+
+

‘फोहोर चुनौती हैन, व्यवस्थापन गर्न जाने अवसर हो’

अब त विद्युतीय (ई) फोहोर पनि हामीमाझ चुनौती बनेर आउनेवाला छ । महामारीपछि त मेडिकल, शैक्षिकसहित अनेक क्षेत्रमा थुप्रै प्रविधि, उपकरण र ग्याजेट आएका छन् । अब केही समयमा ती फोहोरका रूपमा बाहिर आउने छन् ।

डा. ज्योति गिरी डा. ज्योति गिरी
२०७९ असार १० गते १०:३६

फोहोर व्यवस्थापनको मुद्दा अहिले जति पेचिलो छ, त्यति पेचिलो हुनुपर्ने होइन । हामी चेतनशील प्राणी हौं, फोहोर उत्सर्जन गर्ने सबै यसमा जिम्मेवार हुन्छन् । हामी सचेत हुने हो भने यो फोहोर सजिलै व्यवस्थापन हुन्छ ।

लामो समयदेखिका समस्या ज्युँका त्यूँ छन् । अहिलेको व्यवस्थापनको शैली तात्कालिक मात्रै हो । अब यसमा दीर्घकालीन सोच लिएर जानुपर्छ । काठमाडौंमा ठूला औद्योगिक क्षेत्र छैनन् । यहाँ उत्सर्जन हुने फोहोर भनेको बढीजसो हाम्रो घर, भान्छा र उपभोग्य वस्तुबाटै निस्कन्छ ।

यहाँ रसायनजन्य र ठूलो हानि गर्ने फोहोर निस्किंदैन । हामीले धेरैजसो त खाने फलफूल, तरकारीका बोक्रा, खेर फालिएका खानेकुरा, चाउचाउ बिस्कुटका र्‍यापर र प्लास्टिकका झोला नै बढी उत्सर्जन गर्छौं ।

काठमाडौंको मूल फोहोरको समस्या घरबाटै निस्कने फोहोर हुन् । यसको व्यवस्थापनको सहज बाटो भनेको घर–घरमै फोहोर छुट्याउने नै हो । जसले फोहोर उत्पादन गर्छ उसैले प्रकृतिअनुसारको फोहोर छुट्याउनुपर्छ ।

मल्टिलेयर कोटिङ भएका बिस्कुट, चाउचाउका प्लाष्टिकलाई सदुपयोग गर्ने हो भने त्यसबाट हामीले आम्दानी नै गर्न सक्छौं ।

हामी सबैलाई थाहा छ, तरकारी, फलफूलबाट निस्कने फोहोर त कुहिन्छ । प्रकृतिले नै त्यसलाई सजिलै कुहाइदिन्छ । त्यसरी कुहिने फोहोर कहाँ राखेर कुहाउने र त्यसबाट हामीले लाभ लिने कि नलिने भन्ने प्रश्न हो ।

अहिले शहरमा कौसी खेतीको चलन छ । यदि जैविक फोहोरलाई सदुपयोग गर्ने हो भने त्यो कौसी खेतीको लागि मल हो । अलि ढिलो कुहिने फोहोर छन् भने गड्यौलासँग मिसाएर व्यवस्थापन गर्न सकिन्छ । अरू पनि वैज्ञानिक विधि छन् ।

‘अग्र्यानिक वेस्ट’ घरमा व्यवस्थापन गर्न नसकिने अवस्था छ भने अरू पनि विकल्प छन् । हरेक दिन उत्पादन भएको त्यस्तो ताजा जैविक फोहोर वडा या टोलमा गाईवस्तुहरू राखेर पनि व्यवस्थापन गर्न सकिन्छ । गाईवस्तुहरूले खाएर गोबर निस्किन्छ ।

अब फोहोर उठाउन आउने संस्था र कम्पनीले फरक–फरक दिनमा जैविक र अन्य फोहोर उठाउँछौं भन्ने तय गर्नुपर्छ । मान्छेहरूले स्रोतमै फोहोर छुट्याए भने व्यवस्थापन पनि सहज हुन्छ । तर, जैविक फोहोर कहाँ लैजाने, प्लास्टिकजन्य फोहोर कहाँ लैजाने भनेर तय गर्नुपर्छ ।

त्यो गोबरबाट बायोग्याँस र बिजुली निकाल्न सकिन्छ । त्यसबाट निस्कने मलले त सबैभन्दा राम्रो उत्पादन हुन्छ, जुन खेतबारीमा लगेर प्रयोग गर्न कुनै असहजता छैन । त्यसरी पालिएका गाईवस्तुले त दूध दिए भने त्यसबाट अर्थोपार्जन गर्न सकिन्छ । मासु पसलहरूबाट निस्कने फोहोर हाँस, कुखुरा, सुँगुर पालेर डिस्पोज गर्न सकिन्छ ।

अस्पतालले बच्चाहरू जन्मिँदा निस्किएको सालनालबाट बायोग्याँस निकाल्न सक्छन् । जमिनमा गाडेर पुर्ने चिजबाट पनि ऊर्जा निकाल्न सक्छौं ।

घर–घरमा छुट्याइएका प्लास्टिकहरूको व्यवस्थापन भने घरमै हुन सक्दैन । त्यस्ता प्लास्टिकहरू व्यवस्थापन गर्ने छुट्टै ठाउँ चाहियो । यसलाई प्रविधिको प्रयोग गरेर रिसाइकल गर्ने प्रविधि भने हुनुपर्‍यो । यो काम नगरपालिका र फोहोर उठाउने संघ–संस्था र कम्पनीले गर्नुपर्छ ।

प्लाष्टिकहरूबाट तेल निकाल्ने, ब्रिकेट बनाउने, फ्लोरिङ र प्लास्टिकका दानाहरू बनाउने जस्तो प्रविधि पनि विकास भइरहेको छ । अब त्यो बाटोमा पनि जान सकिन्छ ।

अहिले फोहोर व्यवस्थापनमा ‘सेभेन–आर’ पोलिसी भन्ने गरिन्छ । ‘रिड्युस्’, ‘रियुज’ र ‘रिसाइकल’ सहित ‘रिडिजाइन’, ‘रिफर्मेसन’, ‘रिथिंक’ र ‘रिफ्युज’ पनि फोहोर व्यवस्थापनका लागि उपयोगी सूत्र हुन् ।

त्यसको आधारमा पनि जान सकिन्छ । कहिले कतिपय संस्थाले फोहोरका प्लास्टिकलाई धोएर आकर्षक ब्याग, चकटी जस्ता उपभोग्य वस्तु बनाउने काम पनि गरिरहेका छन् । एउटा अवस्थामा ती पनि फोहोरकै रूपमा परिणत हुन्छन्, त्यसपछि तिनैबाट ब्रिकेटहरू बनाउन सकिन्छ । ब्रिकेटहरू इँटाभट्टाहरूमा कोइलाको सट्टामा प्रयोग गर्न सकिन्छ ।

अब महानगरपालिका र नगरपालिकाहरू यिनै विधिबाट अघि बढ्नुपर्छ । हामी काठमाडौंमा धेरै फोहोर उत्पादन गर्दैनौं । एउटा ठूलो प्लान्ट काठमाडौंमा खडा भयो भने यहाँका सबै नगरहरूको फोहोर सजिलै व्यवस्थापन हुनसक्छ । सबै फोहोरलाई सिसडोल या बन्चरेडाँडा लैजाने हैन, सिसडोलमा त ती फोहोर जसलाई हामी केही गर्न सक्दैनौं, त्यसलाई लैजाने हो ।

यो सहजै व्यवस्थापन हुनसक्ने कुरा हो । अहिले काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वले अस्थायी रूपमा समाधानको बाटो त लिनुभएको छ तर, यसलाई स्थायी रूपमै व्यवस्थापन गरेर लैजाने हो भने फोहोरबाट पैसा पनि बनाउन सक्छौं, रोजगारी पनि दिन सक्छौं । सिसडोल र बन्चरेडाँडामा साँच्चिकैको ‘ल्यान्डफिल साइट’ बनाएर भविष्यमा ती क्षेत्रमा बस्ती या अन्य पूर्वाधार विकास गर्न सक्छौं । धैर्यका साथ योजनाबद्ध रूपमा अघि बढ्दा फोहोर समस्या नै हैन ।

अब फोहोर उठाउन आउने संस्था र कम्पनीले फरक–फरक दिनमा जैविक र अन्य फोहोर उठाउँछौं भन्ने तय गर्नुपर्छ । मान्छेहरूले स्रोतमै फोहोर छुट्याए भने व्यवस्थापन पनि सहज हुन्छ । तर, जैविक फोहोर कहाँ लैजाने, प्लास्टिकजन्य फोहोर कहाँ लैजाने भनेर तय गर्नुपर्छ ।

अझ महानगरले प्लास्टिकका सफा झोला ल्याए प्रतिकिलो यति रुपैयाँ प्रोत्साहनमूलक अनुदान दिन्छौं भन्यो भने समस्या समाधान गर्न सहज हुन्छ । तर, फोहोर व्यवस्थापनको काम सफल बनाउन हरेक व्यक्ति सजग, सचेत र जिम्मेवार हुनुपर्छ । यो अभियान हरेक घरको ढोकाबाट अघि बढ्नुपर्छ ।

कतिपय देश त उहिल्यै ‘शून्य फोहोर’को अवस्थामा पुगिसकेका छन् । अहिलेसम्म त हामीले जैविक र प्लाष्टिकजन्य फोहोरको कुरा मात्रै गरेका छौं । अब त विद्युतीय (ई) फोहोर पनि हामीमाझ चुनौती बनेर आउनेवाला छ । महामारीपछि त मेडिकल, शैक्षिकसहित अनेक क्षेत्रमा थुप्रै प्रविधि, उपकरण र ग्याजेट आएका छन् । ती अब केही समयमा फोहोरका रूपमा बाहिर आउने छन् ।

त्यसको व्यवस्थापनबारे हामीले सोचिसकेका छैनौं । त्यो त अझ ‘नेगेटिभ रिसाइकलिङ’को पक्ष हुन्छ । त्यसका लागि त ठूलो बजेट खर्चिनुपर्ने हुन्छ । हामी यसमा ‘अलर्ट’ हुनुपर्ने अवस्था आइसकेको छ । अहिले यहाँ उत्पादन भइरहेका फोहोर व्यवस्थापन त खासै जटिल नै होइन ।

अब दीर्घकालीन ढंगको व्यवस्थापनका लागि अघि बढ्यौं भने कस्तो खालको विधि, प्रविधि चाहिन्छ भन्ने अध्ययन गरेरै जानुपर्छ । यसमा प्राज्ञिक पक्ष पनि हेरौं । बाहिर कसरी काम भइरहेको छ भनेर अध्ययन गरौं ।

यदि हामी यो तरिकाबाट अघि बढ्यौं भने ठूलो चुनौती छैन, बरु जिम्मेवारपूर्ण रूपमा व्यवस्थापन गर्न सके यसले अवसरहरू सिर्जना गर्न सघाउँछ । यसका लागि व्यक्ति–व्यक्ति जिम्मेवार छन् भने सरकार र यस क्षेत्रमा काम गरिरहेका संस्था र कम्पनीले पनि वैज्ञानिक योजना बनाएर काम गर्न थालिहाल्नुपर्छ ।

(फोहोर व्यवस्थापन विज्ञ, त्रिचन्द्र कलेजकी सह–प्राध्यापक डा.गिरीसँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?