+
+

१५ वर्षको भयो आइफोन, सामसुङविरुद्ध तिखो टिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १८:४१

१६ असार, काठमाडौ् । सन् २००७ को जुन २९, एप्पलले मोबाइल फोनको दुनियामा स्मार्टफोनको एक नयाँ युग सुरु गरेको थियो र पहिलोपटक आइफोन सार्वजनिक गरेको थियो ।

एप्पलले पहिलो आइफोन सार्वजनि क गरेको १५ वर्ष पुगेको छ । आइफोनको १५औँ वार्षिकोत्सवको अवसरमा बुधबार वालस्ट्रिट जर्नलले एक नयाँ डकुमेन्ट्री प्रकाशित गरेको छ ।

उसो त उक्त वृत्तचित्रमा आइफोनका यादहरुलाई समेट्ने कोशिस गरिएको छ । जसमा एप्पलका मार्केटिङ प्रमुख ग्रेग जोसविक, आइफोनका सह सर्जक टोनी फाडेल र आइफोन प्रयोगकर्ताको एक परिवारको अन्तरवार्ता समावेश गरिएको छ ।

हामीलाई थाहा छ कि पूराना यादहरु भनेका केवल राम्रा मात्र हुँदैनन्, तिता मीठा दुवै हुन्छन् । यस्ता केही प्रसंगहरु छन् पनि आउँछन् जसले मानिसको हृदय दुखाउँछन् । एउटा यस्तै घटना अहिले पुनः चर्चामा छ ।

एप्पलका मार्केटिङ चिफले के भने ?

अन्तर्वार्ताको एक खण्डमा एन्ड्रोइड भर्सेस आइफोनको पूरानो लडाइको झलक देख्न सकिन्छ । त्यो यस्तो समय थियो जब आइफोनमा सानो आकारको स्क्रिन भएको बेला एन्ड्रोइड फोन भने ठूलो स्क्रिनसाथ आउन थालेका थिए ।

अन्तर्वार्तामा ग्रेग जोसविकलाई सामसुङ तथा अन्य एन्ड्रोइड फोन निर्माताहरुले आइफोनलाई कत्तिको प्रभाव पारे भनेर सोधियो । त्यसको जवाफमा ग्रेगले त्यो समय निकै दिक्क लगाउने खालको रहेको र एन्ड्रोइड फोन बनाउने कम्पनीहरुले नराम्रोसँग एप्पलको नक्कल गरिरहेको बताए ।

ग्रेगले भनेका छन्, ‘त्यसले दिक्क लगाउँथ्यो किनकी तपाईलाई थाहै छ उनीहरुले हाम्रो प्रविधिको बर्बाद गरिरहेका थिए । उनीहरुले हाम्रो आविष्कारलाई लिए र त्यसको खराब कपी तयार गरे । केवल ठूलो स्क्रिन जोडेर ।’

के हो खास घटना ?

वास्तवमा सामसुङ र एप्पलले एउटा लामो लडाइँ लडेका थिए, जसको रिस अझैपनि एप्पलमा कायमै रहेको देखिन्छ । सन् २०१३ मा सामसुङले ग्यालेक्सी एस ४ बजारमा ल्याएको थियो । उक्त फोनको स्क्रिन ५ इन्चको थियो ।

त्यसबेला आइफोन ५ बजारमा थियो । आइफोन ५ को स्क्रिन भने जम्मा ४ इन्चको थियो । सामसुङको ठूलो स्क्रिनवाला फोन लोकप्रिय भएको देखेको एप्पलले सन् २०१४ मा मात्रै आफ्नो पहिलो ठूलो स्क्रिनवाला आइफोन सार्वजनिक गर्यो । सन् २०१४ मा एप्पलले ४.७ इन्च स्क्रिन भएको आइफोन ६ तथा ५.५ इन्च स्क्रिन भएको आइफोन ६प्लस एकसाथ बजारमा ल्यायो ।

एप्पलले सन् २०११ मै सामसुङमाथि पेटेन्ट उल्लंघन गरको भन्दै मुद्दा हालेको थियो । सामसुुङले आइफोनमा रहेका होम बटन, होम मेन्यू समेतका विभिन्न फिचरहरुको नक्कल गरी बौद्धिक सम्पत्ति चोरी गरेको एप्पलको आरोप थियो । एप्पलले लगाएका कतिपय आरोपहरु अदालतबाट पुष्टि पनि भए र सामसुङले जरिवाना तिर्नुपर्‍यो ।

ठूला कम्पनीहरुबीचका धेरैजसो कानूनी लडाइँजस्तै यो मुद्दामा पनि नयाँ मोड आयो । अन्ततः एप्पल र सामसुङले सन् २०१८ मा पेटेन्ट उल्लंघनको मुद्दामा मेलमिलाप गरे । कति मूल्यमा घटना सामसुम भयो त्यो भने रहस्यको गर्भमै छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?