+
+

अलग हुने तयारीमा बाबुराम र उपेन्द्र

जसपाका नेताहरुका अनुसार २३ वैशाख २०७६ मा एकतामा आएका भट्टराई र यादव २७ र २८ असारमा वीरगञ्जमा बस्ने केन्द्रीय समितिको बैठकसँगै अलग हुने बाटोमा लाग्ने सम्भावना छ । एक पदाधिकारी भन्छन्, ‘दुबै पक्ष एक ठाउँमा बस्ने चाहेको छैन । निर्णयमा पुग्न केही दिन लाग्ला ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते २१:११

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अलग हुने स्थितिमा पुगेका छन् ।

नेताहरुका अनुसार दुई नेताबीच बुधबार भएको भेटले आपसी मतभेद कम गर्नुको सट्टा अविश्वास बढाएको छ । र, असार २७–२८ मा वीरगञ्जमा बोलाएको केन्द्रीय समितिको बैठकले पार्टी विभाजनलाई औपचारिकता दिने सम्भावना छ ।

गत साउनमा महन्थ ठाकुर पक्षलाई अल्पमतमा पार्ने बेला एक ठाउँमा उभिएका यादव र भट्टराई पक्षबीच झण्डै एक वर्षदेखि विवाद चलिरहेको थियो । स्थानीय चुनावअघि नै भट्टराई पक्षले त्यही बेला सके बहुमत जुटाउने नभए केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत जुटाएर नयाँ पार्टी बनाउने तयारी गरेको थियो ।

नजिकै चुनाव आइसकेका कारण त्यतिबेला भट्टराई पक्ष रोकियो । यादव पनि पार्टी सञ्चालनका लागि भट्टराई र वरिष्ठ नेता अशोक राईलाई राखेर हेडक्वार्टर बनाउने तथा स्थानीय चुनावको उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार राईलाई दिन सहमत भए ।

तर अध्यक्ष यादवले सहमति पालना नगरी एकलौटी ढंगले पार्टी चलाएको भट्टराई पक्षको आरोप छ । त्यही कारण चुनावलगत्तै भट्टराई पक्षले सके बहुमत जुटाउने, नभए पार्टी फुटाउन आवश्यक संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशतको समर्थन जुटाएर नयाँ पार्टी बनाउने तयारी थाल्यो । पछिल्लो समय भने पार्टीको समीकरणमा हेरफेर भयो ।

भट्टराईतिर लागेका ईस्तियाक राई, प्रदीप यादव लगायतका नेताहरु उपेन्द्र यादवतिर ढल्किए । बहुमत पु¥याउने दाबी गरेको भट्टराई पक्षमा ४० प्रतिशत पुग्न पनि हम्मेहम्मे पर्ने अवस्था आएको एक कार्यकारिणी सदस्यले जानकारी दिए । तर अध्यक्ष यादवसँग एउटै पार्टीमा मिलेर बस्ने अवस्था पनि छैन ।

त्यसैले संघीय परिषद्का अध्यक्ष भट्टराईले नै अध्यक्ष यादवलाई भेटेर छलफल गर्ने प्रस्ताव राखे । संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार दुई नेताबीच करिव दुई घण्टा वान टू वान वार्ता भयो । लगत्तै बसेको संसदीय दलको बैठकमा यादवले भट्टराईले आफूसँग विदाइ भेट गरेको ब्रिफिङ सुनाए ।

यादवले सञ्चार माध्यमहरुसँग संघीय परिषद् अध्यक्ष डा. भट्टराईले हार्दिकताका साथ अलग हुने प्रस्ताव राखेको र आफू पनि सहमत भएको बताए । भट्टराई निकट नेताहरुले पनि अध्यक्ष यादवको भनाइलाई पुष्टि गरेका थिए ।

तर बिहीबार आफू निकट कार्यकारिणी सदस्यहरुसँग भएको भेटमा भट्टराईले अहिले नै अलग भइहाल्ने प्रस्ताव आफूले नराखेको बताएका छन् । कार्यकारिणी सदस्य प्रशान्त सिंहका अनुसार अध्यक्ष यादवसँग भएको भेटबारे भट्टराईले बिहीबार ब्रिफिङ गरेका थिए ।

एकल निर्णय गर्दा पार्टीमा समस्या आउने भन्दै परामर्श गरेर मात्र अघि बढ्न सचेत गराएको भट्टराईले बताए । जीवन्त पार्टीमा अन्तरसंघर्ष हुनु स्वभाविक भएकाले यसलाई व्यक्तिगत रुपमा लिन नहुने र अतिरञ्जित प्रचार गर्न नहुनेमा आफूले जोड दिएको उनले बताए ।

यदि मिल्नै नसक्ने अवस्था आए हार्दिकताका साथ छुट्टिनुपर्नेमा आफूले जोड दिएको भट्टराईको ब्रिफिङ थियो । यसरी छुट्टिँदा एकले अर्कालाई कारबाही गर्ने जस्ता काम गर्न नहुनेमा समेत जोड दिएको भट्टराईले सुनाए ।

‘पार्टीमा देखिएका समस्याहरु समाधान गरौं भन्ने नै हाम्रो जोड हो,’ कार्यकारिणी सदस्य सिंह भन्छन्, ‘हुँदै भएन र छुट्टिनुपर्ने अवस्था आयो भने पनि सहमतिमै छुटौं भन्ने हो । आरोप प्रत्यारोप नगरौं भन्ने मात्र हो ।’ यादव पक्षले भने छुट्टिए झैं गरी प्रचार गरिएको भट्टराई पक्षको गुनासो छ ।

अध्यक्ष यादवले भने भट्टराईले नै अलग हुने प्रस्ताव राखेको र आफूले सहमति मात्र जनाएको बताएका छन् । बिहीबार आफूलाई भेट्न आएका नेताहरुसँग पनि उनले आफूले पार्टीबाट अलग हुनुस् नभनेको, मिलेर काम गरौं भन्ने नै चाहेको, तर एकसाथ नबस्ने निर्णयमै पुगेको भए नरोक्ने मात्र बताएको सुनाएका छन् ।

उनले केन्द्रीय समितिको बैठक यही असार २७ र २८ गते वीरगञ्जमा बोलाएका छन् । आफूहरुसँग परामर्श नगरी बैठक बोलाएको भन्दै भट्टराई पक्षले असन्तुष्टि जनाएको छ ।

शुक्रबार नेताहरुसँग परामर्श गरेपछि जाने कि नजाने भन्ने निर्णय हुने एक कार्यकारिणी सदस्यले बताए । यादव पक्षले भने सबैलाई खबर गर्ने, तर भट्टराई पक्ष नआए अघि बढ्ने तयारी गरेको देखिन्छ ।

नेताहरुका अनुसार २३ वैशाख २०७६ मा एकतामा आएका भट्टराई र यादव यो बैठकसँगै अलग हुने बाटोमा लाग्ने सम्भावना छ । एक पदाधिकारी भन्छन्, ‘दुबै पक्ष एक ठाउँमा बस्ने चाहेको छैन । निर्णयमा पुग्न केही दिन लाग्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?