+
+
अन्तर्वार्ता :

‘एमालेलाई थप बलियो बनाउन पनि कम्युनिष्टहरु एकठाउँ उभिनैपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ९:०५

१ असार, काठमाडौं । स्थानीय चुनावमा पराजित हुँदै दोस्रो शक्तिमा ओर्लिएको नेकपा एमालेले एक महिनापछि सोमबार समीक्षा बैठक गरेको छ । बैठकले सत्ताको दुरुपयोग गरेर सत्ता गठबन्धनले धेरै सिट जिते पनि एमाले नै मुख्य शक्ति भएको निष्कर्ष निकालेको छ ।

संघ र प्रदेशको चुनाव नजिकिएकाले आन्तरिक कमजोरीबारे भने उति धेरै समीक्षा नभएको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन् । तर आगामी दिनमा समीक्षा हुनेमा आश्वस्त शाक्य भन्छिन्, ‘किन हारियो भन्ने कुरा पनि आउनुपर्यो । पार्टी किन जित्यो भन्ने कुरा पनि आउनुपर्यो । राम्रो र नराम्रो कुरा नै आउनुपर्छ ।’

भावी राष्ट्रिय राजनीतिबारे पनि एमाले बैठकमा प्रष्ट छलफल भएन । तर उपाध्यक्ष शाक्य भने संविधान र संविधानले लिएको उद्देश्य पूरा गर्न पनि ढिलो–चाँडो वाम एकता र लोकतान्त्रिक शक्तिसँगको सहकार्य अपरिहार्य रहेको बताउँछिन् । ‘नेकपा एमाले कमजोर भयो भने कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ । त्यसैले एमालेलाई थप बलियो बनाउनका लागि पनि कम्युनिष्टहरु एकठाउँ उभिनैपर्छ । ढिलो–चाँडो त्यो ठाउँमा (वाम एकतामा) पुग्छौं’, उनी भन्छिन् ।

सचिवालय बैठकपछि उपाध्यक्ष शाक्यसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः

स्थानीय चुनाव सकिएको एक महिनापछि एमालेको औपचारिक बैठक बस्यो । आन्तरिक समीक्षा कसरी भयो ?

मसिनोगरी तथ्यगत हिसाब गर्यौं । कुनै पनि महानगर जितेनौं । शक्ति घटेको होइन, सिट संख्या घटेको हो । सिट संख्या घट्नुको मुख्य कारण भने यो चुनाव चुनावजस्तै भएन । चुनावमा निष्पक्षता हुन्छ, मर्यादित हुन्छ, पारदर्शीता हुन्छ । सत्ता गठबन्धन एकतातिर, एमाले अर्कातिर छँदै थियो । तर सत्ता गठबन्धनले पूरै सत्ताको दुरुपयोग गर्यो । प्रहरी प्रशासन पनि उनीहरुकै हातमा, कर्मचारी संयन्त्र पनि उहाँहरुले भनेजस्तै, निर्वाचन आयोगको निर्णय पनि उहाँहरुले भनेजस्तै हुने भयो ।

पाँच दलीय गठबन्धनमा एमालेबाटै अलग भएको शक्ति पनि सामेल छ । एमालेकै नेतृत्व गरेका नेताहरु अहिले एमाले हराउने गठबन्धनमा पुग्ने अवस्थाबारे कुनै समीक्षा भएन ?

पार्टीभित्र अन्तरद्वन्द्व भयो, फुट्ने स्थिति बन्यो । प्रमुख नेताहरू नै आफ्नै पार्टी फुटको पक्षमा लाग्नुभयो । फुटेपछि अर्को पक्षमा लाग्नुभयो । त्यसको असर पर्ने भइगयो नि । अर्कातिर, लामो समयको अन्तरद्वन्द्वको कारणले गर्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चलायमान नहुँदा कमीकमजोरी भएको छ ।

पार्टी बन्नलाई त विचार चाहियो, विधि चाहियो, जिम्मेवारीबोध चाहियो । तर अन्तरद्वन्द्व हुँदा त्यो पाटोमा कमजोरी हुनु स्वाभाविक हो । त्यसले गर्दा हामीलाई अलिक अप्ठ्यारो भयो ।

एकातिर सत्ताको सम्पूर्ण दुरुपयोगका बाबजुत चुनावमा होमिनुपर्ने, लड्नुपर्ने स्थिति थियो भने हाम्रो पार्टी जीवन सुदृढ थिएन । अलिअलि कमजोरी थियो, फुटको स्थिति थियो । पार्टी बन्ने भनेको विचारले हो, विचारको काम पनि सुदृढ ढंगले गर्न सकिएको थिएन । यी तमाम कुराले गर्दा पनि गाह्रो भयो ।

तर एमालेको मूल निष्कर्ष भने गठबन्धनका कारणले पराजित हुनु पर्यो भन्ने नै भयो ?

चुनावमा हार–जित भनेको स्वभाविक कुरा हो । तर, चुनाव कस्तो हुनुपर्छ भन्ने कुरा हो, दुनियाँको चुनाव त हामीले देखेका छौं ।

चुनाव निष्पक्ष भयो कि भएन भन्ने विषयबारे अवलोकनमा खटिएका निकायले पनि रिपोर्ट देलान् । त्यसबारे बहस होला । तर चुनावमा जित र हार दुवैको श्रेय नेतृत्वले लिने परम्परा चल्दै आएको छ । त्यसबारे केही समीक्षा भयो ?

भएन । अर्को निर्वाचन आइसक्यो । अहिले जे–जस्तो भएपनि आगामी चुनावबारे सबैले सोंच्नुपर्ने कुरा हुन्छ । यो चुनावमा पार्टीको पाटोबाट के–के कमीकमजोरी भयो, त्यो समीक्षा पनि मजासँगले नै गर्नुपर्छ । र, आगामी चुनावका लागि पार्टी पंक्तिलाई सुदृढ र वैज्ञानिक बनाउनुपर्नेछ, आन्तरिक अविश्वास घटाउनुपर्नेछ, विश्वास बढाउनुपर्नेछ । एकता बढाउनुपर्नेछ । ती तमाम कुरा बैठकमा उठेको छ ।

नेकपा एमाले कमजोर भयो भने कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ । त्यसैले एमालेलाई थप बलियो बनाउनका लागि पनि कम्युनिष्टहरु एकठाउँ उभिनैपर्छ ।

पार्टीभित्रको कमजोरीबारे फेरि पनि समीक्षा हुन्छ ?

हुन्छ । स्थायी कमिटीको बैठक पनि बस्ला । तथ्यगत आधारमा (समीक्षा) गर्नुपर्छ, आरोपका भरमा होइन । वडा, गाउँपालिका र नगरपालिका स्तरबाटै गर्नुपर्छ । धाँदलीका कुरा पनि आउनुपर्छ । किन हारियो भन्ने कुरा पनि आउनुपर्यो । पार्टी किन जित्यो भन्ने कुरा पनि आउनुपर्यो । राम्रो र नराम्रो कुरा नै आउनुपर्छ ।

बैठकमा नेताहरुले राखेको कुराको सांराश के हो ?

सबैले लगभग मिल्दो कुरा गरेका छौं । पहिलो कुरा, सरकार र गठबन्धनले गरेको धाँदलीबारे भण्डाफोर गर्नुपर्छ भन्ने हो । किनभने यो चुनावजस्तै छैन । दोस्रो, पार्टीको मसिनोगरी समीक्षा गरेर अगाडि बढ्नुपर्छ । असार २ र ३ गते जनप्रतिनिधिहरुलाई प्रशिक्षण राखेका छौं । त्यहीबाट पार्टीलाई एकताबद्ध र चलायमान बनाउने काम शुरु हुन्छ ।

पार्टीलाई एकताबद्ध बनाएर लैजाने भनिरहँदा वाम गठबन्धनको चर्चा पनि चलिरहेको छ । बैठकमा केही कुरा भयो ?

चुनाव केन्द्रित भएर भन्दा पनि अहिलेको आवश्यकता पार्टी एकताबद्ध बनाउने र कम्युनिष्ट आन्दोलन बलियो बनाउने हो । कम्युनिष्टहरू एकताबद्ध भएर मात्रै पुग्दैन । राष्ट्रियता, समृद्धि, सार्वभौमिकता र लोकतन्त्र सुदृढ गर्न वाम–लोकतान्त्रिक गठबन्धन गर्नैपर्छ ।

०६२/६३ सालको आन्दोलनमा कांग्रेस–कम्युनिष्ट सबै लाग्यौं । लोकतान्त्रिक शक्तिहरूको एकतामै संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं । लोकतान्त्रिक गणतन्त्र जन्माउने त सबै हौं नि । लोकतान्त्रिक शक्ति पनि हो, वाम शक्ति पनि हो । आज फुटेर यो बलियो हुन्छ र भन्या ! अगाडि बढ्न सक्छ ? सक्दैन ।

हामीले संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनुपर्छ, समृद्ध बनाउनुपर्छ । समाजवादको लक्ष्य प्राप्त गर्ने भनेर संविधान बनाएका छौं । त्यो सबै जोगाउनलाई वामपन्थीहरु मिल्नैपर्यो, लोकतान्त्रिक शक्तिहरु पनि एकठाउँमा आउनैपर्छ । आज नभए पनि भोलिको आवश्यकता हो, देशको बाध्यता हो । परिस्थितिले हामीलाई त्यो ठाउँमा पुर्याउँछ ।

दोस्रो, नेकपा एमाले कमजोर भयो भने कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ । त्यसैले एमालेलाई थप बलियो बनाउनका लागि पनि कम्युनिष्टहरु एकठाउँ उभिनैपर्छ ।

आउने चुनावमा त्यो सम्भावना छ ?

आउने चुनाव त नभनौं । तर यो हुनैपर्छ । अहिले जस्तो परिस्थिति र जटिलताहरु देखिरहेको छ, ढिलो–चाँडो त्यो ठाउँमा (वाम एकतामा) पुग्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?