
काठमाडौं । ‘छक्कापञ्जा’ समूहबाट अलग भएका तीन जना निर्माताले नयाँ कमेडी फिल्म निर्माण गर्ने भएका छन् । दशैंपछि छायांकन सुरु हुने फिल्मलाई दिनेश डीसीले निर्देशन गर्ने तय भएको छ ।
विगतमा दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा रहेर काम गरिसकेका जितु नेपाल, सुमन गिरी भाञ्जा र ताराचन्द्र बजगाईं निशानले नयाँ फिल्म निर्माणको तयारी थालेका हुन् ।
यो फिल्मको पटकथा अहिले जितुले लेखिरहेका छन् । कमेडी विधामा निर्माण हुने फिल्मको लेखन अन्तिम तयारीमा पुगेको गिरीले जानकारी दिए । ‘दशैंपछि छायांकन तयारीमा छौं,’ उनले भने ।
निर्देशक डीसीले पनि फिल्मको तयारी सुरु भएको बताए । डीसी अहिले बायोपिक फिल्म ‘सर्वजीत’को छायांकन तयारीमा छन् भने यो फिल्म सकिएपछि मात्र नयाँ फिल्म सुरु हुनेछ ।
यसैबीच, जितु नेपालको टीभी शो ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ लाई पनि डीसीले नै निर्देशन गर्ने भएका छन् । साउन दोस्रो सातादेखि प्रसारण थाल्ने गरी जितु शोको निर्माणमा जुटेका छन् ।
यसैबीच, दीपक र दीपाले निर्माण गर्न लागेको नयाँ फिल्मको पटकथा लेखन अन्तिम चरणमा पुगेको छ । फिल्मको साउन पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी छ ।
जितु, सुमन र ताराचन्द्रले दीपक-दीपासँग मिलेर छक्कापञ्जा सिरिजसहितका नयाँ फिल्ममा सहकार्य गरेका थिए ।
प्रतिक्रिया 4