
१७ असार, काठमाडौं । उच्च अदालतको आदेशपछि एक दिदीले भाइको मिर्गौला प्रत्यारोपण गरेकी छन् । विरामीको बाच्न पाउने हक हनन हुने भन्दै उच्च अदालत पाटनले मिर्गौला प्रत्यारोपणमा अवरोध नगर्नु भनी आदेश दिएको हो ।
अदालतले आदेश दिनुअघि उनीहरु सहोदर दिदीभाइ नदेखिएको भन्दै किष्ट मेडिकल कलेजको मिर्गौला प्रत्यरोपण स्विकृत समितिले मिर्गौला प्रत्यरोपणको निर्णय गर्न अस्वीकार गरेको थियो ।
राधा महर्जनको दुवै मिर्गौला फेल भई प्रत्यारोपण गर्नुपर्ने थियो । दिदी विरामी भएपछि उनका भाइ हरिगोपाल प्रजापति आफ्नो मिर्गौला दिन तयार भए । त्यसपछि शंखरापुर नगरपालिका–६ को वडा कार्यालयको सिफारिस, स्वास्थ्य परीक्षण र डीएनए परीक्षण प्रतिवेदन समेत पेश गरे ।
तर अन्तिममा किष्ट मेडिकल कलेजको दिदी भाइको जन्ममितिमा २३ दिनको मात्रै फरक देखिएको भन्दै किष्ट मेडिकल कलेजको समितिले प्रत्यारोपणको सिफारिस गरेन ।
मेडिकल कलेजको निर्णय विरुद्ध राधाले उच्च अदालत पाटनमा मुद्दा हालेकी थिइन् ।
निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले प्रत्यरोपण गर्न अवरोध नगर्नु भनी आदेश गरेको हो । उनीहरु दिदीभाइ भन्ने तथ्य वैज्ञानिक परीक्षणबाट समेत प्रमाणित भएको भन्दै उच्च अदालत पाटनले नागरिकको बाँच्न पाउने र स्वास्थ्यको अधिकारमा अवरोध नगर्न आदेश गरेको हो ।
‘निवेदीका(राधा महर्जन)लाई उनले पाउन सक्ने र पाउनुपर्ने स्वास्थ्य उपचार र त्यस उपचारबाट बाँच्न पाउने अधिकारमा कसैले पनि रोक लगाउन सकिंदैन’, आदेशमा भनिएको छ, ‘उनलाई पुग्न सक्ने अपुरणीय क्षतिको दृष्टिकोणबाट उचित समयमा विरामीले उपचार नपाएको अवस्थामा निजको बाँच्न पाउने र स्वास्थ्य सम्बन्धी हकबाट बञ्चित हुने देखिएकोले अविलम्ब बिरामीको मिर्गौला प्रत्यारोपण कार्य सुचारु गर्नु, मृगौला प्रत्यारोपण गर्ने काम उनको हकमा नरोक्नु ।’
अदालतको आदेशपछि राधाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।
परिवारका अनुसार, उनीहरु दिदीभाइ भए पनि त्रुटिका कारण उनीहरुको नागरिकताको प्रमाणपत्रमा दुई जनाको उमेर २३ दिनको मात्रै फरक थियो ।
उनीहरुले नागरिकताको प्रमाणपत्र सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि प्रशासनले सहयोग नगरेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4