+
+
पूर्वाधार विकास समन्वय बैठक :

दोष अरुमाथि थोपरेर पन्छिंदै विकास साझेदार

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असार ६ गते २२:०१

६ असार, काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकाको पूर्वाधार विकास समन्वय समितिको दोस्रो पटक बैठक बस्यो । बैठकमा सहभागी अधिकांश विकास साझेदार निकायहरुले विकासका काम सुस्त, भद्रगोल र निष्प्रभावी हुनु र सहरी पूर्वाधार कमजोर अवस्था रहनुको दोष अरुमाथि लगाए ।

उपत्यकाका रहेका विकास निर्माण र शहरी सुव्यवस्थाको क्षेत्रमा काम गर्ने सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागी बैठकमा सहभागीहरुले आफूहरुले गरेका काममा देखिएका समस्याहरु अरु निकायका कारण आएको भन्दै पन्छिन प्रयास गरे । विकास साझेदार निकायका प्रमुख तथा प्रतिनिधिको कुरा सुनेपछि मेयर साहले समन्वयविना काम गर्ने अहिलेको प्रवृत्ति बदलेर काम गर्नुपर्ने बताए ।

‘पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेकदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर नपन्छनुस् । अर्काको कार्य क्षेत्रको कुरा काम भए समन्वय गरेर जिज्ञासाको उत्तर दिनुन् । हामी सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनु पर्छ,’ बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग भने ।

उनले नतिजामुखी कामका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने भन्दै अरुलाई दोष देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन नमिल्ने बताए । ‘जीवन्त सांस्कृतिक सहर काठमाडौंलाई व्यवस्थित गर्न धेरै काम गर्नुपर्नेछ । सबैले प्रयास गरौं । नतिजा क्रमशः आउनेछ,’ प्रमुख शाहले भने ।

जमिन पुर्नभरण हुन नपाउँदा चाहिने ठाउँमा पानी नपुगेको, नदीका पानी धेरै भएर बाढी आएको भन्दै उनले वातावरणीय सुधार, सहरी सेवा सुविधाको सहज वितरण तथा पूर्वाधार निर्माणको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिए ।

बैठकमा उपप्रमुख सुनिता डंगोलले कार्यक्रमहरुमा दोहोरापना हुन नदिन समन्वय गर्नुपर्ने बताइन् । डंगोलले स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन साझेदार कार्यालयबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरिन् । ‘समन्वय बैठक प्रभावकारी भएको महसुस गरेकी छु । यसबाट विगतका गल्ती दोहोरिने छैनन् र अवस्थामा परिवर्तन आउनेछ भन्ने आशा गर्न सकिन्छ,’ उपप्रमुख डंगोलले भनिन् ।

बैठकमा नेपाल दूसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौंको पूर्वाधार व्यवस्थापनको लागि कानुनी तवरबाटै सुधार गर्नुपर्ने बताए । उनले सडक बनाउँदा नै सडकसँगै ढल, बिजुली, पानी र अन्य तारहरुको व्यवस्थापन गर्न बजेट छुट्याउनुपर्ने व्यवस्था गरे मात्रै उचित व्यवस्थापन हुने बताए ।

कहिलेकाहीँ नेपाल विद्युत प्राधिकरण र दूरसञ्चार सेवा प्रदायकबीच द्विविद्वा हुँदा तार, पोलको विषयमा मनमुटाव हुने बताए  । विद्युत प्राधिकरणप्रति लक्षित गर्दै छु्ट्टा-छुट्टै बजेट ल्याउने र आफ्नै तालमा काम गर्ने हुँदा तारको व्यवस्थापनमा कठिनाइ हुने गरेको बताए ।

संघीय सडक  सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख डा. विजय जैसीले सडकमा बिजुलीको पोलदेखि खानेपानी र ढलको पाइपसम्मको समस्या रहेको बताए । ‘हाम्रै सडकमा विद्युत प्राधिकरणले नसोधिकन पोल राख्छ, राणाकालिन ढल र पाइपको  समस्या  उस्तै छ । समन्वय नभएको कारण आफ्नो आफ्नो ढंगले काम गर्दा समस्या भएकोे  हो,’ उनले भने ।

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख उमेश राज जोशीले समन्वय नहुँदा जामको समस्या बढेको बताए । ‘कसैले सडक खन्दा, कसैले पोल सार्दा, तार मिलाउँदा, ढलको काम  गर्दा सडक पुरै अस्तव्यस्त हुने गर्छ । जसले गर्दा ट्राफिक सिस्टममा ठूलो समस्या हुन्छ’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक तथा वितरण विभाग प्रमुख मनोज सिलवालले सडकको कारणले कतिपय ठाउँमा विद्युतीय काम गर्न असहज भएको बताए । सडक विभागसँग समन्वय गरिरहेको भन्दै समस्या समाधान उन्मुख रहेको बताए । तारको समस्या विकराल रहेको भन्दै उनले महानपालिकाको सडकमा राखिएका विजुली बत्तीको महसुल कसले तिर्ने भनेर प्रश्न गरेका थिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले नयाँ धारा दिँदादेखि अन्य कामसम्म काठमाडौं महानगरसँग सहकार्य गरेको बताए । ‘काठमाडौं महानगरको सबै घरमा एक घर एक धारा दिन चाहन्छौं, यसमा वडा कार्यालयसँग समन्वय गरेर अगाडी बड्छौं, समानुपातिक  पानी वितरण र चुहावटमुक्त पानी वितरण गर्न चाहन्छौं, ‘ उनले भने ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक नवराज प्याकुरेलले काठमाडौं महानगरलाई बागमती सरसफाई अभियानमा जोडिन आग्रह गरे । ‘नदिका करिडोरहरुमा खाली गाडीहरु पार्किङ गरेर राखिएको हुन्छ, काम  सकिएपनि निर्माण सामाग्रीहरु डम्प भइरहेका हुन्छन् । यस्ता कुराहरुले गर्दा करिडोर जीवन्त बनाउन सकिएको छैन,’ उनले महानगरको ध्यानाकर्षण गराउँदै भने । प्याकुरेलले समितिलाई प्रदेश सरकारबाट मोबाइल ट्वाइलेटको लागि आएको बजेटमा सहकार्य गर्न सकिने बताए ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख धनपति सापकोटाले उपत्यकामा निर्माण काम गर्नेहरुले सडक पेटीमै सामाग्रीहरु अलपत्र राख्दा समस्या भएको सुनाए । ‘सडक पेटी हिड्ने मान्छेहरुको लागि हो । तर, सडकपेटीमा निर्माण सामाग्री हुन्छन्, तारहरु लत्रिरहेका हुन्छन् अनि पैदलयात्रु सडकबाट हिँड्न थाल्छन्,’ सापकोटाले भने । उनले टेलिकम कम्पनीले तार फेर्दा नगर प्रहरीसँग समन्वय गर्नुपर्ने पनि बताए ।

छलफलमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले सडक विभागलाई ककनी जाने सडक-पासाङ ल्हामु राजमार्ग)को तल्लोभाग चाँडै सकाउनको लागि अनुरोध गरे । उक्त सडकको कारणले फोहोर व्यवस्थापनमा गरिएको प्रतिवद्धताहरु पुरा गर्न कठिन भएको बताए ।

उनले विद्युत् प्राधिकरणले महानगरलाई बुझाउने कर तिरेर सडकबत्तीको हिसाब मिलान गर्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत पौड्यालले एकचोटी हिसाव मिलान भएपछि स्मार्ट मिटर राखेर आफ्नो ढंगले तिर्ने बताएका हुन् ।

उनले काठमाडौंका नदिहरुमा ढल मिसिन नदिन कसरी काम गनर्ेे भन्ने विषयमा बागमती सभ्यतासँग सहयकार्य गरेर अगाडि बढ्ने बताए ।

छलफलका क्रममा काठमाडौं उपत्यकामा भएका १९ वटा नदीलाई एउटै कार्यक्रमबाट सुधार गर्नुपर्ने, नदीको वहाव क्षेत्र सम्बन्धी मापदण्डको पालनालाई कडा बनाउनुपर्ने जस्ता विषय उठेका थिए । नदी किनाराको अव्यवस्थित बस्ती व्यवस्थापनसँगै सहरको सरसफाइ र सौन्दर्य बढाउने काममा सबैको साझा मत हुनुपर्ने, धुँवा धुलोमुक्त सहरका निर्माणका लागि आफ्नाआफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने, पोल र असरल्ल तार व्यवस्थापनमा सेवा प्रदायकलाई जिम्मेवार बनाउनु पर्ने, सडक किनारामा निर्माण सामग्री छोडेर हिडँ्न नपाइने  व्यवस्था गर्नुर्पो लगायतका विषयमा पनि छलफल भएको थियो ।

सडक सञ्जालको इन्भेन्ट्री बनाउने, पानीको उपभोग योजना बनाउने, बिजुलीको स्मार्ट मिटर जडान गरेर आपसी सेवा आदानप्रदान गर्ने, दोहोरो योजना हुन नदिने प्रयोजनका लागि काम गर्नुपर्ने विषय समेत उठेका थिए ।

पूर्वाधार विकास समन्वय समितिको अर्को वैठक आगामी २ साउनमा बस्नेछ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?