+
+

लास जलाउने दाउरासमेत नपाएको भन्दै वन व्यवस्थापन समूह विरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते २०:४५

२० असार, वीरगञ्ज । वीरगञ्जमा सबैया साझेदारी वन व्यवस्थापन समूह विरुद्ध प्रदर्शन भएको छ । सार्वजनिक सरोकार संघर्ष समितिको आह्वानमा प्रदर्शन गरिएको हो ।

वीरगञ्ज महानगरपालिका २८, २९, ३०, ३१, पर्सागढी नगरपालिका–३, ४, ५ र ९ का बासिन्दा प्रदर्शनमा सहभागी थिए ।

वन व्यवस्थापन समूहको अधिवेशन यथाशिघ्र गर, हालसम्मको आय व्यय विवरण सार्वजनिक गर, भवन निर्माणमा भएको मन्त्री परिषदको निर्णय सार्वजनिक गर, उपभोक्ताको सदगदमा दिईने दाउरा जाति, धर्म, पार्टी, ठाउँ नहेरी निशुल्क र निष्पक्ष दिनुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका हुन् ।

वीरगञ्ज–२९ बसडिल्वाका रघुनाथ महरा चमारले मान्छे मर्दा समेत जलाउन दाउरा नपाउने समस्या भएपछि आन्दोलनमा सहभागी भएको बताए । ‘घरमा ग्याँस किन्न सक्ने क्षमता छैन, वनले दाउरा ल्याउन दिँदैन, आफू पनि दिँदैन’, उनले भने, ‘घरमा खाना पकाउने दाउरा त परको कुरा मान्छे मर्दा समेत जलाउन दाउरा पाइएन ।

पर्सागढी– ३ झवराहका जीवन श्रेष्ठले समूह बजेट दोहन गर्न, वन जंगल मास्न, वन्य जन्तुको चोरी निकासीमा केन्द्रित रहेको आरोप लगाए । ‘८ वर्ष भयो चुनाव भएको छैन, कर्मचारी बस्छन्, गोलाई चोरी गरेर निकासी गर्छन’, उनले भने, ‘वन मासेर वल्लो गाउँदेखि पल्लो गाउँ छ्याङग देखिन्छ ।’

पर्सागढी– ४ वकर्नवाकी नैनीदेवी, लतपतियादेवी, लालमतिदेवी लगायतले पनि घरद्वार बनाउन, छोरा छोरीको विवाह पर्दा र मान्छे मर्दा समेत काठ दाउरा नपाएको गुनासो गरे ।
संघर्ष समितिले सबैया साझेदारी वन व्यवस्थापन समूहको नाममा स्थानीय जनताको पहुँच र अधिकारलाई कुण्ठित गरिएको भन्दै उनीहरुले ज्ञापनपत्र मार्फत जिल्ला डिभिजन वन कार्यालय पर्सामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

संघर्ष समितिका अध्यक्ष अमृत बस्यालले डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासलाई ज्ञापनपत्र र उपभोक्ताबाट संकलन गरेर ल्याएको हस्ताक्षर बुझाएका थिए । समूहको विरुद्धमा ४ हजार ६ सय ५९ जना उपभोक्ताले हस्ताक्षर गरेको दावी संघर्ष समितिको छ ।

ज्ञापनपत्रमा १४ बुँदे माग प्रस्तुत गरिएको छ । साझेदारी वनको आम्दानीबाट अनिवार्य २५ प्रतिशत स्थानीय विकास तथा सवालहरुमा खर्च गर्ने व्यवस्था गर्नुपर्ने, वन समूहमा समुदायको न्यायोचित प्रतिनीधित्व सुनिश्चित हुनुपर्ने, वार्षिक कार्यक्रमको सार्वजनिक लेखापरीक्षण गर्नुपर्ने, खेलमैदानमा भएको हस्तक्षेप फिर्ता गरिनुपर्ने, सार्वजनिक भवन, किरियापुत्री भवन निर्माणमा लगाएको रोक हटाउनुपर्ने लगायत माग राखेका छन् ।

संघर्ष समितिका अध्यक्ष बस्यालले वन समूहमा नातावाद, कृपावाद, जातिवाद र पार्टीवाद हावी भएपछि आन्दोलनमा उत्रनु परेको बताए ।

डिभिजनल वन अधिकृत दासले स्थानीयको मागका बारेमा आफूहरु गम्भिर भएको बताए । ‘शव जलाउन पनि दाउरा नपाएको भन्ने गुनासो छ, त्यसो हुनु नपर्ने हो’, उनले भने, ‘कहाँ समस्या भएको हो बुझेर समाधानका लागि प्रयास गर्छौ ।’
वन कार्यालयसँग मात्रै नभएर कतिपय माग सबैया साझेदारीसँग र कतिपय मधेस प्रदेश सरकारको उद्योग, पर्यटन, तथा वन मन्त्रालयसँग सरोकार राख्ने खालको रहेकोले पत्राचार गरिएको उनले बताए ।

अनाहकमा वदनाम गर्न खोजिएको आरोप

सबैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साहले आफूले पद्धती बाहिर गएर काम नगरेको बताएका छन् । ७ वर्षदेखि समूहको अध्यक्षको जिम्मेवारी सम्हाल्नु आफ्नो रहर नभई बाध्यता भएको बताउँदै उनले माथिबाट अनुमति पाउने वित्तिकै चुनाव गराउने बताए ।

‘३२ वटा वडा कार्य क्षेत्र भएको समूह हो, अधिकांश वीरगञ्ज महानगरमै पर्छ’, उनले भने, ‘कहाँका मानिसलाई के समस्या पर्‍यो भनेर मसँग कुरा गरेका छैनन् । समूह विधि पद्दती अनुसार चलेको छ । आएर हेर्न सक्नुहुन्छ । बाहिर बाहिर राजनीतिकरण गरेर हुँदैन ।’

मरण परेको ठाउँमा साझेदारीले निशुल्क दाउरा वितरण गर्दै आएको र विवाहका लागि आवश्यक पर्दा रसिद काटेर काठ दिने गरेको दावी उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?