+
+

स्वतन्त्र उम्मेदवारको सान्दर्भिकता

सन्तोष अधिकारी सन्तोष अधिकारी
२०७९ असार १४ गते १२:१४

हालसालै अष्ट्रेलियाको संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले कुल १७५ मध्ये १० सीटमा विजय प्राप्त गरी सनसनी मच्चाएका छन् । त्यस्तै नेपालमा पनि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशको राजधानी काठमाडौं लगायतका स्थानीय गाउँपालिका÷नगरपालिकामा स्वतन्त्र उम्मेदवारको विजयले नेपालको राजनीतिमा नयाँ तरङ्ग र बहस सृजना गरिदिएको छ ।

चर्चित र परिचित धेरै अनुहार आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा देखाइरहेका छन् । स्थानीय निकायका अध्यक्ष÷मेयर हुनु र सांसद हुनु जिम्मेवारी, क्षेत्राधिकार र जवाफदेहिताका हिसाबले फरक कुरा हुन् । अध्यक्ष/मेयर स्वायत्त निकाय नेतृत्व गर्दछन् जहाँ आफ्नो राजनैतिक दलको प्रभाव पर्न वा नपर्न सक्छ भने संसदमा दलको आवश्यकता र निर्देशनमा चल्नुपर्ने हुन्छ ।

स्वतन्त्र उम्मेदवारीको बढ्दो लोकप्रियताको अर्थ

नेपालमा २०४६ सालको आन्दोलन र प्रजातन्त्र पुनस्र्थापना पश्चात् बहुदलीय व्यवस्था लागु भयो र दलहरू स्थापना गरी राजनीति गर्न बाटो खुला भयो । तत्पश्चात् धेरै दल स्थापना भए । नेपालको राजनीतिमा केही दलहरूको मात्र उल्लेखनीय उपस्थिति भयो । विडम्बना दलहरूबाट नयाँ अनुहार र विकासका लागि प्रतिबद्धता देखिएन । बरु नेताहरू चरम भ्रष्टाचारमा लिप्त हुन पुगे ।

फलस्वरूप कहिल्यै कुनै देशको उपनिवेश नभएको देश विभिन्न शक्ति राष्ट्रहरूको राजनीतिक चलखेलमा रुमल्लिइरह्यो भने जनतामा स्थापित दल र नेताप्रति आकर्षण घट्दै गयो । युवाहरू खासगरी राजनीतिमा अवसर नपाइरहेको र आकर्षण पनि नभएको अवस्थामा स्वतन्त्र उम्मेदवारहरूले युवालाई राजनीतिमा एकताबद्ध हुन प्रेरित गरेको छ ।

आर्थिक रूपले सक्रिय युवामध्ये आधाभन्दा बढी काम र अध्ययनका लागि विदेशमा छन्, तिनलाई देश विकासका बारेमा सक्रिय बनाउन खोजेको छ । अनि राजनीति कुनै दल विना पनि गर्न सकिन्छ भन्ने आशा देखाउन खोजेको छ । प्रायः उम्मेदवारीका आकांक्षीहरू पनि युवा नै भएकोले यसले सबैभन्दा ठूलो युवा जमातको प्रतिनिधित्व गर्न खोजेको जस्तो आभाष हुन्छ ।

फाइदाहरू

हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामबाट स्थापित दलहरूलाई जनताको समस्याका बारेमा जानकार, समस्या समाधानका लागि नवीनतम सोच र काम गर्नै पर्छ भन्ने प्रवृत्ति भएको र जनतामा राम्रोसँग भिजेको (चर्चित र परिचित) व्यक्तिहरूलाई नेतृत्वको अवसर दिनुपर्ने दबाव दिएको छ । सबै दलहरूले यसो गर्दा स्वस्थ प्रतिस्पर्धा पनि हुनसक्ने देखिएको छ ।

निर्वाचन अघि गरेका प्रतिबद्धता अनुरूप विजयी भई पटक–पटक अवसर पाइरहेका तर अवसरलाई जनहितमा बदल्न चुकेका नेताहरूलाई चुनौती हुन सक्छ । दल भनेको नेताहरूको समूह हो । हरेक उम्मेदवार र दलका सदस्यहरूलाई आफ्नो दल, दलको निर्वाचन प्रतिबद्धता र जनताको समस्याप्रति उत्तरदायी हुन दबाव दिएको छ ।

के गर्न सक्छन् ?

नेपालको संविधानले बहुमतीय प्रणालीको आधारमा सरकार गठन र राज्य संचालन परिकल्पना गरेको हुँदा स्वतन्त्र उम्मेदवार (विजयी भएमा स्वतन्त्र विधायक) ले गर्न सक्ने महत्वपूर्ण काम भनेको आवाज उठाउने हो ।

सडकमा आवाज उठाउनु भन्दा प्रतिनिधिसभामा आवाज उठाउनु वा उठाउन पाउनु बढी शक्तिशाली हुन्छ । यदि स्वतन्त्र विधायकको संख्या र मुद्दा एकीकृत गर्न सके त्यसले बाध्यकारी अवस्था पनि सृजना गर्न सक्छ ।

निर्वाचन स्वतन्त्र भएर होइन स्पष्ट भएर चाहिं जितिने रहेछ । त्यो भन्दा पनि भोट हाल्ने भोटरको समस्या बुझेर समाधान पनि गर्न सक्ने विश्वास दिलाउन सक्नुपर्ने रहेछ । यसो हुँदा देश, जनता र नेता सबैको भलो हुने निश्चितप्रायः हो ।

‘एकले थुकी सुकी सयले थुकी नदी’ भने जस्तो स्वतन्त्रहरूको बाहुल्य भएको खण्डमा वा संगठित हुनसकेमा त्यसले संसद/प्रतिनिधिसभामा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । नेपालको संसदमा प्रत्यक्ष र समानुपातिक गरी दलबाट प्रतिनिधिहरू चुनिने भएकोले कुनै एक दलले बहुमतीय सरकार बनाउन कुनै चमत्कार नै हुनुपर्ने वा ठूलै गठबन्धन गर्नुपर्ने अवस्थामा हुँदा स्वतन्त्रहरूको उल्लेख्य संख्या हुन गएमा सरकार समीकरणमा निर्णायक हुनसक्ने सम्भावना जीवितै छ ।

साथै, आम जनताले वैकल्पिक शक्ति÷दलको चाहना गरिरहेको तर वैकल्पिक दल भनेर अघि सरेका कुनै पनि दल र अभियानले राजनीतिमा खासै प्रभाव पार्न नसकेको अवस्थामा स्वतन्त्रहरू वैकल्पिकको पनि विकल्प भएर राजनीतिमा आउन सक्दछन् ।

जोखिम

धेरैले परिकल्पना गरे जस्तै स्वतन्त्रहरू मूल राजनीतिमा आएर परिवर्तन ल्याउने आशा जागे पनि यसका जोखिम पनि छन् । उनीहरू संसदमा प्रवेश पाए पनि संस्थागत नभएको अवस्थामा व्यक्ति केन्द्रित राजनीति हुन जान्छ जसले अहिलेको वर्तमान संसदीय व्यवस्थामा ठूलो परिवर्तन र प्रभाव पार्न सक्ने सम्भावना कमै छ । प्रत्यक्ष निर्वाचित कार्यकारी भएको अवस्थामा भने यसको महत्व र आवश्यकता धेरै हुन सक्छ ।

स्थानीय निकायका निर्वाचनमा स्वतन्त्रको आगमन त्यसैको उदाहरण हो । स्थानीय निकायमा अध्यक्ष÷मेयरबाट जनताका स्थानीय आवश्यकता पूरा गर्ने सम्भावना धेरै हुन्छ जसको तुलनामा संघीय सांसदहरूलाई जनताको अपेक्षा पूरा गर्ने क्षमता कम हुन्छ ।

यद्यपि, सांसद विकास कोषको परिचालनबाट पनि धेरै काम गर्न सकिने सम्भावना भने छँदैछ । बहुमत नपुगेको अवस्थामा सत्ता समीकरणमा साना दल र प्रतिनिधिहरूको पनि महत्वपूर्ण भूमिका हुनसक्ने भएकोले यसको फाइदाको साथै सत्ता समीकरणको घिनलाग्दो खेल पनि हुनसक्ने जोखिम छँदैछ ।

के गर्नुपर्ला ?

संसदमा को जाने को नजाने भनेर निर्णय गर्ने अधिकार आवधिक निर्वाचनको माध्यमबाट जनतालाई दिएको छ । उनीहरूले नै जनताको आशा र भरोसाको प्रतिनिधित्व गर्ने हो । प्रदेशसभा र स्थानीय निकायबाट निर्वाचित पदाधिकारीहरूको पनि राष्ट्रिय सभामा मताधिकार हुने भएकाले उनीहरूको माध्यमबाट राष्ट्रिय सभामार्फत कानून निर्माणमा सघाउ पुग्ने भएकोले आफ्नो मताधिकार बडो होशियारीका साथ प्रयोग गर्नुपर्ने हुन्छ ।

यो लेख लेख्दै गर्दा महत्वपूर्ण घटनाक्रम विकास हुँदै गए । काठमाडौंको केही क्षेत्रहरूमा पुकार बम, रञ्जु दर्शना, सुमन साय्मि, लगायत स्वतन्त्र उम्मेदवारका रूपमा आगामी निर्वाचनमा भाग लिने भन्दै आफ्नो उम्मेदवारी घोषणा र घरदैलो समेत गरिरहेका छन् भने रवि लामिछानेले त नयाँ पार्टी नै घोषणा गर्न भ्याएका छन् ।

रमेश खरेलले गत वर्ष नै पार्टी स्थापना गरी यसपालिको निर्वाचनमा भिड्न तयार छन् । चुनावको मिति नजिकिंदै जाँदासम्म विभिन्न उथलपुथल, गठबन्धन र विकासक्रमको साक्षात्कार गर्नु नै छ ।

र अन्त्यमा, वैकल्पिक राजनीतिमा नयाँ अनुहार देखिनु स्वाभाविक हो । बालेन र हर्कको काम र विजयबाट स्वतन्त्र र नयाँ अनुहार अघि आए पनि त्यस्ता थुप्रै स्वतन्त्र उम्मेदवार आकांक्षी भएको र केहीले मात्रै विजय हासिल गरेको यथार्थ हो ।

निर्वाचन स्वतन्त्र भएर होइन स्पष्ट भएर चाहिं जितिने रहेछ । त्योभन्दा पनि भोट हाल्ने भोटरको समस्या बुझेर समाधान पनि गर्न सक्ने विश्वास दिलाउन सक्नुपर्ने रहेछ । यसो हुँदा देश, जनता र नेता सबैको भलो हुने निश्चितप्रायः हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?