+

कोभिड-१९, क्षयरोग र पोषण

२०७९ असार  १४ गते १५:१५ २०७९ असार १४ गते १५:१५
कोभिड-१९, क्षयरोग र पोषण

कोभिड–१९ ले विश्वलाई आक्रान्त पार्न थालेपछि नेपाललगायत धेरै देशले भाइरसको संक्रमणलाई रोक्न लकडाउन घोषणा गरेका थिए । लकडाउन जस्तो कडा उपायले व्यक्तिको आम्दानी घटाउने, खाद्य आपूर्तिमा अवरोध ल्याउने र स्वास्थ्य सेवाको पहुँचमा असर पुर्‍याउने काम गरेको थियो जसले गर्दा खाद्य र पोषणको गम्भीर संकट सिर्जना गरेको थियो ।

कम ज्याला पाएका कारण ग्रामीण घरपरिवारमा बस्ने, विशेषगरी सबैभन्दा कमजोर वृद्धवृद्धा र बालबालिकासँग पर्याप्त खानाको उपलब्धता नभएको कारणले दीर्घकालीन स्वास्थ्य अवस्थालाई जोखिममा पार्नु स्वाभाविक थियो ।

नेपाल चरम गरिबी, गम्भीर कुपोषण र संक्रमणको चपेटामा रहिआएको छ । नेपालले पहिलादेखि नै खाद्य र पोषण असुरक्षाको दोहोरो र कुपोषणको कारण तेहरो बोझ सामना गर्दै आएको छ ।

गरिबी, भोकमरी र कुपोषणले सक्रिय क्षयरोगको सम्भावना र रोगको गम्भीरता पनि बढाउँछ । नेपालमा अझै पनि एक चौथाइ जनसंख्या गरिबीको रेखामुनि छन्, जसले गर्दा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन (उमेर अनुसार उचाइ नहुनु), न्यून वजन (उमेर अनुसार को वजन नहुनु) र ख्याउटेपन (उचाइ अनुसार वजन नहुनु) जस्ता कुपोषित अवस्था भएको पाइन्छ । यस्तो अवस्थामा व्यापक रूपमा संक्रमण गराउन सक्ने क्षयरोग अर्को खतरनाक शत्रु बन्न पुग्छ ।

हामीले कोभिड–१९ को सामना त गर्‍यौं तर, कुपोषण क्षयरोगको कारण र परिणाम दुवै हुन सक्छ भन्ने तथ्य बिर्सियौं । नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रतिवेदन २०२० ले नेपालमा १० लाखभन्दा बढी क्षयरोगी बाँचिरहेको देखाएको छ ।

यो संख्या पहिले अनुमान गरिएको भन्दा धेरै हो तर महामारीको समयमा धेरै बिरामीको उपचारमा पहुँच नपुगेका कारण यो संख्या बढेको अनुमान गर्न सकिन्छ । नेपालमा, विशेषगरी बालबालिकामा कमजोर पोषण स्थिति र रक्तअल्पताले क्षयरोग हुनुमा महत्वपूर्ण भूमिका खेलेको अध्ययनले देखाएका छन् ।

यो किन महत्वपूर्ण छ ? किनभने कुपोषणले रोगको गम्भीरता बढाउन सक्छ, निको हुनलाई ढिलो गर्न सक्छ, मृत्युको सम्भावना बढाउन सक्छ र बिरामीहरूलाई औषधिबाट गम्भीर साइड इफेक्टहरू भोग्ने सम्भावना बढाउँछ ।

कोभिड–१९ को प्रकोपले खाद्य असुरक्षालाई बढाएको छ जसले गर्दा प्रवासी र श्रमिक जनसंख्यालाई भोकमरी र कुपोषणको जोखिममा धकेलेको छ । लामो समयसम्मको कुपोषणले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ र सक्रिय क्षयरोगको जोखिम बढाउन सक्छ ।

नेपालमा अझै पनि एक चौथाइ जनसंख्या गरिबीको रेखामुनि छ । जसले गर्दा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन, न्यून वजन र ख्याउटेपन जस्ता कुपोषणका लक्षण देख्न सकिन्छ ।

त्यस्तै क्षयरोगले कुपोषण बनाउन भूमिका खेल्छ र बिरामीको तौल घटाउँछ । रोगले भोक कम गर्छ, ज्वरोले क्यालोरी खर्च हुने दर बढाउँछ र अन्त्यमा, क्षयरोगले प्रोटिन नष्ट गर्ने र मांसपेशी कमजोर बनाउने गर्छ, जसको कारण व्यक्तिको उचाइ अनुसार तौल कम हुँदै जान्छ । कम पोषणले बिरामीहरूलाई उपचार गर्दा र निको भइसकेपछि पनि चुनौती दिन्छ ।

कुपोषणले निको हुने दर पनि घटाउँछ । पर्याप्त पोषण भएका बिरामीहरूको तुलनामा गम्भीर रूपमा कुपोषित बिरामीहरूको मृत्यु हुने सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ । न्यून पोषणले मांसपेशीलाई कमजोर बनाएका कारणले शारीरिक गतिविधिमा असर गर्नुका साथै रोग पुनः दोहोरिने सम्भावना पनि बढाउँछ ।

त्यसो भए के गर्न सकिन्छ ?

कोभिड महामारी अघि नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमले देशमा बहुऔषधि प्रतिरोधी क्षयरोग (डीआरटिबी) का बिरामीहरूलाई सामाजिक सुरक्षा लागतको रूपमा प्रति बिरामी प्रति महिना ३ हजार रुपैयाँको पोषण र यातायात भत्ता उपलब्ध गराएको थियो ।

यो कार्यक्रम महामारी पछि पनि जारी रह्यो कि रहेन भन्ने कुराको जानकारी छैन किनभने ‘कोभिड–१९ क्षयरोग कार्यक्रमको तयारी, प्रतिक्रिया र सिकेको पाठ’ प्रतिवेदनमा यसको निरन्तरताको बारेमा उल्लेख गरिएको छैन । तर के यो पर्याप्त हुनेछ ?

पहिले नै सुस्त अर्थतन्त्रमा जागिर गुमाउँदा बिरामी र परिवारहरू हतास हुन्छन् । बन्दाबन्दी, निरन्तर बसाइँसराइ, अर्थतन्त्रमा हुने अनौपचारिक घाटाका कारण खाद्य सुरक्षा र पोषणको स्तर घट्ने र भोकमरी बढ्ने सम्भावना हुन्छ । यसले व्यक्तिको रोग प्रतिरक्षा प्रणालीमा दीर्घकालीन प्रभाव पार्नेछ र अव्यक्त (ल्याटिन) क्षयरोगीको संख्या बढाउने छ ।

तसर्थ बेरोजगार र आप्रवासी लगायत गरिब कमजोर जनसंख्यालाई लक्षित गरी फराकिलो र व्यापक खाद्य सुरक्षाको व्यवस्थापन गर्न जरूरी छ । क्षयरोगबाट बढी प्रभावित हुने समुदायहरूका लागि पनि खाद्य सुरक्षा सम्बन्धी विशेष कार्यक्रमको आवश्यकता देखिएको छ । मानिसहरूलाई यस्ता क्रियाकलापमा संलग्न गराउन सार्वजनिक कार्यक्रम आयोजना गर्न पनि सञ्चारको भूमिका रहन्छ ।

सबै प्रकारले उपचार भन्दा रोगको रोकथाम गर्नु नै राम्रो उपाय हो । गरिब र जोखिमपूर्ण समूहका जनसंख्यालाई पोषणसम्बन्धी आर्थिक सहयोग सुनिश्चित गर्न जरूरी छ । क्षयरोगको प्रकोप घटाउन प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम र जिम्मेवारी दिन आवश्यक हुन्छ ।

जसले खोप कार्यक्रम, पोषण सहयोग र हेरचाह जारी राख्न मद्दत पुग्ने हुन्छ । हामीले तुरुन्तै भोकमरी र क्षयरोगलाई सँगै सम्बोधन गर्न आवश्यक छ । कुनै पनि ढिलाइ जनसंख्या स्वास्थ्यको लागि अपराध सावित हुन सक्छ ।

(श्रेष्ठ जनस्वास्थ्यकर्मी हुन् ।)

कोभिड १९ क्षयरोग पोषण
लेखक
विनिका श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय