+
+

सरकारले फिर्ता लियो नागरिकता विधेयक, भोलि नै नयाँ ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते २२:०९

२१ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । भोलि नै अर्को विधेयक दर्ता गर्ने र फास्ट ट्राकमार्फत पास गर्ने सरकारी तयारी छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यो विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको बहुमत भएको त्यो समितिले बहुमतका आधारमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि नागरिकता दिने प्रावधान पास गरेको छ । त्यसबेला नेपाली कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने तत्कालै नागरिकता दिने हालको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने मत राखेका थिए ।

अहिले नेकपा विभाजित भएर तीन वटा दल बनेको छ भने कांग्रेसको नेतृत्वमा सरकार छ । र, सरकार नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने प्रावधानलाई निरन्तरता दिन तयार नभएपछि विधेयक नै फिर्ता गर्ने निर्णयमा पुगेको हो ।

सत्तारुढ पाँच दलमा सहमति भएका विषयहरुलाई मात्र समेटेर नागरिकता विधेयक ल्याउने सहमति जुटेको छ । स्रोतका अनुसार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानलाई बंशजको नागरिकता दिने प्रावधान मात्र ल्याउने गरी नयाँ विधेयक ल्याउन चाहन्छन् ।

जबकी संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने लगायतको व्यवस्था गरेको छ । सबै विषय अघि बढाउन खोज्दा फेरि नागरिकता विधेयक अड्किनसक्ने तर्फ प्रधानमन्त्री देउवा सर्तक देखिएका छन् ।

सत्तारुढ दलहरुले भने सहमति भएका अरु विषय पनि समेटेर जान सकिने बताएका छन् । कानुन मन्त्रालयसम्बद्ध स्रोत भन्छ, ‘संशोधन विधेयकमा केके राख्ने भनेर राजनीतिक रुपमा सहमति खोजी भइरहेको छ, जे सहमति जुट्छ, त्यसअनुसार सम्भवत भोलि नै विधेयक दर्ता हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?