+
+

‘रेड केन’ को अधोगति र बालेनहरूको उदय

रामशरण सिम्खडा रामशरण सिम्खडा
२०७९ असार ९ गते १२:४८

घटनाक्रमको सुरुवात गरौं, केन लिभिङस्टोनको प्रसंगबाट। ‘रेड केन’का नामले चिनिने उनी सन् १९८७ देखि २००१ सम्म बेलायतका निर्वाचित सांसद हुन्। १९७३ देखि १९८६ सम्म लण्डनका विभिन्न काउन्सिलहरूबाट निर्चाचित काउन्सिलर रहेका उनी ग्रेटर लण्डन काउन्सिलका नेता पनि हुन्। उनी लेबर पार्टीभित्रका समाजवादी धारमा अगुवा निवर्तमान लेबर नेता जेरेमी कोर्बिनका खास सहयोगी पनि रहे।

वाम रुझानका उनै केन लिभिङस्टोनलाई लाग्यो- मलाई पार्टीले पक्कै मेयरको उम्मेदवार बनाउनेछ। उनको यो आशा र दाबीका पछाडि केही आधार पनि थिए। लण्डन विविध सांस्कृतिक धरोहर भएको शहर हो। यहाँ बहुभाषिक र बहुदेशीय नागरिकहरूको बाक्लो बसोबास रहेको छ।

संसारकै चासो, सरोकार र आर्थिक केन्द्र लण्डनको मेयर पदमा उनको दाबी किन पनि अस्वाभाविक थिएन भने उनले आफ्नो जीवनको ऊर्जाशील ३२ वर्ष सक्रिय राजनीतिमा खर्चिएका थिए। जीएलसी (ग्रेटर लण्डन काउन्सिल)का नेता तथा लण्डनबाटै सांसद जितेर चर्चित भइसकेका व्यक्ति हुन् उनी। तर उनको अपेक्षा र आम जनविश्वासका बावजुद उनी उम्मेदवार बन्न पाएनन्। किनकि उनी तत्कालीन पार्टी नेता तथा प्रधानमन्त्री टोनी ब्लेयरको आँखाको कसिंगर बनेका थिए।

उनले पार्टी छाडे र स्वतन्त्र उम्मेदवारी दिए। लोकप्रिय मतसहित चुनाव जिते पनि। उनले आफ्नो कार्यकालमा लण्डनको सार्वजनिक यातायातमा आमूल परिवर्तन गरे। थुप्रै सुधार र सामाजिक सुरक्षाका सवालमा उल्लेख्य सफलता हासिल गरे। यी सबै योगदानपछि उनले एक समाजवादी नेताको रूपमा आफूलाई खडा गरे।

टोनी ब्लेयरको इराक युद्धमा सामेल हुने निर्णयको आम लण्डनवासी खरो आलोचना गर्दथे। नागरिकको भावना बुझेका मेयर केन यसको नेतृत्व गर्दथे। यसैको पृष्ठभूमिमा २००४ मा आम लण्डनवासीको चाहना अनुसारै लेबरले पुनः उनलाई नै पार्टीमा भित्र्याएर चुनावमा उतार्‍यो र जितायो पनि।

उनै ‘रेड केन’ त्यही लण्डनमा स्वतन्त्र रूपमा विजयी हुन सफल भए तर पार्टीको राप, ताप र साथ हुँदा समेत सन् २००८ र २०१२ मा दुवैपटक कन्जर्भेटिभका बोरिस जोन्सनसँग पराजित हुन पुगे।

नेपालमा हालसालै सम्पन्न स्थानीय चुनावको तातो बहस हुन्थ्यो। मेरो बेलायतस्थित कार्यस्थलमा सहकर्मी डिल्ली गुरुसँग गफ भयो। उनले कसैको विरोध नगर्ने आफ्नो मौलिक शैलीमा भने, ‘हो र भन्या काठमाडौंमा केशवले जित्छ त ? मलाई त अलि हावा लाग्छ है। अलि अस्थिर छन् हैन र सर।’

उनको कुरा सुनेर म कड्किएँ। कुनै बेला युवा संघमा काम गर्दा उनको गफ हामी घण्टौं टोलाएर सुन्थ्यौं। जमाना २०५४ देखि २०७९ आइपुग्दा कति अघि बढिसकेछ, हामी आफैंले छनक नपाएका रहेछौं।

सामाजिक सञ्जालको शक्ति त छ नै साथमा गाली भन्दा कमजोरीलाई सकारात्मक विश्लेषण गरेको मन पराउने युवा शक्तिको चाहनाले पनि नतिजा बदल्न भूमिका खेल्यो। जनता गाली-गलौज हैन, परिवर्तनको मुद्दा सुन्न आतुर रहेछन्। अहंकार देखाउने नेता जनताले रुचाउँदा रहेनछन्।

अर्कोतिर २०५४ को ८४ हजार भोट नै केशव स्थापित पराजयको प्रमुख कारण बन्यो। उनले हरेक दिन जति बोल्दै गए, उनको भोटको ग्राफ खस्कँदै गयो। पहिले उनी मेयरमा लड्दा सामाजिक सञ्जाल र आम सञ्चारजगत यति सक्रिय थिएन। कलेजमा बोलेका कुरा ट्रोल बन्न पाएन। गठबन्धनको शक्तिमा सिर्जना सिंह बढी नै विश्वस्त थिइन्।

बालेन लामो तयारी गरिरहेका थिए। आम आदमी पार्टीको दिल्ली विधान सभाको सफल मोडेल नियालिरहेका थिए। उनले हालै आपले पञ्जाबमा निर्वाचन लड्दाको तौरतरिकाको गहन अध्ययन र यसलाई निर्वाचन प्रक्रियामा भरपूर उतार्न मेहनत गरिरहेका थिए। तर यी सबै विषयलाई हामीले महत्व दिएनौं।

एजेण्डाभन्दा बाहिर नगई कसैप्रति नकारात्मक नहुनु नै उनको विजयको कारण बन्यो। जनमतलाई नजरअन्दाज गर्नु हामी कसैलाई पनि छुट छैन। भलै किशोर थापा जस्ता काठमाडौंलाई चाहिने नेताले २० हजार भोट कटाउन सकेनन्, रञ्जु दर्शनाको मत २५ हजारमा रोकियो।

यो पृष्ठभूमिमा काठमाडौंमा मतदाताले मन र मत बदलिरहेको प्रसंगले केही जब्बर सत्य उद्घाटित गरेको छ। दुई सडक बालक माघ महिनाको कुनै दिन काठमाडौंको कुनै आकाशेपुलमुनि थाङ्नामा गुटमुटिएर रातको ठण्डीसँग जुद्धै थिए।

एउटाले अत्यन्त खिन्न भएर बोल्यो- ‘यो पनि कुनै जिन्दगी हो ? कहिले एउटा गल्ली कहिले अर्को गल्ली। कसैले दया गरेर दुई पैसा दिने हैन, रोटी माग्दा उल्टो उपदेश दिने मात्र भेटिन्छन्। चोरी गरौं पुलिसको कुटाइ र चिसो छिंडी भेटिन्छ। नगरौं, कति दिन भोकै बस्नु !

उनै ‘रेड केन’ त्यही लण्डनमा स्वतन्त्र रूपमा विजयी हुन सफल भए तर पार्टीको राप, ताप र साथ हुँदा समेत सन् २००८ र २०१२ मा दुवैपटक कन्जर्भेटिभका बोरिस जोन्सनसँग पराजित हुन पुगे।

हाम्रो उमेरका अरुको जिन्दगी कस्तो छ, हामी भने न घर छ न कोही आफन्त छ। अझ पुलिसले खेदेर राम्रोसँग निदाउन पनि दिंदैन। साह्रै पो दुःख भयो त ! जसले पनि निन्दा र अपमान मात्र गर्ने, जहाँ पनि छिछि र जहिले पनि दूरदूर मात्र ! खै, यस्तो पनि के जिन्दगी ?’

अर्कोले भन्यो- ‘त्यसो भए तैंले यो माग्ने काम किन छाड्दैनस् त ?’ पहिलोले अलिकन जङ्गिएर जवाफ फर्कायो- ‘के भनिस् ? के म असफल भएँ भनेर हार स्वीकार गरौं ? मान्छेले के भन्लान् ?’

स्थानीय चुनावको नतिजाको विश्लेषण गर्दा यो प्रतीकात्मक तर रणनीतिक हार स्वीकार्न मूलधारका राजनैतिक दलहरू यी बालक झैं तयार देखिन्नन्। यस्तो अवस्थामा यी राजनैतिक दल र नेतृत्वको भविष्य कस्तो होला ? सामान्य लाग्ने यो बहस गम्भीर छ।

माथि प्रस्तुत गरिएको सडक बालकहरूको पीडालाई उदाहरण मानौं। एउटा माग्नेलाई आफ्नो असफलता स्वीकार गर्न कत्रो मुस्किल छ ? अरु माथिकाको के कुरा गर्नु ! अहं, अभिमान र आत्मसम्मानले सबैलाई रोक्दोरहेछ- जति माथि उति बढी कठिन।

पुराना पार्टीहरूमा परिवर्तनलाई संस्थागत गर्नमा गम्भीर अक्षमता देखाएको र आदर्शबाट च्यूत भएको आरोप छ। मौजुदा अवस्थामा हल्काफुल्का सुधार बाहेक युगौंदेखिको पछौटेपन, जनजीविका र परिवर्तनका मुद्दा बोकेर जनतामा जाने उनीहरूमा कुनै कार्यक्रम छैन। तर स्वयं शीर्ष नेतृत्व गण भने यो कतै मान्ने पक्षमा देखिन्नन्।

उता, आमूल परिवर्तनको रुमानी उडानका साथ भएको १० वर्षे जनविद्रोह अराजकता र व्यापक आर्थिक अपचलनका दोषबाट मुक्त रहन सकेन। आर्थिक र मानवीय क्षतिको सापेक्ष यसको नाटकीय अवतरण र उपलब्धिको प्रभाव मूल्याङ्कनले यो आफैंमा दुस्साहस रहेछ कि भन्नुपर्ने अवस्था छ। यसले उठाएका केही मुद्दा सैद्धान्तिक हिसाबले पनि विवादास्पद छन्।

आश्चर्य त उनीहरू विगतको निर्मम मूल्याङ्कन गर्न थोरै पछाडि छन्। धेरै मधेशवादी नेताहरूमा बढी महत्वाकांक्षा र सत्तालिप्सा देखिन्छ। तर, उनीहरू पनि यसलाई ठाडै इन्कार गर्छन्। अरु ज्येष्ठ राजनीतिज्ञहरू आफ्नो प्रभाव र सामर्थ्य निरन्तर क्षयोन्मुख हुँदा पनि परिवर्तनको लागि तयार भएको देखिंदैन।

त्यस्तै कैयौं नयाँ र पुराना शक्तिलाई जनतामा स्थापित हुन नै त्यति सहज वातावरण छैन। सत्य यही हो, आ–आफ्ना कमजोरी र सीमालाई स्वीकारेर सुधारतर्फ अघि बढ्न कोही तयार भए पो !

बेलायतका केन लिभिङ्स्टोन तीन दशकभन्दा बढी समय पार्टीको लगानी र सशक्त काम गर्दा समेत टिकट पाएनन्। उनी स्वतन्त्र रूपमा लण्डनका मेयर बने। पछि लण्डनमा लेबरको त्यत्रो साख र संगठन हुँदा समेत दुई दुई पटक पराजित बन्न पुगे।

केशव स्थापित मेयर बन्दा जति अन्तरमा पपुलर मतका साथ विजयी भएका थिए, उनका रुमानी योजनाहरू सुनी पार्टी नेतृत्व चुक्यो। उनको शैली र बोलीले जनताको मन बिझायो। त्यति शक्तिशाली संगठन हुँदा समेत, उपमेयरमा त्यत्रो मत पाउँदा समेत उनी तेस्रो स्थानमा खुम्चिए।

यसको सीधा अर्थ हुन्छ- पार्टीले जनसरोकारको मुद्दालाई नछाम्दा जनताबाट टाढिन्छ। इतिहासको ब्याजले काम गर्छ भन्ने सोच पाल्दा ‘रेड केन’ दुई दुई पटक पराजित भए। यता, केशव तेस्रो बने। पाँचदलीय गठबन्धन विरुद्ध एक्ला बालेन भन्दा २० हजार भन्दा बढी मतले काठमाडौंमा पछि परे। यो यथार्थलाई मूलधारका पार्टीहरूले मनन गर्दै सुध्रिनु जरुरी छ।

अर्को एक प्रसंग- एकपटक ठूला ठूला आँखीभौं हुने अलि झोडी स्वभावको एउटा अनपढ सरदार रेल चढ्यो। सिटमा बसेर अंग्रेजी पत्रिका झिकेर उल्टो तर्फबाट हेर्न थाल्यो, अर्थात् माथिको तल, तलको माथिपट्टि परेर। उल्टो हेरेकोले सबै कुरा उल्टो देखिने भइहाल्यो। विज्ञापनमा देखाएको टाटा गाडीको चित्र पनि उल्टो नै देखिइरहेको थियो।

छेउको मान्छेले ताना कस्यो- ‘आजको खास समाचार के रहेछ त, सरदारजी ?’ सरदारले फुर्तीसाथ जवाफ फर्काउँदै जवाफ दिए, ‘अरु त सब ठीक ठाक छ तर एक ठाउँमा गाडी पल्टेको रहेछ।’ सबैजना हाँस्न थाले।

छेउको एउटा युवकले मुख खोल्यो- ‘सरदारजी तपाईंले अखबार उल्टो गरी हेर्नुहुँदैछ, त्यति पनि थाहा छैन तपाईंलाई ?’ सरदारले उत्तिकै ठाँटका साथ भन्यो- ‘तिमी जस्ता नजान्नेले हो सुल्टो मात्र पढ्ने। हामी जान्ने मान्छेले सुल्टो उल्टो जताबाट पनि पढ्न सक्छौं। फेरि म जसरी पढौं तिमीलाई के को खसखस नि ?’

अहिले मूलधारको राजनैतिक पार्टीहरूलाई यही चुनौती छ। के स्थानीय चुनावको निर्मम समीक्षा गरी सुध्रिएर आगामी संसदीय र प्रदेश चुनावमा टिकट वितरणमा चेत पुर्‍याउन सक्लान् ? अबको दिनमा जनचासोको मुद्दा के कसरी उठान गरी जनमन जित्दै विश्वास फर्काउन प्रयास गर्लान् ? तर नेताहरू यो बाटोमा छैनन्। पार्टीहरू उही सरदारको रवाफमा छन्।

लोकतन्त्रमा पार्टी प्रधान हुनैपर्छ तर अहिलेको चिन्तन र शैलीले जनता वाक्क छन्, आजित छन्। सुशासन र पारदर्शिता गुमनाम हुँदैछ। यता, यो वितृष्णाको चेतलाई बालेन र सुनिताले के कसरी सल्हाल्छन् – समयले नै बताउला। अहिलेलाई राम्रो सुरुवात र सफल अन्त्यको शुभकामना !

लेखकको बारेमा
रामशरण सिम्खडा

लन्डनमा बसोबास गरिरहेका सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उप-महासचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?