+
+

थकित वामदेवको ‘साम्राज्य सपना’

पार्टी विभाजन भइसकेपछि वामदेव गौतम भने निरन्तर ‘फुट्नुअघिको नेकपा फेरि बनाऔं’ भनिरहेका छन् । जबकी स्वयं वामदेव गौतमकै राजनीतिक पृष्ठभूमि र उमेरले पनि एकता अभियान तथा नयाँ पार्टी निर्माण दुवै सहज देखिँदैन ।

सइन्द्र राई सइन्द्र राई
२०७९ असार १६ गते २०:०८

१६ असार, काठमाडौं । दिनभर वर्षा नथामिएको बुधबार किसान र कृषि क्षेत्रको समर्थनमा थुप्रै नेता खेतमै पुगे, हिलो छोएर धान दिवस मनाए । किसान र तिनको एजेण्डालाई ५२ वर्षदेखि साथ दिँदै आएका वामदेव गौतमलाई भने यसपटकको ‘असार १५’ प्राथमिकतामा परेन । ०२७ सालको किसान आन्दोलनबाटै यो क्षेत्रसँग जोडिएका गौतमलाई यसपटकको धान दिवस प्राथमिकतामा नपर्नुको कारण भने नयाँ पार्टी निर्माणको दौडधुप हो ।

गौतमले १४ असारमा मात्रै आफ्नै संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति रहेको ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका छन् । ‘भर्खर पार्टी घोषणा गरेका छौं । भेटघाट र कुराकानी धेरै भयो । फुर्सद नै मिलेन’, नवगठित पार्टीका सचिव डीबी कार्की भन्छन् । गौतमले लामो समय किसान संगठनको नेतृत्व लिँदै आएकाले पनि धान दिवसमा उनको खोजी स्वभाविक हो । ३ जेठ २०७५ मा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गौतमले नै अखिल नेपाल किसान महासंघको नेतृत्व गरे । त्यसअघि एमाले हुँदा पनि उनको रोजाइ किसान महासंघ नै हुने गरेको थियो ।

तर ५ पुस २०७७ मा नेकपा विभाजित भएपछि कतै नलागेका वामदेवसँग कुनै किसान संगठन रहेन । नेकपा हुँदा आफ्नै नेतृत्वमा रहेको किसान महासंघका नेताहरू अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट संगठनमा छन् । गौतमलाई नजिकबाट साथ दिएका नेता बलराम बास्कोटाकै नेतृत्वमा एकीकृत समाजवादी निकट किसान महासंघ सक्रिय छ । किसान संगठन पृष्ठभूमिकै अर्का नेता हरी पराजुली पनि गौतमसँग अलग भएका छन् ।

११ असारको साँझसम्म पराजुलीले गौतमलाई साथ दिएका थिए । ‘एउटा मान्छे दुई वटा पार्टीमा रहने कुरा भएन । अभियानमा साथ दिएकै हो, पार्टी नै बनाउँछु भनेपछि शुभकामना भनेँ’, पराजुली भन्छन् । पराजुली, गएको वर्ष २ भदौमा एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा छन् । तर पनि गौतमको गतिविधिमा साथ दिंदै आएका थिए ।

नेकपा विभाजित भएपछि गौतमले दुई वटा औपचारिक कार्यक्रम गरे, १४ माघ ०७७ मा ६५१ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान घोषणा र ६ चैत ०७७ मा अखिल नेपाल किसान महासंघको केन्द्रीय समिति बैठक । यो दुवै कार्यक्रममा पराजुली र बाँस्कोटा थिए । केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामवीर मानन्धर, धनबहादुर बुढाहरूले भने नेकपा विभाजनसँगै गौतमलाई छोडे । त्यो सहजता पनि गौतमले नै दिएका थिए । उनको तर्क थियो– विभाजित नेकपा फेरि एकताबद्ध भएरै छोड्ने भएकाले तत्काल जता लागे पनि भयो ।’

गौतमका धेरैजसो समर्थक एकीकृत समाजवादीमा छन् । त्यस्तो वातावरण पनि गौतमले नै तयार पारेका हुन् । गएको वर्ष वैशाख अन्तिम साता गौतमले स्वयंले माधव नेपाल र झलनाथ खनालले अलग पार्टी बनाए त्यतै लाग्ने अभिव्यक्ति दिएका थिए । एकीकृत समाजवादी दर्ता गर्न गौतम पत्नी तुलसा थापाले हस्ताक्षर नै गरिन्, तर ढिलो भयो भन्दै निर्वाचन आयोगले मानेन । लगत्तै, १८ भदौमा एमाले उपाध्यक्षबाट राजीनामा गरेका गौतमले गत स्थानीय चुनावमा एकीकृत समाजवादीका निम्ति गीत नै लेखे ।

तर एकीकृत समाजवादी बनेको १० महिना र नेकपा विभाजनको २० महिनामा गौतम आफैंले नयाँ पार्टी घोषणा गरे, जुन बेला उनी लगभग एक्लो छन् । राष्ट्रिय राजनीतिले चिनेका कोही पनि गौतमको साथमा छैनन् । १४ असारमा पार्टी घोषणा गरिरहँदा प्रश्न नै आयो– पत्नी, छोरा र स्वकीय सचिवलाई केन्द्रीय सदस्य राखेर कसरी पार्टी बन्छ ? ७४ वर्षीय वामदेव गौतम भने शक्तिशाली कम्युनिष्ट पार्टी फेरि पनि सम्भव देख्छन् । ‘मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उदघाटन गर्ने बेलामा नेपाल चकित हुनेछ । लाखौं व्यक्तिहरू यो पार्टीको वरपर गोलबन्द हुनेछन्’, उनको विश्वास छ ।

त्यो वैभव, यो वामदेव

पार्टी सचिव बनेर गौतमलाई साथ दिएका डीबी कार्की, कम्युनिष्ट आन्दोलन जोगाउन नयाँ यात्रा थाल्नुपरेको बताउँछन् । ‘राजनीतिक र प्राकृतिक घटना उस्तै–उस्तै हुन्छन्, जसरी प्रकृति गतिशील र परिवर्तनशील छ, राजनीति पनि त्यस्तै हुन्छ’ कार्की भन्छन्, ‘कम्युनिष्ट आन्दोलन पनि ४६ पटक विभाजन र ४५ पटक एकता भयो । त्यो धेरैजसो एकतामा वामदेव कमरेड संलग्न हुनुहुन्छ ।’

तर नयाँ पार्टी घोषणाले तत्काललाई भने कम्युनिष्ट आन्दोलन एकतावद्ध नभएर अर्को पार्टी थपिन पुगेको छ । नेकपाभित्रको अन्तरकलह व्यवस्थापन हुन नसक्दा उत्पन्न परिस्थितिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनिसकेको थियो । गौतम नेतृत्वको पार्टी थपिदा अब नेकपाको विभाजन संख्या चार पुगेको छ ।

सचिव कार्कीका अनुसार, तीन महिनासम्म पार्टी एकताकै अभियान चल्नेछ । तर त्यो अवधिमा पार्टी संरचनामा पनि निर्माण हुनेछ । जनसंगठन, जिल्ला, पालिका र वडा समिति गठनलाई तीव्रता दिइने कार्ययोजना बनाएको यो पार्टीका नेताहरू आगामी संघ र प्रदेशसभा चुनावमा भाग लिनेछन् । राजनीतिक मार्गदर्शक सिद्धान्त भने एमालेले मान्ने जनताको बहुदलीय जनवाद (जबज) नै हुने गौतमले प्रष्ट पारेका छन् ।

चुनावसम्म एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल समेत नहुने अवस्था आए दर्ता भएकै दलका तर्फबाट उम्मेदवारी दिनेमा पनि यो पार्टी प्रष्ट छ । ‘हाम्रो पार्टीमा दर्ता भएकै दल समाजवादी केन्द्र र जन समाजवादीका प्रतिनिधि पनि हुनुभएकाले त्यहीबाट चुनाव लड्छौं’ एक नेता भन्छन्, ‘तर त्योभन्दा अगाडि एकतामै जोड दिने हो ।’

यदि पहिलो सर्त अनुसार एकता अभियान सफल भएन र आयोगको दल दर्ता किताबमा सीमित दलका तर्फबाट चुनावमा भाग लिने अवस्था आउनु चाहिँ गौतमको राजनीतिक जीवनकै कठिन मोड हुनेछ । किनकि गौतमसँग पञ्चायतकालीन कठिन संघर्षको विगत मात्रै होइन, पटक–पटक मुलुककै नेतृत्व गरेको एमालेसँग जोडिएको बलियो विरासत छ ।

तीन पटक (२०५३, ०६५ र ०७०) त उपप्रधानमन्त्रीसहित वामदेव गौतम गृहमन्त्री भए । पहिलोपटक ८ महिना, दोस्रोपटक ९ महिना र तेस्रोपटक २० महिना गृहमन्त्री भए । उनको राजनीतिक सम्बन्ध, संगत र संघर्ष पनि उत्तिकै बलियो छ । २६ असार २००५ सालमा प्यूठानमा जन्मिएका गौतमले कम्युनिष्ट आन्दोलनको अनेक रुप देखे, भोगेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल एमाले निर्माणमा गौतम, एक मुख्य पात्र हुन् ।

मदन भण्डारी, मोदनाथ प्रश्रित, जिवराज आश्रितसँगै उनी मुक्ति मोर्चा समूहबाट २०३४ सालमा कोर्डिनेशन केन्द्रमा समाहित भएका थिए । मदन भण्डारीले ०३५ सालमा बनेको मालेको नेतृत्व नै गरे, मार्क्सवादीसँग एकता गरेर एमाले बनाए । जबजको सैद्धान्तिक कार्यक्रम अगाडि बढाए । प्रश्रित र जिवराजको कम्युनिष्ट आन्दोलनमा अग्लै व्यक्तित्व छ । त्यो अवधिमा (पञ्चायतमा) गौतमले पनि नारायणी पश्चिमका क्षेत्रमा संगठन बिस्तार गरे । चौथो महाधिवेशनमा केन्द्रीय सदस्य र पाँचौं महाधिवेशनमा पोलिटब्यूरो सदस्य बनेका गौतमले ०५१ सालमा एमालेको कार्यवाहक नेतृत्व नै चलाए ।

मनमोहन अधिकारी प्रधानमन्त्री, माधवकुमार नेपाल परराष्ट्र र केपी ओली गृहमन्त्री भएर नौ महिने सरकार चलाउँदा वामदेवले उपमहासचिव बनेर पार्टी मोर्चा हाँकेका थिए । ‘त्यो बेला सरकार पनि हाइहाई भयो, पार्टी पनि व्यापक विस्तार भयो । ०५४ सालमा उहाँले गृहमन्त्री भएर स्थानीय चुनाव गराउँदा देशैभर पार्टीको बर्चश्व गराइदिनुभयो’, कार्की भन्छन् ।

तर एमालेभित्र देखिएको अन्तरविरोधकै कारण ०५४ सालमा पार्टी विभाजन भयो । तत्कालीन महासचिव माधवकुमार नेपाललाई केपी शर्मा ओली पक्षको साथ थियो भने गौतमसँग मालेकै संस्थापक सीपी मैनाली, आरके मैनाली लगायत थिए । त्यो बेला पार्टी विभाजन जस्तो अप्रिय निर्णयमा पनि प्रभावशाली र ठूलो संख्याका नेताहरुको साथ गौतमले पाए । तर ०५६ को चुनावमा विभाजित मालेले एक सिट पनि जित्न नसकेपछि दुई वर्षभित्रै फेरि एमालेमै समाहित भयो । सीपी र आरके सहित सानो संख्या मालेमै बसेपनि गौतमले एमालेमा राम्रो अवसर पाए ।

पुरानो पुस्ताका नेताहरुसँगै गौतमसँग घनश्याम भूसाल, योगेश भट्टराई, किरण गुरुङ, रघुबीर महासेठ, रवीन्द्र अधिकारी, यमलाल कँडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, रामवीर मानन्धर, धनबहादुर बुढा, गणेश ठगुन्ना, पद्मा अर्याल जस्तो पंक्तिको साथ थियो । यिनै युवा पंक्तिको साथमा गौतम एमालेभित्र निर्णायक भूमिकामा देखिए । गौतमको साथ जसले पाए, तिनै नेता पार्टीमा बहुमतमा देखिए, चुनाव जिते ।

०६५ सालको एमालेका आठौं महाधिवेशनमा गौतमले झलनाथ खनाललाई साथ दिए, केपी ओली अध्यक्ष पदमा पराजित भए । नवौं महाधिवेशनमा गौतमले ओलीलाई साथ दिए, माधव नेपाल अध्यक्ष पदमा पराजित भए । माओवादी केन्द्रसँग एकता भएर बनेको नेकपामा पनि गौतम नै निर्णायक बने । नेकपाको शक्तिशाली पार्टी संरचना सचिवालयको ९ सदस्यमा गौतम जता लाग्यो, उतै बहुमत पुग्ने अवस्था थियो ।

सपनामा प्रधानमन्त्री

०७४ को संघ तथा प्रदेशसभा निर्वाचनपछि शक्तिशाली कम्युनिष्ट पार्टी बनेको नेकपा विभाजनमा पनि गौतमको भूमिका एक कारक बन्यो । नयाँ पार्टी घोषणा गरिरहँदा गौतमले त्यो स्वीकारेका छन् । उनको भनाइ छ, ‘तथ्यको आधारमा कहिले केपी ओली र कहिले प्रचण्डलाई साथ दिएँ । पार्टी विभाजनमा त्यो पनि सहायक कारण बन्यो ।

मुख्यगरी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा दुई ठाउँ (बर्दिया र प्यूठान) बाट निर्वाचित भएपछि गौतममा देखिएको प्रधानमन्त्री बन्ने रहरले नै उनलाई अस्थिर बनाउन थालेको होे । गौतममा प्रधानमन्त्रीको सपना भने ओलीले नै भरिदिएका थिए । ०६५ मा अध्यक्ष जितेका झलनाथ खनाललाई संसदीय दलको नेता बन्न नदिन ओलीले गौतमको साथ मागे । बदलामा गौतमलाई प्रधानमन्त्रीको बचन ओलीले दिए । झलनाथ खनाल दलको नेता र अध्यक्ष हुँदा माधव नेपाल (०६६ मा) प्रधानमन्त्री बनेको नजीर एमालेमा ताजै थियो । नभन्दै, गौतमकै साथ पाएर ओलीले खनाललाई दलको नेता र माधव नेपाललाई पार्टी अध्यक्ष पदमा पराजित गरे ।

तर ०७२ को संविधान जारी भएपछि एमाले नेता प्रधानमन्त्री बन्ने अवसर आउँदा भने ओली नै अगाडि सरे । माओवादी केन्द्रसँग गठबन्धन बनाउन भूमिका खेलेका गौतम प्रधानमन्त्री बन्न पाएनन् । त्यसबेला ०७४ को चुनावपछि प्रधानमन्त्रीको आश्वासन उनलाई दिइयो । ०४८ र ०५१ मा जितेको बर्दिया–१ बाट ०७४ मा गौतम नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग झिनो मतान्तरले पराजित भए । सञ्जयले ४४ हजार ८२९ मत ल्याएर जित्दा वामदेवले ४४ हजार ७६ मत मात्रै ल्याए । दुई ठाउँबाट उम्मेदवारी दिन रोक लगाइएको र प्रत्यक्षतर्फ पराजितलाई त्यो अवधिर मनोनित गर्न नसकिने व्यवस्था संविधानमै गरिएको अवस्थामा गैरसांसदले प्रधानमन्त्रीको अवसर पाउने कुरै भएन । वाम गठबन्धनका उम्मेदवारले देशभर चुनाव जित्दा आफू पराजित हुनुमा प्रधानमन्त्री हुन नदिन अन्तर्घात गरिएको गौतमले निष्कर्ष निकाले ।

विष्णुप्रसाद पौडेल इन्चार्ज रहेको प्रदेश कमिटीले बैजनाथ चौधरी र जिल्लामा पार्टी अध्यक्ष हरी ज्ञवाली संयोजकत्वमा छानबिन समिति बनायो । तर त्यो छानबिन समितिले वामदेवको हारमा अन्तर्घात सहायक कारण मात्रै भएको रिपोर्ट तयार पार्‍यो ।

प्रधानमन्त्रीको सपनाले नै गौतम त्यही कार्यकालमा सांसद बन्ने विकल्पतिर लागे । आफू निकट डोल्पाका धनबहादुर बुढा वा काठमाडौं–७ का रामवीर मानन्धरलाई राजीनामा गराएर उपनिर्वाचनबाट सांसद बन्ने तयारी समेत गौतमले गरे । २३ असोज ०७६ मा मानन्धरले पार्टीमा (तत्कालीन नेकपामा) राजीनामा नै बुझाए, तर सार्वजनिक विरोधपछि नेकपाले राजीनामा स्वीकृत गरेन ।

पोखराका सांसद रवीन्द्र अधिकारीको निधनपछि १४ मंसिर २०७६ को उपनिर्वाचनमा पनि गौतमले चुनाव लड्ने इच्छा देखाएका थिए । तर जित्ने उम्मेदवार उठाउनुपर्ने भन्दै अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बनाइयो ।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको लोगो लगाइदिंदै

त्यही बेला नेकपाभित्रको संघर्ष चर्कियो । गौतमले प्रचण्ड र माधव नेपाल समूहलाई साथ दिएकाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली अल्पमतमा परे । ओलीको अनुकूलमा मात्रै पार्टी निर्णय हुन छाड्यो । १५–१९ माघ ०७६ मा बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकमा ओली अल्पमतमा परे । ओलीको चाहना विपरीत १४ फागुन ०७६ मा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने सचिवालयबाट निर्णय भयो । ओली भने आफू निकट डा. युवराज खतिवडालाई नै निरन्तरता दिँदै पाँचै वर्ष अर्थमन्त्री बनाउन चाहन्थे ।

पार्टीभित्र अल्पमतमा परेका ओलीले ८ वैशाख ०७७ मा दल विभाजन गर्ने र संवैधानिक नियुक्तसम्बन्धी दुई अध्यादेश ल्याए । चर्को दबावपछि ओलीले दुवै अध्यादेश फिर्ता लिए भने वामदेवलाई नै राष्ट्रियसभा मनोनितको निर्णय गरे । पार्टीभित्रको विवाद हल भएन । आठ महिना लामो पार्टी विवादमा गौतम कहिले ओलीतिर र कहिले प्रचण्ड–माधवतिर गरिरहे । त्यसको प्रमुख कारण भने दुवै समूहले प्रधानमन्त्रीको प्रलोभन देखाउनु थियो । गौतम पनि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने एजेण्डा अगाडि सार्थे । तर त्यो विवादले नेकपाको एकता नै संकटमा पर्यो । प्रधानमन्त्रीको हैसियतमा ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय गरेपछि नेकपा एकताबद्ध रहेन ।

नेकपा विभाजनकै कारण पाँच वर्षे जनादेश पाएर पनि ४० महिनामै शेरबहादुर देउवा प्रधानमन्त्री बने भने गएको स्थानीय चुनावमा कांग्रेस पहिलो दल बन्यो । तर पार्टी विभाजन भइसकेपछि भने वामदेव गौतम निरन्तर ‘फुट्नु अघिको नेकपा फेरि बनाऔं’ भनिरहेका छन् । जबकी स्वयं वामदेव गौतमकै राजनीतिक पृष्ठभूमि र उमेरले पनि एकता अभियान तथा नयाँ पार्टी निर्माण दुवै सहज देखिँदैन ।

तर नवगठित पार्टीका सचिव कार्की भने एकताबद्ध कम्युनिष्टको विकल्प नरहेकाले व्यक्तिगत रुपमा जस्तोसुकै नतिजा भोग्न तयार रहेको बताउँछन् । ‘निराश पक्कै छैनौं । हाम्रो संकल्प छ– कम्युनिष्ट आन्दोलनका निम्ति मैनबत्ती बन्न तयार छौं, उज्यालो सिर्जना गर्न जलेर सक्किन तयार छौं । यो मार्क्सवादी दर्शन हो’, उनी भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?