकुवा भएको बताए । ‘आईसीसीले राखेका केही सर्तहरु थिए त्यो हामीले पूरा गर्‍यौं’, उनले भने, ‘आईसीसीले भने अनुसार नै हामीले सबै विषयमा पारदर्शी भएर काम गर्न सफल भयौं । हामीले ‘क्लिन अडिट रिपोर्ट’ आईसीसीमा पेश गर्‍यौं र आईसीसीको ‘गाइड लाइन’मा चले पछि निलम्बन पूर्णरुपमा फुकुवा भयो ।’

आंशिक रुपमा मात्र निलम्बन फुकूवा हुँदा क्यानले पहिला कार्यक्रम गरेर खर्च विवरण पठाएपछि आईसीसीले रकम निकासा गर्ने गरेको थियो । अब भने क्यानले कार्यक्रम बनाएर अनुमानित बजेट पठाएपछि त्यही अनुसार तीन-तीन महिनामा आईसीसीबाट बजेट आउने कार्यवाहक सचिव मल्लले बताए । अब काम गर्न सजिलो हुने र खेलाडी, कर्मचारीको पारिश्रमिकदेखि अन्य कुराहरुमा खर्च गर्न सहज हुने मल्लले बताए ।

नेपाल सरकारको नीति र आईसीसीको गाइडलाइन अनुसार काम गरेकोले फुकुवा सम्भव भएको मल्लले बताए । अब नेपालले तीन-तीन महिनाको अन्तरमा आईसीसीबाट आर्थिक सहयोग पाउनेछ । ‘एक वर्षमा करिब १५ करोड नेपाली रुपैयाँ आईसीसीबाट आउनेछ’, मल्लले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?