+
+

युद्ध सुरु भएपछि युक्रेनबाट ६ अर्ब ३९ करोडको आयात

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:३५

१० असार, काठमाडौं । रुस-युक्रेन युद्धकै बीच पनि नेपाल-युक्रेनसँग व्यापारले निरन्तरता पाएको देखिएको छ । भन्सार विभागले जारी गरेको ११ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार युद्ध सुरु भएपछि नेपालले युक्रेनबाट ६ अर्ब ३९ करोड २३ लाखको वस्तु आयात गरेको देखिएको हो ।

निर्यात १९ लाख २९ हजार रुपैयाँले स्थिर छ । रुसले युक्रेनविरुद्ध फागुन १२ गते युद्ध सुरु गरेको थियो । त्यस अवधिसम्म नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तुहरु आयात गरेको भन्सारको विवरण उल्लेख थियो । तर, जेठ अन्तिमसम्म युक्रेनबाट नेपालले २० अर्ब ८१ करोड ५६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

भन्सार विभागको विवरणअनुसार नेपालले युक्रेनबाट खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण  र तयारी कपडा आयात गर्दै आएको छ । गत आर्थिक वर्ष नेपालले युक्रेनबाट ३५४ प्रकारका वस्तु आयात गरेको थियो । नेपालबाट भने कार्पेट, चिया र चित्रकलाका सामानहरु युक्रेन निर्यात हुन्छ ।

युद्ध सुरु हुनुअघि माघमा नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । युद्धको पहिलो महिना फागुनसम्म यस्तो आयात ४ अर्ब बढीले बढेर १८ अर्ब ५ करोड ५ लाख रुपैयाँ पुग्यो ।

यस्तै चैतमा १९ अर्ब २५ करोड ५५ लाख, वैशाखमा २० अर्ब ४० करोड ९० लाख र जेठमा २० अर्ब ८१ करोड ५६ लाखको वस्तु आयात भयो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार ०७७/७८ मा नेपालले युक्रेनबाट १७ अर्ब १७ करोड ६८ लाखको वस्तु आयात गरेको थियो ।

सो वर्ष नेपालबाट युक्रेनतर्फ हुने निर्यात २२ लाख ८६ हजार मात्रै थियो । यस्तै ०७६/०७७ मा नेपालमा १० अर्ब २२ करोड २६ लाख मूल्य बराबरको वस्तु आयात भएको थियो । नेपाली व्यवसायीले प्रमुख मात्रामा सनफ्लावर, भटमास र तोरीको तेलको कच्चा पदार्थ युक्रेनबाट भित्र्याएर प्रशोधन गर्दै भारततर्फ बिक्री गर्ने गरेका थिए ।

तर, चालु आवको जेठसम्म नेपालले भारतमा ५४ अर्ब रुपैयाँको खाने तेल निर्यात गरेको छ । भटमास सुर्यमुखी गरेर यो परिमाणमा तेल भारत निर्यात गरेको भन्सारको विवरणमा देखिन्छ । नेपालले ४६ अर्ब ५८ करोड रुपैयाँ भन्दा बढीको १९ करोड २ लाख किलो भटमासको तेल भारत निर्यात गरेको थियो । यस्तै ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको सुनफ्लावर तेल नेपालले भारत निर्यात गरेको थियो ।

नेपाल वनस्पती घ्यु तेल उत्पादक संघकाअनुसार युक्रेनसँगको सनफ्लावर तेलको परनिर्भरता अहिले शत प्रतिशत टुटेको छ । त्यबाहेकका अन्य सिपमेन्ट भइसकेका वस्तुहरुको ढिला भन्सार पास भएका कारण विवरमा देखिएको संघले जनाएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुबाट भटमासको माग धानिएका कारण ठूलो समस्या नदेखिएको संघका अध्यक्ष सन्दीप अग्रवालले बताए । भारत सरकारको नीति र नेपाल सरकारको आर्थिक विधेयकपछि लिटरमा ३० देखि ४० रुपैयाँसम्म व्यपारीलाई तेलमा घाटा रहेको मोरङ व्यापार संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?